मानव अधिकार दिवसको अवसरमा प्रभात फेरी

pancha taharपाँचथर २४ मंसिर । ६७ औँ विश्व मानवअधिकार दिवस पाँचथरमा प्रभात फेरी तथा कोणसभाको आयोजना गरी मनाइएको छ । विभिन्न मानवअधिकारवादी संघ संस्थाहरूको आयोजनामा भएको प्रभातफेरीमा जिल्लाको सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा मानवअधिकारकर्मीहरूको को सहभागिता रहेको थियो ।

‘दण्डहिनताको अन्त्य गर’, ‘मानवअधिकारको सुनिश्चितता गर’, ‘विधिको शासन लागू गर’ लगायतका नाराहरू लेखिएका प्लेकार्ड छातीमा टाँसेर निकालिएको ¥याली फिदिम बजारको परिक्रमा पछि गणतन्त्र चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभालाई सम्बोधन गर्दै मानवअधिकारकर्मी प्रेम ओझाले विधिको शासन लागू गराउन सबै अधिकारकर्मीहरू लाग्नुपर्ने बताएका छन् । ओझाले भारतीय नाकाबन्दीका कारण नेपालीहरूको जनजीवन अत्यन्तै कष्टकर बनेको बिषयमा अन्तर्राष्ट्रिय रुपमा कुरा उठाउन तथा नाकाबन्दी हटाउन चाँडो पहल गर्नु बताएका छन् । उनले मानवअधिकार उल्लङ्घनका घट्नाहरू बर्षेनी बढ्दै गएको प्रति सबै सरोकारवालाको गम्भिर ध्यान जानुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रममा पाँचथर निमित्त प्रमूख जिल्ला अधिकारी केशवप्रसाद रिजालले कानूनको कार्यान्वयन गरी मानवअधिकारको सम्वद्र्धन र विधिको शासन लागू गराउन राज्य र गैरराज्य पक्ष उत्तिकै जिम्मेवार भएर लाग्नुपर्ने बताए । प्रजिअ रिजालले स्थानीय प्रशासन मानवअधिकार उल्लङ्घनका दोषीहरूलाई कानूनी दायरामा ल्याउन तथा पीडितलाई न्याय दिलाउन प्रतिवद्ध रहेको वताए । मानवअधिकार चेतना र विकास केन्द्र नेपाल (हुकोडेक), नेपाल बार एसोसिएसन पाँचथर, नेपाल मानवअधिकार संगठन पाँचथर, जिल्ला बालकल्याण समिति पाँँचथर, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समुह (प्याग) पाँचथर र संयुक्त महिला अधिकार समन्वय सञ्जाल पाँचथरको संयुक्त आयोजनामा कार्यक्रम गरिएको थियो । कार्यक्रमको अध्यक्षता संयुक्त महिला अधिकार समन्वय सञ्जालकी अध्यक्ष सविता राउतले गरिकी थिइन् ।

यसैबिच जिल्ला बालकल्याण समिति पाँचथरले केही समय अघि सञ्चालन गरेको ‘बालअधिकार प्रवद्र्धनमा सञ्चार माध्यमको भूमिका’ शिर्षकको निवन्ध प्रतियोगिताका विजेता विद्यार्थीहरू, जिल्लाका उत्कृष्ट बालक्लबहरू तथा गाविस स्तरीय उत्कृष्ट बाल सञ्जाललाई सोही कार्यक्रममा पुरस्कृत गरिएको छ ।

निबन्ध प्रतियोगितामा फिदिम उच्च माविकी प्रतिमा भण्डारी पहिलो विद्यावरदान इङ्लिस बोर्डिङ स्कुलकी प्रतिमा सिवाकोटी दोस्रो, गढी माविकी देवी लोहार तेस्रो र सार्वजनिक मावि लिम्बाकी रोजिना तामाङ सान्तवना पुरस्कार प्राप्त गरेका छन् । उनीहरूलाई क्रमशः ५ हजार, ४ हजार, ३ हजार र १ हजार ५ सय रुपैँयाका साथमा प्रमाणपत्र सहित पुरस्कृत गरियो ।

यस्तै उत्कृष्ट बालक्लबहरू निमावि तर्फ शहिद दशरथ निमावि आरुबोटे तथा मावि तर्फ सार्वजनिक मावि लिम्बालाई पुरस्कृत गरियो । पुरस्कारको राशि क्रमशः ६ हजार र ८ हजार रुपैँया रहेको छ । यस्तै उत्कृष्ट गाविस स्तरीय बाल सञ्जाल रानीटार बाल सञ्जाललाई नगद १० हजार रुपैँया र प्रमाणपत्रका साथ पुरस्कृत गरिएको थियो । पूरस्कृत सबैलाई निमीत्त प्रमूख जिल्ला अधिकारी केशव प्रसाद रिजालले प्रमाण पत्र बितरण गरेका थिए ।

प्रतिक्रिया