नाकाबन्दीको असर राजस्व संकलनमा

mainnकाठमाडौं, २४ मंसिर । भारतको अघोषित नाकाबन्दीको असर राजस्व संकलनमा प्रत्यक्ष देखिएको छ । अघोषित नाकाबन्दीका कारण राजस्व संकलनमा झन्डै ६० प्रतिशतले गिरावट आएको छ । असोज र कात्तिक महिनामा राजस्व संकलनमा झन्डै ६० प्रतिशतले गिरावट आएको हो ।

राजस्व संकलनको हिसाबले मध्यम मानिने यी महिनामा राजस्व संकलन ह्वात्तै घटेको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष ०७१÷७२ को असोज महिनामा ६ अर्ब ३० करोड राजस्व संकलन गरेको छ । तर, विभागले भने सो अवधिमा १५ अर्ब ७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

असोज महिनामा लक्ष्यको ४१ दशमलव ८४ प्रतिशत मात्रै राजस्व संकलन भएको भन्सार विभागका प्रवक्ता सूर्यप्रसाद सेडाईले जानकारी दिएका छन् । तर, अघिल्लो आर्थिक वर्ष ०७१÷७२ को असोज महिनामा १५ अर्ब ८६ करोड राजस्व संकलन भएको थियो । विभागले गत आर्थिक वर्षको असोज महिनामा १३ अर्ब ७७ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो ।

असोज महिनामा भारतबाट सवारी साधन बढी मात्रामा भित्रने सेडाई बताउँछन् । यस वर्षको असोज महिनामा भारतको अघोषित नाकाबन्दीका कारण भारतबाट पेट्रोलियम पदार्थसँगै सवारी साधन भित्रिन सकेका छैनन् । जसका कारण भन्सारको राजस्वमा ठूलो गिरावट आएको छ । त्यस्तै कात्तिक महिनामा पनि भारतका नाकाबाट न्यून मात्रामा सामान भित्रिएका छन् । जसले गर्दा भन्सारको राजस्व संकलनमा उच्च गिरावट आउन पुगेको भन्सार विभागले बताएको छ ।

भन्सार विभागका अनुसार कात्तिक महिनामा ६ अर्ब १८ करोड राजस्व संकलन भएको छ । १४ अर्ब ८४ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएको भन्सार विभागले लक्ष्यको ४१ दशमलव ६३ प्रतिशत मात्रै राजस्व संकलन गर्न सकेको प्रवक्ता सेडाईले जानकारी दिए । भन्सार विभागले यस वर्ष २ सय ५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यो आर्थिक वर्षको प्रथम चौमासिकका २ महिनामा राजस्व संकलनमा उच्च गिरावट आएको देखिएको छ । जसले गर्दा भन्सार विभागले लिएको लक्ष्य हासिल गर्न ठूलो चुनौति देखिन्छ । ‘साउन महिनादेखि बिस्तारै राजस्व संकलन प्रत्येक महिना बढेर जाने गथ्र्यो तर यसपालि असोज र कात्तिक महिनामा राजस्व संकलनमा ठूलो गिरावट आएको छ, यी दुवैलाई विभागले मध्यम खालको राजस्व संकलन हुने महिनाको रूपमा हेर्ने गर्छ ।’ प्रवक्ता सेडाईले भने ।

हालै मात्रै नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको एक रिपोर्टमा चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल सरकारको राजस्व परिचालन १० दशमलव २ प्रतिशतले घटेर ७५ अर्ब ६६ करोडमा सीमित भएको उल्लेख गरिएको छ । अघिल्लो आर्थिक वर्ष ०७१÷७२ वर्षको सोही अवधिमा यस्तो राजस्व परिचालन १६ दशमलव ३ प्रतिशतले वृद्धि भई ८४ अर्ब २७ करोड कायम भएको थियो ।

‘भन्सार नाकामा अवरोधका कारण आयातमा संकुचन आउनाले तथा इन्धनलगायत आवश्यक सामग्रीको अभावमा आर्थिक गतिविधिमा शिथिलता आई राजस्व संकलनमा प्रतिकूल प्रभाव परेको हो ।

सीमा क्षेत्रमा रहेको गतिरोध जारी रहिरहेमा चालू आर्थिक वर्षमा लक्ष्य अनुसारको वार्षिक राजस्व परिचालन हुन निकै कठिन देखिन्छ ।’ राष्ट्र बैंकले सार्वजनिक गरेको रिपोर्टमा उल्लेख गरिएको छ ।

असोज मसान्तसम्ममा मूल्य अभिवृद्धि कर राजस्व संकलन गत वर्षको सोही अवधिको तुलनामा १६ दशमलव ४ प्रतिशतले घटेर २३ अर्ब ५८ करोडमा सीमित भएको छ । तर, अघिल्लो आर्थिक वर्ष ०७१÷७२ मा उक्त राजस्व १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

त्यस्तै चालु आर्थिक वर्ष भन्सार राजस्व २६ दशमलव ७ प्रतिशतले कमी आउँदै १३ अर्ब ६३ करोड मात्रै संकलन भएको छ । अघिल्लो आर्थिक वर्ष ०७१÷७२ को सोही अवधिमा भन्सार राजस्वमा २३ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । त्यस्तै अन्तःशुल्क राजस्व २१ दशमलव ६ प्रतिशतले घटेर १० अर्ब २२ करोड मात्रै संकलन भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त राजस्व २५ दशमलव ४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

तर असोज मसान्तसम्ममा आयकर राजस्व भने ४२ दशमलव ६ प्रतिशतले वृद्धि भई १४ अर्ब ८६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयकर राजस्व १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो ।

प्रतिक्रिया