घर जग्गाको कारोबार बढ्यो

भरतपुर, २२ पुस । भूकम्प र नाकाबन्दीले अन्यत्र कारोबार कम भए पनि चितवनमा भने घरजग्गाको कारोबार बढेको छ । नाकाबन्दीको समयमा समेत चितवनमा घरजग्गाको कारोबार बढेको हो ।

भूकम्पबाट काठमाडौंसहित पहाडी जिल्ला प्रभावित हुनु र तराईमा मधेस आन्दोलनका कारण बसोबासका लागि कठिन बनेसँगै जग्गामा लगानी गर्ने अधिकांशको गन्तव्य चितवन बनेको तथ्यांकले देखाएको छ । मालपोत कार्यालयका अनुसार चालु आवको पाँच महिनामा जग्गा रजिस्ट्रेसनका लागि १७ हजार ४ सय ६६ लिखत पास भएका छन् । सो सख्या आव २०७१÷७२ भन्दा तीन हजार ४ सय २० बढी हो ।

चालु आवमा घरजग्गा रजिस्ट्रेसन लिखत १३ हजार २ सय ६९, कर्जा लिखत चार हजार २ सय ७ रहेको छ भने गत आवमा घरजग्गा रजिस्ट्रेसन लिखत आठ हजार ८ सय १० र कर्जा लिखत पाँच हजार २ सय ३६ रहेको कार्यालका सूचना अधिकारी हरिकृष्ण सुवेदीले जानकारी दिए । चालु आवको पाँच महिनामा मात्रै राजस्व संकलनमा १ सय ८८ दशमलव ८४ प्रतिशतले वृद्धि भएको छ ।

‘सरकारले पाँच महिनाका लागि दिएको लक्ष्य १४ करोड ५६ लाख २२ हजार रुपियाँ थियो तर ३३ करोड २२ लाख पाँच हजार ४ सय २३ रुपियाँ संकलन भएको उनले बताए । घर जग्गा रजिस्ट्रेसनतर्फ २७ करोड ४९ लाख ९८ हजार रुपियाँ, पूँजीगत लाभ करमार्फत तीन करोड १६ लाख २५ हजार रुपियाँ, सेवा दस्तुरबापत दुई करोड २९ लाख ५४ हजार रुपियाँ र अन्य सेवाबापत गरी उक्त राजस्व संकलन भएको हो ।

आव २०७१÷७२ को मंसिरसम्ममा १५ करोड ४७ लाख रुपियाँ मात्र राजस्व संकलन भएको थियो । प्रवक्ता सुवेदीले वर्षेनी केही मात्रामा जग्गा खरिद विक्री बढ्दो क्रममा रहेको बताए । सुरक्षित बसोबासस्थलका रूपमा परिचित भएसँगै जिल्लामा कारोबार बढेको व्यवसायीको भनाइ छ ।

नारायणी जग्गा विकास कम्पनीका संस्थापक अध्यक्ष दिनेशकुमारले चुके पहाड तराई सबै क्षेत्रका बासिन्दाका लागि चितवन उपयुक्त ठहरिएकाले घरजग्गाको कारोबार बढेको बताए । ‘छोटो समयमा राम्रो प्रतिफल आउने भएकाले यसतर्फ आकर्षण बढेको हो’ उनले भने । शिक्षा, स्वास्थ्य, पर्यटन, धार्मिक क्षेत्र, सुगमतालगायतका कारण जिल्लाप्रतिको आकर्षण बढ्दा घरजग्गाको कारोवारमा वृद्धि भएको उद्योग वाणिज्य संघका जिल्ला अध्यक्ष कल्याण जोशीको भनाइ छ ।

प्रतिक्रिया