थानकोट डिपो प्रमुख पक्राउ

काठमाडौं, २७ मंसिर । पेट्रोल पम्पवालहरूसँग मिलेर अनियमितता गरेको आरोपमा प्रहरीले नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविन शर्मालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध महाशाखाको टोलीले शर्मालाई आइतबार साँझ थानकोटबाट पक्राउ गरेको हो । अनुसन्धानको सिलसिलामा शर्मालाई नियन्त्रणमा लिइएको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताएका छन् ।

महाशाखाले तेलको कालोबजारीविरुद्ध अपरेसन चलाइरहेको छ । यसका क्रममा पक्राउ परेकाहरूले शर्माको समेत नाम लिएपछि प्रहरीले अनुसन्धान थालेको थियो । अपराध महाशाखाले हालै मात्र राजधानीका १७ वटा पम्पमा छापा मार्दा ठगी गर्ने मेसिन जडान गरिएको पाएको थियो ।

त्यति मात्र होइन शर्माविरुद्ध केही पेट्रोलियम व्यवसायीले संस्थागत रूपमा सेटिङ मिलाएर कालोबजारी गरेको आरोप लगाएका छन् । यसैगरी पेट्रोल पम्पहरूसँग रकम लिएर तेल दिने गरेको आरोप पनि छ । उनको शैक्षिक योग्यता नपुगे पनि राजनीतिक पहुँचका आधारमा आठौँ तहका अधिकृतमा बढुवा भएका थिए ।

निगमको कर्मचारी प्रशासन विनियमावलीमा निगमको अधिकृतका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक उत्तीर्ण गरेको हुनुपर्ने तोकिएको छ । तर, शर्माले आइए मात्र उत्तीर्ण गरेका छन् ।

उनले ओभरसियर पदबाट आयल निगमका प्रवेश पाएका थिए । कानुन अनुसार पाँचौँ तहको ओभरसियर सातौँ तहसम्म पुग्न पाउँछ । आठौँ तहका लागि आफ्नो विषयमा स्नातक तह उत्तीर्ण हुनैपर्ने व्यवस्था छ । आठौँ तहमा बढुवा भइसकेका शर्माले अझै स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र बुझाएका छैनन् ।

शर्मालाई नियम विपरीत बढुवा गरिएको भन्दै अख्तियारले घटुवा गर्न पत्र लेखेपछि उनको फाइल नै गायव भएको छ । उसो त डिपो प्रमुख र क्षेत्रीय प्रमुखको दरबन्दीमा १०औँं तहका अधिकृतले मात्र पाउँछन् । तर, नियम मिचेर आठौँ तहका शर्मालाई आयल निगमले थानकोट पठाइएको अधिकारीहरू बताउँछन् ।

प्रतिक्रिया