ठगी गर्ने युवती पक्राउ

काठमाडौं, २० पुस । छद्म नाम प्रयोगगरी ठगी गर्ने गुल्मी, हस्तिचौर–९ की २३ वर्षीया भगवती केसीलाई प्रहरीले पक्राउ गरेको छ । केसीले काठमाडौं, पोखरालगायतका विभिन्न स्थानमा चिकित्सक तथा प्रहरी नायव महानिरीक्षक (डिआइजी)को छोरी हुँ भन्दै ठगी गर्दै आएको प्रहरीले खुलाएको छ ।

केसीलाई पटक पटक चिकित्सक सुहाना, अदिती, सृष्टीलगायतका नक्कली नामको प्रयोग गरी विभिन्न कलाकर्मी, युवा तथा होटल व्यवसायीलाई ठगी गर्दै आएको आरोपमा महानगरिय प्रहरी परिसरले आइतबार सिनामंगलबाट पक्राउ गरेको हो । उनले ठगी गर्नका लागि चिकित्सक सुहाना केसीको नाममा नक्कली आइडी, फेक भाइबर नम्बर प्रयोग गर्नुका साथै विभिन्न व्यक्तिका कागजपत्र र फोटो राखी नेपाल टेलिकम र एनसेलका सिमको प्रयोग गर्ने गरेको, विभिन्न होटलमा गई म डिआइजी सनत केसीको छोरी हुँ भनी परिचय दिई होटलको बिल नतिरी ठगी खाने गरेको र विभिन्न व्यक्तिलाई म डिआइजी हुँ मेरो छोरीको रेखदेख गरिदिनु भनी फोन गर्न लगाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

अभियुक्त केसीले एक वर्षअघि पोखराका विभिन्न अस्पतालमा चिकित्सक बनेर बिरामीको जाँच गरेको बहाना बनाउनुका साथै चिकित्सकसँग समेत विवाह गर्ने भन्दै सँगै बसी ठगी गर्दै आएको र सोबारे पोखराको स्थानीय पत्रिकाले समाचार प्रकाशन गरेपछि उनी काठमाडौं छिरेको प्रहरीले बताएको छ । काठमाडौं आएपछि पनि उनले विभिन्न चिकित्सक, युवक तथा होटलमा ठग्दै आएको बुझिइएको छ ।

प्रतिक्रिया