कालोबजारी गर्नेविरुद्ध मुद्दा

काठमाडौं, १३ पुस । भारतको अघोषित नाकाबन्दीको कारण बनाएर खाने तेलको कालो बजारी गरेको आरोपमा प्रहरीले १० जनाविरुद्व मुद्दा दायर गरेको छ । उद्योगबाटै कालोबजारी गरेर तोकिएको मूल्यभन्दा तेब्बर मूल्यमा बिक्री गरेको अभियोगमा केएल दुगड उद्योगका १० जना उच्च अधिकारीहरूविरुद्ध ठगी तथा कालो बजारीमा प्रहरीले मुद्दा दायर गरेको हो ।

पेप्सीकोलास्थित उद्योगको गोदाममै छापा मारेर प्रहरीले २ जनालाई पक्राउ गरेको थियो भने अन्य फरार रहेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरी प्रमुख विक्रम सिंह थापाले करिब दुई साता लामो अनुसन्धान र प्रमाणहरू संकलनपछि करिब १४ करोडको बिगो दावीसहित १० जनाविरुद्ध मुद्दा अघि बढाइएको बताएका छन् ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिलको तर्पmबाट सोमबारै काठमाडौं जिल्ला अदालतमा ठगी तथा कालो बजारी मुद्दा दर्ता भएको छ । मंगलवारदेखि थुनछेकको बहस हुनेछ ।

प्रहरी प्रमुख थापाका अनुसार १४ करोडको बिगो दावी र ठगीमा ५ वर्ष तथा कालो बजारीमा ५ वर्ष जेल सजाय माग गरिएको छ । खाने तेलमा करिब ५० करोडको कालोबजारी भएको अनुमान प्रहरीले गरेको छ ।

मुद्दा लगाइएका मध्ये कारखाना म्यानेजर अमर जैन र सेल्स अफिसर प्रमोद अधिकारी प्रहरी हिरासतमा छन् । अन्य फरार रहेको एसएसपी थापाले बताए ।

अदालतमा केएल दुगड, विकास दुगड, नरेश दुगड, कुमुद दुगड, चन्द्रप्रसाद कुसाहा, रामाकान्त तारिक, प्रदीपकुमार चेचाना, धर्मानन्द दुगड र गौतम दुगडविरुद्ध मुद्दा पेस भएको छ ।

नाकाबन्दीको मौका छोपेर जनताको चुल्होमै हमला गरी कालोबजार सञ्चालन गर्ने अन्य ठूला व्यापारीविरुद्ध पनि प्रमाण संकलन भइरहेको र उनीहरूलाई पनि कानुनी कारबाहीको दायरामा ल्याउने थापाले बताए ।

प्रतिक्रिया