सहकारी ऐन ल्याउँदा अध्ययनको खाँचो छ: उपप्रम केसी

काठमाडौं, १७ पुस । उपप्रधानमन्त्री तथा सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले मुलुकको अर्थव्यवस्थाको प्रमुख तीन खम्बाको रूपमा रहेको सहकारीसम्बन्धी ऐन ल्याउँदा धेरै अध्ययनको खाँचो रहेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाज (सिजेएन) को पाँचाँै वार्षिक साधारणसभाको उद्घाटन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

मन्त्री केसीले अर्थव्यवस्थाका तीन खम्बामध्ये एक महत्वपूर्ण खम्बाका रूपमा रहेको सहकारीसम्बन्धी ऐन मस्यौदाका रूपमा तयार भइसकेको जानकारी दिँदै यसमा भएका कमीकमजोरीलाई अध्ययन गर्नुपर्नेमा जोड दिएका छन् । सहकारी ऐन जारी गर्दा सहकारीसम्बन्धी मूल्य मान्यता र सिद्धान्तलाई छाड्न मिल्दैन भन्दै मन्त्री केसीले राष्ट्रिय, अन्तर्राष्ट्रिय सिद्धान्तलाई आत्मसात् नगर्ने हो भने त्यो ऐन प्रभावकारी हुन नसक्ने बताएका छन् । उनले भने ‘एकै व्यक्ति धेरै सहकारीमा सदस्य बन्ने जस्ता समस्या धेरै छन् ।’ उनले सहकारीमा भएका सदस्यले आफ्नो पुँजी कहाँ र कसरी प्रयोग भइरहेको छ भन्नेबारे जानकारी राख्नु जरुरी हुने पनि बताएका छन् ।

कार्यक्रममा सहकारी मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले संख्यात्मक रूपमा सहकारी बढ्दै गइरहेकाले यसको व्यवस्थापनमा काम अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सहकारी संघका अध्यक्ष तथा सांसद केशव बडालले सहकारी ऐन ल्याउँदा सहकारी अभियानलाई बाधा पर्ने गरी ल्याउन नहुुनेमा जोड दिए ।

बचत तथा ऋण सहकारी संस्था लिमिटेड (नेफ्स्कुन) का अध्यक्ष ऋषिराम घिमिरे, सिजेएनका अध्यक्ष डिल्ली सापकोटालगायतले सहकारीको काम, कारबाही र चुनौतीबारे जानकारी दिए । कार्यक्रममा सिजेएनका संस्थापक अध्यक्ष यादव हुमागार्इंलाई सम्मानसमेत गरिएको थियो ।

प्रतिक्रिया