हरि र विश्वरुपा पहिलो

meeraकाठमाडौं, २६ मंसिर । हरिकुमार रिमाल र विश्वरुपा बुढा तेस्रो खुला रोड रेसमा शनिबार पहिलो भएका छन् । नेपाल आर्मीका दुवै गत संस्करणको पनि विजेता हुन् । हरिले निर्धारित दुरी १५ मिनेट ५६ सेकेन्डमा पूरा गरे । छत्रबहादुर दाहाल दोस्रो र कल्याण बानियाँ तेस्रो भए । दुवै आर्मीका हुन् ।

प्यारागन पब्लिक स्कुलद्वारा आयोजित प्रतियोगितामा विश्वरुपाले निर्धारित दुरी तय गर्न १८ मिनेट १७ सेकेन्ड समय लगाइन् । आर्मीकै सरस्वती भट्टराई दोस्रो र काठमाडौंकी सन्तोषी श्रेष्ठ तेस्रो स्थानमा रहे । दुवै समूहमा पहिलो हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजारका दरले नगद पुरस्कार प्राप्त गरे ।

विद्यालयतर्पm छात्रमा एपिएफ स्कुलका अजितकुमार यादव पहिलो भए । उनले निर्धारित दुरी १७ मिनेट ५१ सेकेन्डमा पूरा गर्दै उपाधि रक्षा गरे । नवोदयका विवेक चेपाङ दोस्रो र सीतापाइला उमाविका खडक बूढा मगर तेस्रो भए । सोही स्पर्धाको छात्रामा सीतापाइलाकी हुमी बूढा मगर पहिलो भइन् । हुमीले २० मिनेट ४९ सेकेन्ड समय खर्चिन् । ग्लेडस्टोनकी शर्मिला क्षत्री दोस्रो र विजेश्वरी स्कुलकी सुमिता श्रेष्ठ तेस्रो बने । शीर्ष ३ स्थानमा हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार थापे ।

प्यारागनमा अध्ययनरत विद्यार्थीका अभिभावक र प्यारागनका शिक्षक सम्मिलित दौडको पुरुषमा मेघा पहारी पहिलो भए । उनले १९ मिनेट ४१ सेकेन्ड समय लगाए । पारस ढकाल दोस्रो र सन्तोष बस्नेत तेस्रो स्थानमा रहे । उक्त स्पर्धाको महिलामा ११औँ दक्षिण एसियाली खेलकुद (साग) की रजत पदकधारी अनु अधिकारी पहिलो भइन् । अनुले २५ मिनेट ३ सेकेन्डमा दुरी तय गरिन् । सुमिता राई दोस्रो र करातेकै तारा गुरुङ तेस्रो भए । यो स्पर्धामा शीर्ष ३ स्थान हात पार्नेले विद्यालयतर्पmकै सरह नगद पुरस्कार जिते । प्रतियोगताको कुल पुरस्कार राशि १ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्ट, सांसद्द्वय गगन थापा र गीता राणा, प्यारागनका प्रबन्धनिर्देशक साकिर उद्दिन, प्यारागनका भाइसप्रिन्सिपल एवं रेस संयोजक मनोज विक तथा अल्ट्रा धाविक मीरा राईले पुरस्कृत गरे ।

सोही अवसरमा विभिन्न अन्तर्राष्ट्रिय अल्ट्रा दौडमा पदक जित्दै देशको गौरव अभिवृद्धि गरेकोमा मीरालाई नगदसहित सम्मान गरिएको थियो । प्रबन्धनिर्देशक साकिरले मीरालाई ३५ हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।

दौडमा करिब ३ हजार प्रतिस्पर्धीले सहभागिता जनाएको प्यारागनका खेलकुद शिक्षक एवं १०औँ सागका स्वर्ण विजेता कुशल श्रेष्ठले जनाएका छन् । सबै दौडको दुरी ५ किलोमिटर रहेको थियो ।

प्रतिक्रिया