थलिएको पर्यटन उकास्ने मन्त्रीको योजना

ananda copyकाठमाडौं, १२ पुस । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले पर्यटन क्षेत्र उकास्नका लागि गम्भीर योजनाहरू बनाएको बताए । अन्तर्राष्ट्रिय जगतमा नेपालको गलत प्रचारप्रसार भएका कारण पर्यटन क्षेत्र थला परेको भन्दै उनले यस्तो नकारात्मक सन्देश हटाउन अब मन्त्रालयले पहल गर्ने बताए । भूकम्प र नाकाबन्दीपछि नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित बनेको छ ।नेपालको अर्थतन्त्रका लागि ठूलो हिस्सा बनेको पर्यटन क्षेत्र तहसनहस हुँदा अबको वर्षौसम्म पनि अर्थतन्त्रमा त्यसको प्रभाव कायमै रहन सक्ने विज्ञहरू बताउँछन् । पर्यटन क्षेत्र उकास्नका लागि नेतृत्व समक्ष ठूलो चुनौति खडा भएको सम्बद्ध विज्ञहरूको भनाइ छ ।

लुम्बिनी क्षेत्रको विकासका लागि लुम्बिनीको एकीकृत विकास योजना बनाउन लागेको मन्त्री पोखरेलको भनाइ छ । यसअघि आंशिक रूपमा मात्रै लुम्बिनीको विकास योजना बनाएकोले लुम्बिनी क्षेत्रको विकास हुन नसकेको पोखरेल बताउँछन् । उनले भने ‘अब एकीकृत विकास योजनाबाट अघि बढ्ने छौँ ।’ विभिन्न धार्मिक ग्रुपका मानिसहरूलाई नेपालमा भित्र्याउनका लागि वौद्धिस्ट मुस्लिम र क्रिस्चियनका प्रतिनिधिसँग छलफल गर्ने उनले बताए । नेपालमा पर्यटन क्षेत्रमा देखिएका समस्याको बारेमा छलफल गरी पर्यटक भित्र्याउन के कस्ता पहल गर्न सकिन्छ भन्ने सुझावसमेत माग्न लागेको उनले बताए ।

नेपालको पर्यटन क्षेत्र विकासका लागि जिटुजी अर्थात नेपाल र विदेशका ५० भन्दा बढी पत्रकारलाई एकै ठाउँमा भेला गराएर नेपालको पर्यटन क्षेत्र सुरक्षित छ भनेर जानकारी दिने उनको योजना रहेको छ । साथै उनले ‘टुरिजम प्रोमोसनल’ कार्यक्रम समेत सञ्चालनमा ल्याउन लागेको बताए । पर्यटन क्षेत्रसँग सम्बन्धित भारत र नेपालका विज्ञ तथा सरोकारवालाहरूलाई बोलाएर सम्मेलन गराउने समेत आफ्नो योजना रहेको उनले बताए ।

उनले भने ‘भूकम्प र नाकाबन्दीको समयमा अन्तर्राष्ट्रिय जगतमा गलत सन्देश पैmलाइयो र असुरक्षित बनाइयो, त्यसैले अबको प्रयत्न भनेको यसलाई हटाएर पर्यटक भित्र्याउने हो ।’ नेपालको पर्यटन क्षेत्रको विकासका लागि विदेशीको ऋण र अनुदानभन्दा विदेशबाट नेपाल भित्रने पर्यटक फलदायी हुने उनको भनाइ छ । उनले भने ‘हामीले यसअघि भूकम्पले क्षति पु¥याएको भनेर अनुदान र ऋण माग्यौँ तर अब हामीले अन्तर्राष्ट्रिय मुलुकका मानिसलाई नेपाल भ्रमण गर्न पठाइदिनु भनेर भन्नुपर्दछ ।’

नकारात्मक प्रचार गरेका कारण सगरमाथा चढ्नेको संख्या पनि घटेको उनको भनाइ छ । त्यस्तै नाकाबन्दीको समयमा नेपालको ट्रेकिङ रुट सुरक्षित रहँदारहँदै पनि असुरक्षित भएको भनेर प्रचार गरेको उनले बताए । साथै होटल र अन्य पर्यटन क्षेत्रलाई नाकाबन्दीको मारबाट हटाउन तेल तथा ग्यास उपलब्ध गराउन आफूले प्रयास गरिरहेको पनि उनले बताए । आफ्नो प्रयासबाट केही होटलले ग्यास र तेल समेत पाइरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया