लघु चलचित्र प्रदर्शनीसँगै चासोक समापन

chasok festival (1) copyपाँचथर, १६ पुस । किरात याक्थुङ चुम्लुङ पाँचथरको आयोजनामा ९ पुसदेखि सुरु भएको चासोक महोत्सव समापन भएको छ । एक सातासम्म चलेको महोत्सवको आदिवासी जनजाति लघु चलचित्र प्रदर्शनीसँगै बुधबार समापन गरिएको हो ।

महोत्सव समापनको अवसरमा किसोर सुब्बा निर्देशित लिम्बू फिचर फिल्म हेरु लुक्वा (बाडुली) सँगै विभिन्न आदिवासी जनजाति लघु चलचित्रहरूको प्रदर्शनी भएको थियो । जिविस पाँचथरको सभाहलमा भएको सो फिल्म प्रदर्शनीमा सागर केरुङ निर्देशित लिम्बू संस्कृतिमा आधारित ‘तुम्याहाङ’, ‘पुङ्साम’, गुरुङ संस्कृतिमा आधारित ‘तोने’ त्यस्तै सञ्जोग लाफा मगर निर्देशित मगर संस्कृतिमा आधारित ‘मिथेवा’ र फुलमान वल निर्देशित तामाङ संस्कृतिमा आधारित लघु चलचित्र ‘सेल्फोन’ प्रदर्शन भएको थियो ।

किरातीको प्रमुख चाँड उधौलीको अवसरमा हरेक वर्ष चुम्लुङले सांस्कृतिक मेला र महोत्सव गर्दै आएको छ । यस वर्ष महोत्सवको अवसरमा नयाँ पाकेको अन्नको पूजा, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, केःलाङ र साकेला नाच प्रदर्शनी, पक्लुङ (छेलो) हान्ने, तीर हान्ने प्रतियोगिता, लिम्बू भाषाको कविता तथा पालाम् प्रतियोगिता र छलफललगायतका कार्यक्रम गरी महोत्सव मनाइएको छ । यसलाई आगामी वर्षमा पनि निरन्तरता दिइने किरात याक्थुङ चुम्लुङ पाँचथरका अध्यक्ष बुद्धराज लिम्बूले बताए ।

महोत्सव समापनको अवसरमा चुम्लुङले चलचित्र प्रदर्शनीको संयोजन र समन्वय गर्ने याक्थुङ मुन चइत चोक सयङ पाँचथरका अध्यक्ष सागर केरुङसँगै चलचित्रका निर्देशक, निर्माता र कलाकारहरूलाई सम्मान गरेको छ । चुम्लुङले चलचित्र हेरु लुक्वाका निर्देशक किसोर सुब्बा, निर्माता पदम चोङबाङ, कलाकार इन्द्र तुम्बापो, तुम्याहाङका निर्माता हर्क प्रसाद केरुङ, पुङसामका प्रस्तुतकर्ता नरेन्द्रराज केरुङ र कालाकार शुरेन शिशिर केरुङ लगायतलाई सम्मान गरेको हो । सम्मानित हुने व्यक्तित्वहरूलाई समापन समारोहका प्रमुख अतिथि कि.या.चु.केन्द्रीय उपाध्यक्ष मलिशा याक्थुङबाले खादा ओढाएर सम्मान गरेका थिए ।

chasok festival copyयसैबीच बुधबार नै सशस्त्र द्वन्द्वको समयमा राज्य पक्षद्वारा हत्या गरिएका पाँचथर रानीटार–३ भीरगाउँ निवासी स्वर्गीय स्रष्टा पद्मेश थुलुङको जीवनीमा आधारित वृत्तचित्र भीरगाउँको पनि प्रदर्शन भएको छ ।

इन्द्रेणी कला मञ्च विर्तामोड–झापाको ब्यानरमा राज चाम्लिङ राईद्वारा संकलित तथा निर्देशित भीरगाउँको सदरमुकामस्थित चोमोलुङमा सेकुवा कर्नरमा प्रदर्शन भएको थियो । सो अवसरमा मञ्चले कवि तथा समालोचक सगुन सुसारालाई सम्मानसमेत गरेको छ । त्यसैगरी बौद्ध धर्मावलम्बीहरूको पर्व तमु ल्होसार पनि बुधबार नै परेकोले जिल्लाको फिदिम र रानीटारलगायतका स्थानमा राष्ट्रिय कलाकारहरूको उपस्थितिमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिक्रिया