नेपाली फुटबल टोली बंगलादेश प्रस्थान

nepal bidae bangaladesh footballकाठमाडौं । बंगलादेशमा हुने बंगबन्धु गोल्डकप फुटबलमा सहभागिता जनाउन नेपाली राष्ट्रिय फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोली बिहीबार नै बंगलादेश प्रस्थान गरेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव केशवकुमार बिष्टले प्रतियोगितामा सहभागी हुने खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बिदाइ गरे ।

भारतमा हुने दक्षिण एसियाली खेलकुद (साग)मा तयारीका समेत हुनेगरी टोलीमा अधिकाशं यू–२३ वर्षमुनिको खेलाडीको बाहुल्यता रहेको छ । नेपाली टोलीको कप्तानी विराज महर्जनले सम्हाल्नेछन् । टोलीको गोलकिपरहरूविकेश कुथु, एलेन न्यौपाने र अमृत चौधरी छन् । त्यस्तै डिफेन्डरमा रबिन श्रेष्ठ, अनन्त तामाङ, आदित्य चौधरी, विराज महर्जन, देवेन्द्र तामाङ, कमल श्रेष्ठ, मानबहादुर तामाङ, मिडफिल्डरमा अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन गुरुङ, जगजित श्रेष्ठ, जाङ्बु शेर्पा, प्रकाश बुढाथोकी, सुनिल बल , तेज तामाङ र फरवार्डमा नवयुग श्रेष्ठ, बिमल घर्ती मगर, रञ्जन विष्ट, सुमन लामा छन् ।

राष्ट्रिय टोली बलियो बनाउन भन्दै एन्फाले प्रतियोगिताका लागि अधिकांश युवा खेलाडी छनोट गरेको छ । एन्फासँगको विवादका कारण प्रमुख प्रशिक्षक प्याट्रिक ओसेम्स अनुपस्थित भएपछि नेपाली टोलीको प्रशिक्षकको जिम्मेवारी बालगोपाल महर्जन र उपेन्द्रमान सिंहलाइ दिइएको छ । कुल ८ टोली सहभागी प्रतियोगितामा नेपाल आयोजक बंगलादेश, मलेसिया र श्रीलंकासँगै समूह ‘ए’मा परेको छ । यस्तै, समूह ‘बी’मा बंगलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोली, बहराइन, कम्बोडिया र माल्दिभ्स रहेका छन् ।

शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल शनिबार मलेसियासँग खेल्ने छ । नेपाली टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस पटक पछिल्लो अनुभवका कारण पनि टोलीले राम्रो प्रदर्शन गर्ने बताए । महर्जनले भने हामीले साफबाट धेरै शिक्षा लिइसकेका छौँ त्यहीलाई प्रयोग गरेर भए पनि नतिजा राम्रो नै आउन सक्छ । टिमका कप्तान विराज महर्जनले टोलीमा कम अनुभवी खेलाडी भएकाले केही गाह्रो हुने बताए । उनले भने केही नयाँ अनुहारका खेलाडी छन्, आत्मबलको पनि कमी छ तथापि युवा जुझारु छन् त्यसैले पनि प्रदर्शनलाई सुधार्नेछौँ ।

प्रतिक्रिया