डेपुटी गभर्नरका लागि दौडधुप

काठमाडौं, २८ मंसिर । आगामी पुस ११ गतेबाट खालि हुने २ डेपुटी गभर्नर पदका लागि दौडधुप सुरु भएको छ । नेपाल राष्ट्र बैंकका २ डेपुटी गभर्नरले अवकाश पाउँदै छन् । डेपुटी गभर्नर को बन्ने भनी चासो बढ्न थालेको छ ।

राष्ट्र बैंकका कार्यकारी निर्देशक मध्येबाट छान्नुपर्ने भए पनि मन्त्रिपरिषद्ले नियुक्ती गर्ने हँुदा यसमा राजनीतिक नियुक्ती हुने गर्दछ । सरकारमा एमालेको नेतृत्व छ भने सत्ता साझेदारमा एमाओवादी र प्रमुख प्रतिपक्ष सबैले पार्टीप्रति झुकाव राख्नेलाई नियुक्त गर्न कसरत गर्ने पक्का छ ।

पुस १० गते ५ वर्षे कार्यकाल पूरागरी डेपुटी गभर्नरद्वय गोपालप्रसाद काफ्ले र महाप्रसाद अधिकारी अवकाश पाउँदै छन् । अघिल्लोपटक नियुक्ती गर्दा तत्कालीन गभर्नर डा.युवराज खतिवडाले पनि राजनीतिक भागबन्डाका आधारमा २ डेपुटी गभर्नर नियुक्त गरेका थिए । काफ्ले कांग्रेस निकट हुन् भने अधिकारी एमाले निकट हुन् । गभर्नरले सिफारिस गरेका ४ मध्ये २ जनालाई सरकारले डेपुटी गभर्नरमा नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था छ । सरकार एमाले–एमाओवादीको तथा राष्ट्र बैंक गभर्नर नेपाली कांग्रेस निकट भएकाले डेपुटी गभर्नर को बन्ला भनेर अड्कल लगाउन भने कठिन छ । राष्ट्र बैंक ऐनले अहिले कायम रहेका १६ जना कार्यकारी निर्देशकलाई डेपुटी गभर्नर बन्न बराबरी योग्यता दिएको छ ।

कहिलेकाँही वरिष्ठताका आधारमा डेपुटी गभर्नर नियुक्त गर्नुपर्ने आवाज उठे पनि गभर्नरले आवश्यक परामर्श (राजनीतिक) र आफ्नो दायाँ हातका रूपमा सिफारिस गर्ने गरेको विगतका उदाहरण छन् । डेपुटी गभर्नरमा प्रदीपराज पान्डे, हरिप्रसाद काफ्ले, त्रिलोचन पंगेनी, डा.मीनबहादुर श्रेष्ठ, महेश भट्टराई, शिवराज श्रेष्ठ, नारायणप्रसाद पौडेल, नरबहादुर थापा, डा.विनोद आत्रेय, जनकबहादुर अधिकारी, भीष्मराज ढुंगाना, चिन्तामणि शिवाकोटी, लक्ष्मीप्रपन्न निरौला, शंकरप्रसाद आचार्य, राजनविक्रम शाह र शिवनाथ पाण्डे मध्येबाट ४ जनालाई डेपुटी गभर्नरका लागि सिफारिस गर्नुपर्ने हुन्छ । डेपुटी गभर्नर दैनिक काम कारबाहीका साथै राष्ट्र बैंकको बोर्डमा पनि वरिष्ठ सदस्य हुन्छन् ।

डेपुटी गभर्नर खाली हुनै लाग्दा कार्यकारी निर्देशकहरू भने आआफ्नो दौडमा लागेको श्रोतको दाबी छ । डेपुटी गभर्नरमा नियुक्त हुनका लागि कतिपय कार्यकारी निर्देशक नेताको घरदैलोमा जान थालिसकेका छन् भने कपियले पुराना सम्बन्धलाई पनि ब्युँझाएर उपयोग गर्ने रणनीतिमा लागेका छन् । डेपुटी गभर्नरमा आफ्नो मान्छे ल्याउन अहिले राष्ट्र बैंकको कर्मचारी युनियन पनि लागिपरेका छन् ।

गभर्नरलाई सत्तारूढ दल त्यसमा पनि प्रधानमन्त्री र अर्थमन्त्री भएको दलको मान्छे डेपुटी गभर्नरमा ल्याउनुपर्ने दबाब हुन्छ । यसअघि पनि सत्ता साझेदार कांग्रेसको कोटामा काफ्ले डेपुटी गभर्नरमा नियुक्त भएका थिए । एकातिर राजनीतिक दबाब र अर्कोतिर आफ्नो कार्यकाल सफल पार्न सक्षम डेपुटी गभर्नरको नियुक्ति डा.नेपाललाई चुनौति बनेको छ ।

प्रतिक्रिया