कृषि मन्त्रालयमा कर्मचारी हेरफेर

काठमाडौं २९ मंसिर । कृषिमन्त्री हरिबोलप्रसाद गजुरेलले मन्त्रालय मातहतका कर्मचारीको जिम्मेवारीमा हेरफेर गरेका छन् । उनले कृषि विकास मन्त्रालयका ५ जना सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन् ।

आधा दजर्नभन्दा बढी सल्लाहकारको घेरामा रहेका मन्त्री गजुरेलले ३ वर्षभित्र मुलुकलाई कृषिमा आत्मनिर्भर बनाउने योजना बनाएको भन्दै मन्त्रालयका सहसचिवहरूलाई आन्तरिक रूपमा फेरबदल गरेका हुन् । कृषि मन्त्रालयका कर्मचारीहरूले भने मन्त्री गजुरेलले आफ्नो अनुकूल कर्मचारी ल्याउन खोजेको आरोप लगाएका छन् । उनीहरूले अहिले भएको सरुवा उनका सल्लाहकारहरूको सल्लाह बमोजिम गरिएको भनाइ रहेको छ ।

अहिले गरिएको आन्तरिक सरुवामा हरिहर भवनमा रहेको कृषि सूचना तथा सञ्चार केन्द्रका ईश्वरीप्रसाद रिजाललाई मन्त्रालयको खाद्य सुरक्षा तथा वातावरण महाशाखामा ल्याइएको छ भने कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखाका डा. सुरोज पोख्रेललाई नीति तथा वैदेशिक महाशाखामा तानिएको छ । सो महाशाखाका सहसचिव डा. राजेन्द्र अधिकारी केही साता अगाडि मात्र अध्ययनका लागि अस्टे«लिया गएका थिए ।

मन्त्रीले हेरफेर गरेका सहसचिवहरूमा कृषि तथा खाद्य सुरक्षा आयोजनाका डा. श्याम पौडेललाई आयोजनाबाट हटाएर कृषि व्यवसाय प्रवद्र्धन तथा तथ्यांक महाशाखामा तानिएको छ । उनको ठाउँमा क्षेत्रीय कृषि निर्देशनालयका सहसचिव तेजबहादुर सुवेदीलाई सरुवा गरिएको छ । त्यस्तै क्षेत्रीय कृषि निर्देशनालय सुदूरपश्चिमाञ्चल दिपायलको क्षेत्रीय निर्देशकमा भने शरदचन्द्र श्रेष्ठलाई सरुवा गरिएको छ । पश्चिमाञ्चल क्षेत्रीय कृषि निर्देशनालय पोखरामा रहेका लेखनाथ आचार्यलाई मन्त्रालयमा तानिएको छ । हालसम्म जिम्मेवारी नपाएका आचार्य अहिले घर बिदामा बसेको जनाइएको छ । आचार्य रहेको पश्चिमाञ्चल क्षेत्रीय कार्यालयमा भने कृषि विभागका उपमहानिर्देशक बेनीबहादुर बस्नेतलाई काजमा पठाइएको छ ।

सल्लाहकार विवादमा

यता कृषिमन्त्री हरिबोलप्रसाद गजुरेलले अघोषित रूपमा ७ जना सल्लाहकार राखेको भन्दै कृषि विकास मन्त्रालय मातहतमा कार्यरत एमाओवादी निकट कर्मचारीहरूले रुष्टता प्रकट गरेका छन् । अहिले मन्त्रालयमा राखिएका निजी सचिवहरूको जिम्मेवारी बाँडफाँडमा समेत समस्या देखिएकाले काम कसरी गर्ने भन्नेमा कर्मचारीहरू अन्योल भएको उनीहरूको भनाइ रहेको छ ।

मन्त्री गजुरेलको निजी सचिवका रूपमा काम गरिरहेका रमेश गुरागाइँ र राज्यमन्त्रीसरहको अधिकार दिइएको भनिएका सल्लाहकार तर शाखा अधिकृतको तलव पाउने गरी नियुक्ति पाएका नहेन्द्र खड्का मध्ये को ? मार्फत काम गर्ने भन्ने अन्योलता कृषि मन्त्रालयमा भएपछि एमाओवादी निकट कर्मचारीहरू पार्टी मुख्यालयमा डेलिगेसन जाने तयारीमा रहेको बुझिएको छ । तर यस विषयमा मन्त्रीका निजी सचिव रमेश गुरागाइँले को कुन तहको हो भन्दा पनि कामप्रति वफादार भएर लाग्नुपर्ने बताए ।

प्रतिक्रिया