सेलाउँदै मधेस आन्दोलन

selaudai madhes aandolanकाठमाडौं, २६ मंसिर । मधेसी मोर्चाका नेताहरूको दिल्ली भ्रमणपछि मधेस आन्दोलन सेलाउँदै गएको देखिएको छ । आन्दोलनकारीहरू थकितजस्तै देखिन थालेका छन् । अब कार्यकर्तामा वार्ताबाटै समस्या समाधान हुने आशा पलाउन थालेको छ ।

दिल्ली भ्रमणपछिका वार्ताहरूसमेत निष्कर्षहीन भए पनि मधेस आन्दोलनले चाँडै नै विश्राम लिने विश्वास जागेको मोर्चाका स्थानीय कार्यकर्ताहरू बताउन थालेका छन् । ३ महिना लामो आन्दोलनले उनीहरू थाकिसकेका छन् । राष्ट्रवादको नारा लगाउने सत्तापक्षका प्रमुख नेताहरूको पनि भारतपरस्तता बुझिन लागेकाले मधेसमा जारी आन्दोलन चाँडै समाधान हुने मोर्चाका कार्यकर्ता बताउँछन् ।

पहिलेभन्दा खुला छ नाका

मधेस आन्दोलन सुरु भएदेखि नै दिनहुँ प्रदर्शन, नाराजुलस, विरोधसभालगायत गतिविधि हुँदै आएका थिए । आन्दोलनको समर्थनमा विभिन्न संघ संगठनका साथै युवा, विद्यार्थी, कर्मचारीलगायतले ¥याली निकाल्ने गरेका थिए । शान्तिपूर्ण आन्दोलनबाट मधेसको माग पूरा नभएपछि आन्दोलनरत दलले नाकाबन्दीको सहारा लिएको थियो । मोर्चाका नेता–कार्यकर्ताको नाकामा धर्ना र भारतको अघोषित नाकाबन्दीले सिंगो मुलुक अस्तव्यस्त बनाएको छ । महिनौँसम्म आन्दोलन गर्दा पनि कुनै सुनवाई नभएपछि मोर्चाका कार्यकर्ता आजित भएर करिब २ सातादेखि अनुपस्थित देखिएका छन् ।

त्यहाँ अहिले उनीहरूको धर्ना छैन, मधेसी मोर्चाका शीर्ष ३ नेताको गृह जिल्ला सर्लाहीको मलंगवा–सोनवर्सा मुख्य नाकाको त्रिपालसमेत एक सातादेखि हटाइएको छ । सद्भावनाका अध्यक्ष राजेन्द्र महतो, तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर र तराई–मधेस सद्भावनाका अध्यक्ष महेन्द्र यादवको गृह जिल्ला सर्लाहीमा आन्दोलन सिथिल छ । त्यहाँ स्कुल, कलेज, बजार, पसल पूर्णरुपमा खुला भएका छन् । वीरगञ्ज–रक्सौल नाकामा पनि आन्दोलनकारीको उपस्थिति अत्यन्त न्यून हँुदै गएको छ । सो नाकाबाट अहिले रिक्सा, मोटरसाइकल निर्वाध आवतजावत गरिरहेका छन्, जुन पहिले ठप्प थियो । यस्तै महोत्तरीको भिट्टामोर, मटिहानी–मधवापुर, सम्सी–कन्हमा नाकामा पनि धर्नाकारी देखिन छाडेका छन् । जनकपुरको जटही, जयनगर नाका पनि अहिले खुला रहेको बताइएको छ ।

तर, नेताहरूको दिल्लीयात्रापछि मोर्चाका कार्यकर्ताहरू आन्दोलनलाई निरन्तरता दिने कि विश्राम लिने भन्ने दुविधामा परेका छन् ।

अझै सहज भएन जनजीवन
प्रमुख दल र आन्दोलनरत मोर्चाबीच पटकपटक वार्ता भए पनि कुनै निष्कर्ष ननिस्कँदा जनजीवन भने अभैm सहज हुन सकेको छैन । नाकामा धर्नाकारी नरहे पनि ढुक्कसँग निर्वाध आवागमन हुन सकेको छैन । आन्दोलन औपचारिकरूपमा फिर्ता नहुँदा मोटरसाइकलबाहेकका सवारी साधन चल्न सकेका छैनन् ।

आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका सबै कार्यक्रम जारी नै रहने आन्दोलनरत मोर्चाका नेताहरूले बताउँदै आएका छन् ।

अनिश्चितकालीन बन्द र नाकाबन्दीले मध्य तराईका जिल्ला पर्सादेखि सप्तरीसम्मको जनजीवन कष्टकर बनाएको छ । जारी आन्दोलनले अति आवश्यक ग्यास, इन्धन, खाद्यान्यलगायत सामग्रीको अभाव भइरहेको छ । बढ्दो कालोबजारीले सर्वसाधारण जनताको जनजीवन कष्टकर हुन छाडेको छैन । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, संघीय समावेशी मधेसी गठबन्धनसहितका दलको आह्वानमा विभिन्न माग गर्दै सुरु भएको आन्दोलन ३ महिना कटिसकेको छ ।

उद्योगहरूले उत्पादन गरेका वस्तुका साथै आवश्यक कच्चापदार्थ आयात निर्यात गर्न नसकेको बारा उद्योग वाणिज्य संघका महासचिव राजकुमार साह बताउँछन् । कच्चा पदार्थ नाकामै अड्केपछि उद्योगहरू बन्द छन् । सरकारलाई सबैभन्दा बढी राजस्व तिर्ने वीरगञ्ज भन्सार, सुख्खा बन्दरगाह, डाबर नेपाल प्रालि, जगदम्बा स्टिल प्रालि, सूर्या नेपाल प्रालि, हुलास स्टिल प्रालिलगायत ठप्प रहेको छ । यी सबै कार्यालय र उद्योग बन्द भएका कारण सरकारले अर्बौं राजस्व गुमाइरहेको महासचिव साहको भनाइ छ ।

वीरगञ्ज देशको सबैभन्दा बढी राजस्व संकलन गर्ने भन्सार कार्यालय हो । धेरै उद्योग कल कारखानाहरू रहेको बारा र पर्साका उद्योगले प्रत्यक्षरूपमा कार्यरत २० हजारभन्दा बढी मजदुरले काम गर्न नपाएको महासचिव साह बताउँछन् ।

प्रतिक्रिया