निजी क्षेत्रलाई फोहोर जिम्मा लाउने तयारी

ktm dumpकाठमाडौं, ५ पुस । फोहोर व्यवस्थापनमा वाषिर्क ठूलो धनराशी खर्च गर्नुपरेको भन्दै काठमाडौं महानगरपालिकाले व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिन लागेको छ । महानगरले निजी क्षेत्रलाई फोहोर व्यवस्थापनमा संलग्न गराउन सम्भाव्यता अध्ययन गर्न थालेको हो ।

उसले फोहोर संकलनदेखि व्यवस्थापनसम्म सबै जिम्मा निजी क्षेत्रलाई दिन महानगरपालिकाका सम्भाव्यता अध्ययन गर्न लागेको महानगरका आन्तरिक लेखा परीक्षक तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) विभाग प्रमुख शिबराज अधिकारीले जानकारी दिएका छन् ।

उनले भने, ‘केही समयपछि नै यो विषयमा वृस्तृत अध्ययन गर्न परामर्शदाता नियुक्तिको प्रक्रिया अघि बढाउँदैछौं’ उनले कुहिने फोहोरबाट जैविक मलदेखि बिजुली उत्पादन गर्न सकिने र धेरै फोहोर रि–साइकल गरी प्रयोग गर्न सकिने प्रकृतिका हुने भन्दैे महानगरले निश्चित रकम खर्च गरेर सहयोग गर्न सके त्यसबाट निजी क्षेत्रले समेत प्रतिफल लिन सक्ने दावि गरेका छन् ।

अहिलेसम्म फोहोर संकलनबाट एक रुपैयाँ पनि आम्दानी गर्न नसकेको महानगरले फोहोर व्यवस्थापनमा वाषिर्क ३० करोड रुपैयाँ खर्च गर्दै आएको छ,। विकसित देशमा फोहोरलाई विभिन्न प्रयोगमा ल्याएर आम्दानीको स्रोत बनाउन धेरैखाले प्रविधि प्रयोगमा आइसके पनि नेपालमा त्यस्तो प्रयोग हुन सकेको छैन ।

काठमाडौंका संकलन भएका सबै फोहोर ओखरपैवास्थित सिसडोलमा डम्पिङ गर्ने गरिएको छ । फोहोरलाई उपयोग गरेर निजी क्षेत्रले लाभ लिन सक्ने भएकाले महानगरपालिकाकै सहयोगमा यसलाई व्यवसायिक रुपमा अघि बढाउन खोजिएको पीपीपी प्रमुख अधिकारीले बताए ।

काठमाडौंका एकजनाा व्यक्तिले दैनिक औसत ३ सय ३५ ग्राम फोहोर उत्पादन गर्छ । कामविशेषले काठमाडौं आउने अस्थायी बसोबास गर्ने मानिसको संख्यामा भएको वृद्धिका कारण काठमाडौंमा फोहोर उत्पादन झन बढ्दै गएको छ । उद्योग तथा व्यवसायिक गतिविधि, अस्पताल, शिक्षालय, होटेल लगायत क्षेत्रबाट उत्पादन हुने फोहोरको मात्र उच्च छ ।

फोहोर व्यवस्थापनमा ठूलो धनराशी खर्च गर्नुपरेपछि महानगरपालिकाले ठूला सहरी पूर्वाधार विकासमा लगानी गर्न समेत सकेको छैन ।

यसैकारण फोहोरमा निजी क्षेत्रलाई सहभागी कसरी गराउने भन्ने विषयमा अध्ययन गर्न लागिएको अधिकारीले बताए । ‘फोहोर व्यवस्थापनको खर्च पूर्वाधार विकासका क्षेत्रमा मात्रै लगानी गर्न सकियो भने ठूलो उपलब्ध हात लाग्छ । त्यसैले निजी क्षेत्रलाई प्रोत्साहन हुने गरी नै फोहोर व्यवस्थापनमा ल्याएर हाम्रो खर्च जोगाउन सकियोस् भन्ने पनि हाम्रो उद्देश्य छ’ अधिकारीले भने ।

काठमाडौंमा दैनिक झण्डै ४ सय ५० टन फोहोर उत्पादन हुने गर्छ । एक किलो फोहोर व्यवस्थापन गर्न महानगरपालिकाले अहिले २ रुपैयाँ ७५ पैसा खर्च गर्नुपरेको छ । फोहोरको व्यवस्थापनमा दैनिक १२ सय कर्मचारी परिचालित छन् ।

बढ्दो फोहोर व्यवस्थापनको खर्चले महानगरपालिकाको वित्तीय व्यवस्थामा दबाव बढ्दै गएका कारण निजी क्षेत्रलाई सहभागी गराएर जाने विषयमा गृहकार्य थालेको हो ।

प्रतिक्रिया