ग्यास र पेट्रोलको आयात बढाउने तयारी

काठमाडौं, १६ पुस । ग्यास र पेट्रोलको आयात बढाउन नेपाल आयल निगमले गृहकार्य थालेको छ । वीरगञ्ज बाहेकका नाकाबाट तेल आपूर्ति सहज भएपछि आयल निगमले ग्यास पेट्रोल र ग्यासको आयात बढाउने तयारी गरेको हो । डिजेलको आयात अन्य पेट्रोलियमको तुलनामा राम्रो छ ।

पछिल्ला दिनमा दैनिक औसत १ सय ट्यांकरभन्दा बढी डिजेल नेपाल आइरहेको छ । तर, भारतीय आयल कर्पोरशन (आइओसी) ले पेट्रोल र ग्यास कम मात्रामा दिइरहेको छ ।

आइओसीले ग्यास र पेट्रोलको आयात बढाउन सकिने जनाएपछि आयल निगमले त्यसका लागि गृहकार्य थालेको नेपाल आयल निगमका वितरण विभाग प्रमुख तथा प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए ।

ग्यासको आयात बढाउने विषयमा छलफल गर्न आइओसीको बरौनीस्थित डिपोमा आयल निगमका एक अधिकारी पुगेका छन् ।

ती अधिकारीले नेपाललाई दिने ग्यासको मात्रा बढाउन पहल गरिरहेका छन् । आइओसीका अधिकारी पनि त्यसमा सकारात्मक देखिएको प्रवक्ता घिमिरेले बताए ।

यस्तै रक्सौलमा रोकिएका २ सय ४ वटा ग्यासका बुलेट रिरुटिङ गरी भित्र्याउन पनि प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि लामो प्रक्रिया अपनाउनुपर्ने भएकाले समस्या भएको प्रवक्ता घिमिरेले जानकारी दिए ।

रक्सौलमा रोकिएका ग्यास बुलेटले भारतीय भन्सारबाट पास लिइसकेकाले अन्य नाकाबाट रिरुटिङ गर्न समस्या परेको छ । निगमले केही दिनभित्रै आइओसीको बरौनी र बेतालपुर डिपोबाट पेट्रोलको आयात पनि बढाउने निगमको तयारी छ । त्यसका लागि तयारी भइरहेको निगमले जनाएको छ ।

प्रतिक्रिया