मानवअधिकार राष्ट्रिय महाभेला

काठमाडौं, २५ मंसिर । पच्चिसबुँदे घोषणा जारी गर्दै सातौँ मानवअधिकार राष्ट्रिय महाभेला सम्पन्न भएको छ । ‘लोकतन्त्र, मानवअधिकार र समावेशीता ः राज्यको सबै क्षेत्र र तहमा समान महिला सहभागिता’ भन्ने नाराका साथ महाँभेला सम्पन्न भएको हो । भेलाले नेपालको संविधानको सफल कार्यान्वयन गर्न, संघीयताको सवालमा सबै बर्ग क्षेत्र, तह र तप्काका महिलाको अर्थपूर्ण सहभागिता गराउन, पीडितलाई न्याय र पीडकलाई अभियोजनको दायरामा ल्याई दण्डहीनताको अन्त्य गर्न माग गर्दै घोषणा पत्र जारी गरेको छ ।

नेपालका कानुनलाई थप लैङ्गिकीकरण गर्दै सन् २०३० सम्म सम्पूर्ण क्षेत्रमा ५०–५० को सहभागिता गराउन, पतिको पहिचानबिना आमाको नामबाटै नागरिकता दिलाउने जस्ता विषयमा घोषणापत्रमा जोड दिइएकोे छ । समापनका अवसरमा भेला आयोजक समितिका तर्फबाट सभामुख ओनसरी घर्तीलाई नागरिक अभिनन्दन गरिएको थियो ।

भेलामा ५ लाख रुपैयाँ राशिको ‘शान्तालक्ष्मी श्रेष्ठ महिला मानवअधिकार सम्मान पुरस्कार’ स्थापना गरिएको जानकारी दिइयो । सो पुरस्कार कोषको ब्याज रकम प्रत्येक वर्ष मानवअधिकार महाँभेलाका अवसरमा महिला मानवअधिकारका क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने महानुभावलाई प्रदान गरिने भएको छ ।
सभामुख घर्तीले मानवअधिकारका क्षेत्रमा समानता, स्वतन्त्रता र महिलामैत्री नेपालको संविधान २०७२ जारी हुनु सुन्दर पक्ष भएको उल्लेख गर्दै प्राप्त अधिकारलाई संरक्षण गर्न सामाजिक र राजनीतिक क्षेत्रबाट धेरै गर्न बाँकी रहेको बताएकी छन् ।

प्रतिक्रिया