पदक विजेता टेनिस टोली फर्कियो

asian tenish maedalist at nepalकाठमाडौँ । एसियाली जुनियर टेनिस टिम कपमा कांस्य जितेको २ खेलाडीसहित ३ सदस्यीय नेपाली टोली बुधबार स्वदेश फर्किएको छ ।

कतारको दोहामा डिसेम्बर २३ देखि २९ तारिखसम्म भएको प्रतियोगितामा संरक्षणभूषण वज्राचार्य र प्रणव खनालले प्रतिस्पर्धा गरेका थिए । उनीहरूले दुई सिंगल्स र एक डबल्समा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आयोजक कतारको दुईसहित सात राष्ट्रका ८ टिम सहभागी थिए ।

समूह ‘बी’ को लिग खेलमा नेपालले जोर्डनलाई २–१ तथा कतार ‘बी’ लाई ३–० ले हराउदै समूह उपविजेता बन्दै सेमिफाइनलमा पुगेको थियो । समूह ‘बी’ कै लिग खेलमा नेपाल भारतसंग ३–० ले पछि परेको थियो ।

सेमिफाइनलमा नेपाल हङकङसंग ३–० ले चुकेको थियो । त्यसपछि तेश्रो स्थानका लागि भएको खेलमा नेपालले कतार ‘ए’ लाई २–१ ले पाखा लगाउदै कांस्य पक्का गरेको टिम प्रशिक्षक सूर्यभूषण वज्राचार्यले जनाएका छन् । हङकङ पहिलो र भारत दोश्रो भए ।

टोलीलाई अखिल नेपाल लनटेनिस संघका पदाधिकारी, खेलाडीका अभिभावक, प्रशिक्षकलगायतले त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

दोहामै भएको गत संस्करणमा पनि नेपालले कांस्य जितेको थियो । त्यसबेला संरक्षक र प्रणवसहित सम्यकभूषण वज्राचार्य र रेन्जन लामा पनि टोलीका सदस्य थिए । प्रशिक्षकमा सूर्यभूषण नै थिए । (सौस)

 

प्रतिक्रिया