एसएसबीले ग्यास नियन्त्रणमा लियो

महोत्तरी, १६ पुस । महोत्तरीको पूर्वी सीमा नाका मटिहानीमा सीमापारिबाट ल्याउँदै गरेका आधा दर्जन ग्यास भरिएका सिलिन्डर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नियन्त्रणमा लिएको छ । जिल्लाको दोस्रो मुख्य भन्सार नाका मटिहानी हुँदै भारतबाट नेपाल ल्याइँदै गरिएका ती सिलिन्डर एसएसबीले नियन्त्रणमा लिएको उपभोक्ताले बताएका छन् ।

बुधबारसम्म बिनारोकटोक ल्याउन दिइएको ग्यास सिलिन्डर एक्कासी एसएसबीले नियन्त्रणमा लिएपछि नेपालबाट ग्यास लिन भारत गएका दर्जनौँ व्यक्ति खाली सिलिन्डर लिएर फर्केका छन् । नेपाली सिलिन्डरमा भारतीय ग्यास पल्टी गरेर चर्को मूल्यमै भएर पनि नेपाली ग्राहकले पाउने गरेकामा बिहीबार बिहानदेखि एसएसबीले भारतबाट ग्यास लैजान नमिल्ने भन्दै ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेका छन् ।

महोत्तरीको सीमापारिका भारतीय सहर मधवापुर, सुरसण्ड, भिट्ठामोडमा हिजोसम्म नेपाली ग्राहकले नेपाली सिलिन्डर लगी भारतीय ग्यास भरेर ल्याउने गरेका थिए । भारतमा नेपालीसँग एउटा सिलिन्डर रिफिल गरेवापत २ हजार ८ सय रुपैयाँदेखि ३ हजार नेपाली रुपैयाँसम्म लिने गरेका थिए । सीमानाकामा एसएसबीले ग्यास भरिएका सिलिन्डर नियन्त्रणमा लिन थालेपछि नेपालबाट ग्यास ल्याउन भारतीय बजारमा पुगेका ग्राहक बिचल्लीमा परेका छन् । एसएसबीले सो सीमा भएर अन्य दैनिक उपभोगका सरसामान पनि ल्याउनमा कडाइ गरेका छन् । नेपाली उपभोक्ताले झोला र पोकामा पनि ल्याउने गरेका सरसामान एसएसबीले चेकजाँच गरेर मात्रै ल्याउन दिएको सर्वसाधारणको गुनासो गरेका छन् ।

प्रतिक्रिया