कांग्रेस कार्यालयमा अनशनै अनशन

काठमाडौं, १३ पुस । कांग्रेस केन्द्रीय सदस्य बलबहादुर केसीलगायत नेताले कांग्रेस केन्द्रीय कार्यालयमा अनसन सुरु गरेका छन् । साोलुखुम्बुमा पार्टीको क्रियाशील सदस्यता एकलौटी वितरण गरेको भन्दै उनीहरूले रिले अनसन सुरु गरेका हुन् ।

सोलुखुम्बुका पार्टी सभापति आङ्गेलु शेर्पाले पार्टीको विधान, नियमावली र केन्द्रीय कार्य समितिले निर्णय गरेर पठाएको परिपत्रलाई उलंघन गरी एकपक्षीय ढंगले सदस्यता वितरण गरेको भन्दै अनसन बसेका नेताहरूले जनाएका छन् ।

केन्द्रीय सदस्य केसीले जिल्लाका केन्द्रीय सदस्य, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य, गाविसका सभापतिलाई नसोधी कोठामा बसेर क्रियाशील सदस्य वितरण गरेको आरोप लगाएका छन् । पार्टीको विधान विपरित आफ्ना भाइभतिजा, नातागोता र अरू पार्टीका व्यक्तिलाई क्रियाशील बाँडिएको भन्दै केसीले असन्तुष्टी पोखेका छन् । उनले पार्टीको केन्द्रीय सदस्यलाई समेत क्रियाशील सदस्यता नदिएको भन्दै मंगलबारबाट आमरण अनसन बस्ने बताएका छन् । अनसनमा सोलुखुम्बुका महासमिति सदस्य रामबहादुर बस्नेत, खिला बस्नेत, हुत्तराज बस्नेत, पार्टी जिल्लासचिव भोजराज कार्की, नेपाल महिला संघ पूर्व अध्यक्ष पेमा तामाङ, नेपाल विद्यार्थी संघ केन्द्रीय सदस्य सन्तोष कट्टेललगायत चार दर्जन नेता कार्यकर्ता अनसनमा रहेका छन् । सोलुखुम्बुमा १२ औँ महाधिवेशनमा एक हजार ७९१ क्रियाशील सदस्य रहेकामा अहिले शतप्रतिशत थप गरिएको थियो ।

यसैगरी नेपाली कांग्रेस डोल्पाका सभापति टङ्कप्रसाद उपाध्याय विगत चारदिनदेखि आमरण अनसन बसेका छन् । उनले विधि विधानअनुसार ६२१ जना नयाँ क्रियाशीलसहित केन्द्रमा पठाए पनि केन्द्रले जम्मा १८ जनालाई मात्र सदर गरेर बाँकी ६०३ जनालाई बदर गरेको भन्दै पार्टीको जमानत जफत हुने जिल्लामै केन्द्रले सदस्यता नदिएको गुनासो गरेका छन् । उनले केन्द्रको यस्तो निर्णले निरास बनाएको बताएका छन् ।उनले कआफ्ले सके कांग्रेस बनाउने नभए जीवन त्यागने भन्दै आरण अनशन रोजेको बताए ।

प्रतिक्रिया