राष्ट्रपतिको पहिलो महिनाको तलब पशुपतिनाथलाई

rastpatiकाठमाडौं, १३ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले निर्वाचित भएपछिको पहिलो महिनाको आफ्नो तलब पशुपतिनाथलाई दिने घोषणा गरेकी छन् । सोमबार बिहान राष्ट्र कल्याण र विश्व कल्याणको कामना गर्दै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्न पुगेकी राष्ट्रपतिले भण्डारीले पहिलो महिनाको तलब एक लाख २१ हजार ३६० रुपैयाँ पशुपतिनाथमा अर्पण गरेकी हुन् ।

कोषका प्रमुख लेखा अधिकृत प्रेमहरि ढुंगनाले राष्ट्रपतिले सो रकम दान गरेको जानकारी दिएका छन् । मुलुकमा भइरहेको संकटबाट मुक्ति मिलोस् भन्ने कामना गर्दै राष्ट्रपति भण्डारीले राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गरेकी हुन् । पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव गोविन्द टन्डनका अनुसार राष्ट्रपति भण्डारीले पञ्चामृत र अभिषेकसहित राष्ट्र कल्याण र विश्व कल्याणको कामनाका लागि संकल्प गरी विशेष पूजा गरेकी हुन् । बिहान १०ः२० बजे पशुपतिनाथ मन्दिर पुगेकी राष्ट्रपतिले मन्दिर परिक्रमा विधिअनुसार प्रवेश गरी वासुकीनाथ र मूल मन्दिरमा पनि विशेष पूजा भक्ति निष्ठापूर्वक गरेको टन्डनले बताए ।

राष्ट्रपति भण्डारीले शेषनारायण, लालगणेश, सूर्यनारायण, गङ्गामाई, सन्तापहरेश्वर, कीर्तिमुख भैरव, सितलामाई, चतुःषष्टि महादेव, उन्मुक्त भैरव र नवग्रहको दर्शन गरेर मूल भट्ट र अन्य भट्टद्वारा विशेष पूजा अर्चना गरेको कोषका निर्देशक भरत मरासिनीले जानकारी दिए ।

उनले पशुपतिनाथको मूल मन्दिरको दर्शन गरी नन्दी, हनुमान, सत्यनारायणको पनि दर्शन गरेकी थिइन्। राष्ट्रपति पशुपतिनाथ मन्दिर परिसरमा आइपुग्दा पशुपति क्षेत्रका स्थानीयवासीले धिमे बाजाले स्वागत गरेका थिए। पश्चिमढोकाबाट मूल मन्दिरमा प्रवेश गर्ने बित्तिकै नेपाल वेद विद्याश्रमका वटुकले स्वस्तिवाचनबाट उनको स्वागत गरेका थिए ।

पशुपति परिक्रमा र विशेष पूजा गरी राष्ट्रपति भण्डारीले करिब एक घण्टा पशुपति मन्दिर परिसरमा बिताएकी थिइन् । राजतन्त्र कालमा राजाले पनि पर्व पर्वमा पशुपतिनाथमा दर्शन एवम् पूजा गर्ने परम्परा थियो । अन्तरिम कालका प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई र दोस्रो संविधानसभाको निर्वाचन गराउने मन्त्रिपरिषद् अध्यक्ष बनेका खिलराज रेग्मी पनि विशेष पूजाका लागि पशुपतिनाथ मन्दिरमा गएका थिए ।

राष्ट्रपति भण्डारीले यसअघि कोषको सञ्चालक सदस्य भएरसमेत काम गरेकी थिइन् । विसं २०५१ को उपनिर्वाचनमा काठमाडौँ क्षेत्र नं २ बाट निर्वाचित भई उनले पदेन पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्को सदस्य भई काम गरेकी थिइन् । पशुपति रहेको निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद कोषको पदेन सञ्चालक परिषद् सदस्य हुने व्यवस्था कोषको ऐनमा गरिएको छ ।

प्रतिक्रिया