जनचेतनाका लागि प्रभावकारी सडक नाटक

Drama (7)काठमाडौं, २७ मसिंर । गाउँदेखि सहरसम्मका जनतामा चेतनाम“लक सन्देश दिने माध्यमका रूपमा सडक नाटक निकै प्रभावकारी बन्दै गएको छ । हरेक विषयलाई अभिनयमार्फत प्रस्तुत गर्दा आम सर्वसाधारणले सहजै बुझ्ने भएकाले पनि सडक नाटकलाई पहिलो चेतनाको माध्यमका रूपमा प्रयोग गर्दै आइरहेका छन् ।

लामो समयदेखि एकीकृत सत्रुजीव व्यवस्थापन(आइपीएम)मा सक्रियताका साथ काम गरिरहेको संस्था कारितास नेपालले ग्रामीण क्षेत्रका किसानलाई कृषि विकास सम्बन्धी सन्देश सहज रूपमा पु¥याउन सडक नाटकलाई नै माध्यमको रूपमा प्रयोग गर्दै आइरहेको छ । संस्थाका आइपिएम प्रमुख तेजबहादुर बस्नेत किसान तहमा भाषण भन्दा पनि सडक नाटक प्रभावकारी बनिरहेको बताउँछन् । ‘विशेष किसानहरूलाई तालिम, प्रशिक्षणबाट विषयबस्तुका बारेमा बुझाउनु भन्दा आधा घण्टा १ घण्टाको सडक नाटक देखाउँदा नै बढी प्रभावकारी देखियो ।’ बस्नेतले भने, ‘हामी किसान तहमा नै नाटक सम्बन्धी प्रशिक्षण दिन्छौँ, अनि हाम्रा कर्मचारीहरूलाई किसानसँग नाटकका विषयमा सहजीकरण गराएपछि किसानहरू आफैँले नाटकको कथा लेखनदेखि कलाकार छनोट र अभिनयको तरिकाबारे छलफल गरेर नाटक देखाउँछन् ।’ उनका अनुसार संस्थामार्फत वार्षिक रूपमा करिब ५० वटा सडक नाटक ग्रामीणस्तरमा मञ्चन हुने गर्दछन् ।

संस्थाका कृषि प्राविधिक अधिकृत आनन्द प्याकुरेल पनि किसान तहमा सडक नाटक नै प्रभावकारी भएको स्वीकार्छन् । ‘किसानले भाषण कला भन्दा पनि चरित्रकलामा बढी रुची देखाएको पाइयो ।’ उनले भने, ‘अझ रमाइलो कुरा के छ भने गीत संगीत भन्दापनि सडक नाटकमै किसानको ध्यान गएको छ ।’ उनले सन् २००४ देखि ३२ वटा जिल्लामा आइपीएम लागु भएको उल्लेख गर्दै ती सबै जिल्लाका किसानहरू सडक नाटकको अभियानमा पोख्त भएको दाबी गरे ।

केही दिनअघि मात्र राजधानीमा आइपिएमसँग आबद्ध किसानहरूको राष्ट्रिय सञ्जाल बैठक र योजना तर्जुमा गोष्ठी सम्पन्न भएको थियो । त्यहाँ उपस्थित किसान तथा आइपिएम प्रतिनिधिहरूलाई हाँस्य कलाकार सीपी पुडासैनी (धतुरे)ले अभिनय सम्बन्धी प्रशिक्षण दिएका थिए । ‘किसानहरूको अभिनय प्रति झुकाव देखेर म आफँै आश्चर्यमा परे, उहाँहरूले सिकाए अनुसारको अभिनय गर्नुभयो । ‘पुडासैनीले भने, ‘किसान भनेर हामी हेय भावले हेर्ने गछौँ, तर उनीहरूको प्रतिभा भने आफैँमा तारिफ योग्य नै रहेछ ।’ २ दिनसम्म पुडासैनीको अभिनय सम्बन्धी प्रशिक्षण पाएका उनीहरूले त्यही नाटक पनि मञ्चन गरेका थिए ।

संस्थाको कास्की फिल्ड कार्यालयमा कार्यरत शोभा आचार्यले विशेषत किसानहरूलाई जलवायु परिवर्तन र त्यसको प्रभाव, असरका बारेमा सडक नाटकमार्फत सन्देश प्रवाह गर्ने गरेको बताईन् । झापाका लक्ष्मी भण्डारीले पनि किसान तहमा सडक नाटक, चित्रकला, गीत संगीतमार्फत कृषि चेतना बाड्ने गरेको जनाए ।

बाली संरक्षण निर्देशनालयका निर्देशक डा. डिल्लीराज शर्माले किसानका हरेक समूहलाई नाटक सम्बन्धी प्रशिक्षण दिईने गरेकाले पनि त्यसमा किसानको चासो बढ्दै गएको दाबी गरे । निर्देशनालयले अहिले विषादी प्रयोग विरुद्ध ‘नो पेस्टिसाइट युज विक’ मनाइ रहेकाले आम मानिसको उपस्थिति बढी हुने स्थानमा सडक नाटक गर्ने तयारी गरिरहेको बताए ।

यो संस्थाले गत वैशाख १२ गतेको विनाशकारी भूकम्प पछि सर्वसाधारणको मनोविज्ञानमा परेको त्रासलाई हटाउन कलाकार पुडासैनी र शिरोमणि दवाडीको सहयोग लिएर हाँस्य प्रहसन प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया