प्रयोगमा आएन हरित सडक

खोटाङ, १८ पुस । निर्माण कार्य सकिएको ३ वर्ष भइसक्दा समेत खोटाङको सदरमुकाम दिक्तेलबाट खोटाङबजार जोड्ने हरित सडक उपयोगविहीन बनेको छ । बेलायती सरकारको सहयोगमा ग्रामीण पहँुच कार्यक्रम (¥याप)ले ११ वर्ष लगाएर निर्माण कार्य सकेको उक्त ७४ किलोमिटर लामो हरित सडक हाल ग्रामीण भेगका युवा विद्यार्थीको खेलमैदानको रूपमा रहेको छ ।

०६९ असारमा निर्माण सम्पन्न गरेको सो सडक निर्माणमा ¥यापले करिब ३६ करोड ३२ लाख रुपैयाँ खर्च गरेको थियो । वातावरणमैत्री प्रविधि अपनाएर निर्माण गरेको उक्त सडक सञ्चालनमा ल्याउन उत्तिकै खर्च लाग्ने अवस्थामा पुगेको सर्वसाधारणको भनाइ छ । सदरमुकाम र दक्षिणी क्षेत्रलाई जोड्ने भनिएको एक मात्र सडक हाल मर्मत अभावमा बेकम्मा बनेको स्थानीयवासीको गुनासो छ । दिक्तेलको अल्छेढुंगाबाट दक्षिणी क्षेत्रको खोटाङबजार जोड्ने सडक सञ्चालनमा आएमा क्षेत्र नं–२ अन्तर्गत पर्ने ३ दर्जनभन्दा बढी गाविसका स्थानीयवासी लाभान्वित हुनेछन् ।

हरित सडक नाम दिइएको दिक्तेल–खोटाङबजार सडक दक्षिणी गाविस बडकादियालेस्थित थामखर्क विमानस्थललाई छुवाएर निर्माण गरिएको छ । गत असार–१९ गते तावा खोलामा आएको बाढीले सडकको झन्डै १ सय १० मिटर सडकखण्ड बगाएपछि सञ्चालनमा थप समस्या देखिएको छ ।

खोटाङबजारदेखि छितापोखरीको पञ्चमी, ओख्रेडाँडागाउँ खण्डमा ट्र्याक्टर चल्ने गरेको छ । सो सडकबाट अहिले मोटरसाइकल मात्र कठिनका साथ दिक्तेल–खोटाङबजारसम्म सञ्चालन हुँदै आएको छ ।

¥यापले निर्माणका काम सकेर गएपछि पुनः मर्मतको संयुक्त जिम्मा लिएको जिविस र स्विस विकास सहयोग (एसडिसी)को ढिलाइका कारण सडक उपयोगविहीन बनेको खोटाङ क्षेत्र नं २ बाट निर्वाचित सांसद विशाल भट्टराईले बताए । भट्टराइले सडक पुनः मर्मत गरेर चाँडो सञ्चालनमा ल्याउनुपर्ने अवस्था आएको बताएका छन् । उनले भने, ‘यसका लागि जिविस र एसडिसीसँग समन्वय गरिरहेको छु ।’

सडक मर्मतका लागि स्थानीय उपभोक्ता समिति गठनमा विवाद आएकाले तत्काल मर्मतका काम सुरु गर्नमा ढिलाइ भएको जिल्ला प्राविधिक कार्यालय, खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठको भनाइरहेको छ । श्रेष्ठका अनुसार प्राविधिक कार्यालय तथा स्थानीय सडक सुधार कार्यक्रम (एलआरआइपी)को संयुक्त लगानीमा काम गर्ने तयारीमा छ ।

प्रतिक्रिया