गृहमन्त्रीलाई पार्टीको चेतावनी

काठमाडौं, २८ मंसिर । भूकम्पपीडितका नाममा आफ्ना आफन्तसहितका व्यक्तिलाई चीन भ्रमणमा पठाएको विषयमा एमाओवादीले गृहमन्त्री शक्ति बस्नेतलाई चेतावनी दिने निर्णय गरेको छ । एमाओवादीको बैठकले मन्त्री बस्नेतलाई यस्तो गल्ती दोहोराए पदमुक्त गर्ने चेतावनी दिएको हो ।

पार्टी केन्द्रीय समितिको बैठकमा सोमबार भिन्दै एजेन्डामाथि भएको छलफलपछि गृहमन्त्री बस्नेतसँग लिखित आत्मआलोचना गर्न लगाउने र अर्कोपटक गल्ती भए पदमुक्त गर्ने निर्णय गरेको एमाओवादी श्रोतले जनाएको छ । वैठकमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले पार्टी रूपान्तरणका लागि गृहमन्त्री बस्नेतमाथि कुनै न कुनै एक्सन लिनु आवश्यक भएको भन्दै २ वटा विकल्प अगाडि सारेका थिए । दाहालले पहिलो विकल्पमा रूपमा गृहमन्त्रीको राजीनामा र दोस्रो विकल्पमा रूपमा लिखित आत्मआलोचनासहित चेतावनी दिने प्रस्ताव गरेका थिए ।

वैठकमा छलफलपछि केन्द्रीय समितिले ‘अहिले लिखित आत्मआलोचना गर्न लगाउने र अर्को गल्ती भए पदमुक्त गर्ने निर्णय गरेको हो । यस अघि शनिबारको वैठकमा स्थायी समिति सदस्य गोपाल किराँतीले र आइतबारको वैठकमा हेमराज भण्डारीले गृहमन्त्रीमाथि कारवाही गर्न माग गरेका थिए । भण्डारीले भिन्दै एजेन्डा बनाएर गृहमन्त्रीले चीन भ्रमणमा पठाएको सूचीबारे छलफल गर्न माग गरेका थिए । त्यसपछि दाहालले यो विषयमा सोमबार केन्द्रीय समिति वैठकमा छलफल गराएका हुन् ।

बैठकले चीन भ्रमणमा जाने व्यक्तिको सूची तयार पार्ने आफ्ना स्वकीय सचिवालय कर्मचारी र गृहमन्त्रालयका कर्मचारीमाथि आवश्यक कारवाही गर्न मन्त्री बस्नेतलाई निर्देशन दिएको छ । बैठकमा नेताहरूले भूकम्प प्रभावित जिल्लामा गल्ती भएको भन्दै माफी माग्ने निर्णय गरेका थिए ।

मन्त्री बस्नेतले आफ्नो तर्फबाट गल्ती भएको स्वीकारे । उनले भने, ‘कुनै पनि हिस्साले मिल्ने थिएन । गंभीर कमजोरी भयो । पार्टीको निर्णय मान्छु ।’

त्यसबाहेक बैठकमा उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, सचिव गिरिराजमणि पोखरेल र सन्तु दराईले दाहालको प्रतिवेदनमाथि आफ्ना धाराणा राखेका थिए ।

अबदेखि यस्तो गल्ती गर्दिन: मन्त्री बस्नेत

भूकम्पपीडितको कोटामा ठूला नेताका नातागोता र आफ्नो छोरीलाई चीन भ्रमणमा पठाउनु गल्ती भएको भन्दै गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनतासँग माफी मागेका छन् । उनले ‘मबाट गल्ती भयो, यो घटनालाई मैले ठूलो पाठका रूपमा लिएको छु,’ भन्दै सोमबार एमाओवादी पार्टी कार्यालयमा माफी मागेका छन् । एमाओवादीको बैठकमा स्पष्टीकरण दिँदै गृहमन्त्री बस्नेतले भने, ‘म आत्मालोचना गर्छु र जनतासमक्ष माफी माग्छु, अबदेखि मबाट यस्तो गल्ती हुँदैन ।’ उनले भूकम्पपीडितको कोटामा आफ्नी छोरी, प्रचण्डकी नातिनी र अन्य नातागोता एवं कार्यकर्तालाई चीन पठाएको बारे पार्टीमा कडा आलोचना भएको थियो । यस विषयमा सोमबार केन्द्रीय समिति बैठकमा भएको व्यापक छलफल बस्नेतलाई मन्त्रीबाट फिर्ता बोलाउने या माफी दिनेबारे निर्णय गर्न एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले केन्द्रीय समितिमा प्रस्ताव गरेका थिए । अन्ततः बैठकले बस्नेतलाई एकपटकका लागि माफी दिने निर्णय गरेको छ ।
पार्टीले बस्नेत मात्रै नभएर कुनै पनि मन्त्रीले यस्ता गल्तीहरू गरेमा वा जनता र पार्टीको हित विपरीत कार्य गरेमा तुरुन्त फिर्ता बोलाइने अध्यक्ष दाहालले बैठकमा चेतावनी दिएका छन् ।

प्रतिक्रिया