नाकाबन्दीले सडक निर्माण अलपत्र

काठमाडांै, २७ मंसिर । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा म्याग्दीका विकास निर्माण योजना प्रभावित बनेका छन् । सदरमुकाम बेनीदेखि गलेश्वर बजारलाई जोड्ने सडक खण्डमा कालोपत्र योजना इन्धन अभावले अलपत्र परेको छ ।

गत भदौदेखि सुरु गरिएको ३ किमी लामो बेनी–गलेश्वर सडकखण्डमा कालोपत्र गर्नका लागि सडक विस्तारको काम विगत २ महिनादेखि रोकिएको छ । सडक डिभिजन कार्यालय बागलुङसँग ४ करोड ८९ लाख ४४ हजार ८ सय ८९ लागत रुपैयाँमा योजना सम्झौता गरी बिरुवा विशाल एन्ड विराज जेभी कम्पनीले प्रारम्भिक काम सुरु गरेको थियो । तीन दशमलव ५ किलोमिटर लामो सडकमा १५ महिनाभित्र कालोपत्र गर्ने गरी काम सुरु भए पनि भारतीय नाकाबन्दीका कारण इन्धन अभाव भएपछि सडक विस्तारलगायतका काम रोकिएको कार्यक्षेत्रमा परिचालित निर्माण व्यवसायी अमृतमान शेरचनले बताए ।

कार्यक्षेत्रमा डोजर र ट्याक्टर चलाउन दैनिक ५ सय लिटर इन्धन आवश्यक पर्ने निर्माण कम्पनीले जनाएको छ । योजनाअनुसार बेनीको कालिपुलदेखि गलेश्वरको राहुघाटमा रहेको मोटरेवल पुलसम्म कालोपत्र गर्ने लक्ष्य रहेको छ ।

योजनाको काम रोकिएपछि सडक फराकिलो बनाउन विभिन्न स्थानमा गरिएको प्रारम्भिक कामले सडकमा माटो र ढुंगा थुप्रिँदा सवारी साधन सञ्चालन गर्नसमेत समस्या भएको छ ।

प्रतिक्रिया