तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता सुरु

badminton udgatanकाठमाडौं, पुस २ । एपिएफका इन्द्र महता र आर्मीका नवीन श्रेष्ठ तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएको मेन्स सिंगल्समा इन्द्रले धुम्वाराहीका ग्याल्जेन शेर्पालाई २१–१० र २१–५ ले हराए । यस्तै नवीनले सामाखुसीका सुगन थापालाई २१–११ र २१–८ ले स्तब्ध पारे । सिंगलतर्पैm एपिएफका विदित थापामगर पनि दोस्रो चरणमा प्रवेश गरेका छन् । त्यसैगरी मेनस डबल्समा बिबिसीका गणेश रायमाझी र विश्वास नेपाल, एपिएफका जोसेफ अधिकारी र सुमन लिम्बू पनि आफ्नो खेल जित्दै दोस्रो चरणमा प्रवेश गरेका छन् । मिक्स डबल्स्मा आयोजकका वीरेन्द्र थापा र विना पुनको जोडी र पुलिसका विष्णु कटुवाल र अनुशा राईको जोडीले पनि सफलता हात पार्दै दोस्रो चरणको यात्रा तय गरेका छन् । गंगटा युवा क्लबद्वारा आयोजित तेस्रो खुला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले बिहीबार उद्घाटन गरेका थिए ।

सो अवसरमा राखेपका सदस्य वीरेन्द्र श्रेष्ठ, नेपाल ब्याडमिन्टन संघका अध्यक्ष, महासचिव आयोजकका अध्यक्ष रेशम पुन, प्रतियोगिता संयोजक वीरेन्द्र थापा, क्लबका संरक्षक चित्रबहादुर केसीलगायतको उपस्थिति थियो । सर्वाधिक नगद पुरस्कार राशिको प्रतियोगितामा ५ इभेन्ट समावेश गरिएको छ ।

प्रतियोगिता हरेक २ वर्षमा आयोजना हुँदै आएको छ । सर्वाधिक ५ लाख ५० हजार रुपैयाँ पुरस्कार राखिएको यस प्रतियोगितामा आउँदो दक्षिण एसियाली खेलकुदको तयारीका लागि राष्ट्रिय स्तरका खेलाडीका लागि अलग्गै प्रतियोगितासमेत आयोजना गरिनेछ । उक्त प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको वरीयतामा रहेका शीर्ष १६ खेलाडीले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । राष्ट्रियस्तरका खेलाडीका लागि र अन्य गरी ५ वटा इभेन्ट प्रतियोगितामा समेटिएका छन् । जसमा खुला पुरुष युगल, जुनियर एकल (यू–१४,ब्वाइज), मिश्रित युगल र भेट्रान्स (४५ वर्षमाथि) को रहेका छन् । पुरुष युगलमा प्रथम हुनेलाई १ लाख र दोस्रो हुनेलाई ५० हजार रहेको छ ।

पुरुष एकलमा प्रथमले ५० हजार र दोस्रोले २५ हजार नगद प्राप्त गर्नेछन् । भेट्रान र मिश्रित युगलमा प्रथम हुनेले समान ३० हजार र दोस्रो हुनेले १५ हजार प्राप्त गर्नेछन् । माथि उल्लिखित ४ विधाका तेस्रा हुने खेलाडीले नगद ५ हजारको दरले प्राप्त गर्नेछन् । जुनियर एकलतर्फको विजेताले १५ हजार र दोस्रोले ७ हजार र संयुक्त रूपमा तेस्रो हुने २ जनाले जनही २–२ हजार पाउनेछन् ।

प्रतिक्रिया