राष्ट्र बैंकको दबाबपछि धमाधम मर्जर

mainकाठमाडौं, २३ मंसिर । पुँजी वृद्धिका लागि राष्ट्र बैंकले दबाब दिन थालेपछि बैंक तथा वित्तीय संस्थाहरू धमाधम मर्जर तथा प्राप्तिमा जान थालेका छन् । नेपाल राष्ट्र बैंकले २०७४ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले चुक्ता पुँजी चारदेखि २५ गुणासम्म वृद्धि गर्नुपर्ने व्यवस्था गरेको छ ।

नियामक निकायको पुँजी वृद्धिको दवावले बैंक तथा वित्तीय संस्थाहरूले अर्को संस्था खोज्न थालेका हुन् । केही बैंक तथा वित्तीय संस्थाहरूले मर्जरका लागि आपसमा सम्झौता गरिसकेका छन् भने केहीले उपयुक्त संस्थाको खोजिगरिरहेका छन् ।

पुँजी वृद्धि योजना आउने वित्तिकै माछापुच्छ्रे बैंकले जनता बैंकलाई आफुमा विलय गर्न सम्झौता गर्यो । त्यसपछि अरू विकास बैंक र फाइनान्स कम्पनीहरूले पनि मर्जर सम्झौता गर्न थालेका छन् । कैलास विकास बैंकले पनि केही संस्था आफूमा गाभेर पुँजी वढाउने रणनीति लिइसकेको छ ।

बाणिज्य बैंकहरूमा एनसिसी बैंकले चार विकास बैंकलाई गाभ्ने केही दिनअघि मात्र सम्झौता गरेको छ । औपचारिक सम्झौता वाहेक पनि विभिन्न संस्थाबीच स्वस्फुर्त र राष्ट्र बैंकको मध्यस्ततामा मर्जरसम्बन्धी कुराकानी अगाडि बढिरहेको छ ।

नेपाल राष्ट्र बैंकलाई बुझाएको पुँजी वृद्धि योजनाअनुसार, अधिकांस बैंक तथा वित्तीय संस्थाहरूले मर्जरबाट पुँजी वृद्धि गर्ने उल्लेख गरेका छन् । आगामी दुई वर्षमा १५ बैंकले मर्जर गर्ने उल्लेख गरेका छन् भने ३२ विकास बैंक र ११ फाइनान्स कम्पनी पनि मर्जरबाट पुँजी वृद्धि गर्ने पक्षमा उभिएका छन् ।

राष्ट्र बैंकले आगामी दुई वर्षभित्र बाणिज्य बैंकलाई आठ अर्ब, राष्ट्रियस्तरको विकास बैंकलाई दुई अर्ब ५० करोड र फाइनान्स कम्पनीलाई ८० करोड पुँजी पु¥याउन निर्देशन दिइसकेको छ । राष्ट्र बैंकको निर्देशनअनुसार अहिले बैंक तथा वित्तीय संस्थाहरू पुँजी बढाउका लागि मर्जरको विकल्पमा छलफल गर्न थालेका हुन् ।

चालु आर्थिक वर्ष एनबी बैंक, एभरेष्ट बैंक, लुम्बिनी बैंक, माछापुच्छ«े, कुमारी, सिद्धार्थ, प्राइम, सनराइज, ग्रान्ड, एनएमबी, प्रभु, जनता, मेगा, सिभिल र सेञ्चुरी बैंकले मर्जरबाट पुँजी बढाउने योजना प्रस्तुत गरेका छन् । यसमध्ये केही बैंकको मर्जर सफल भइसकेको छ भने केहीको प्रक्रियामा छ ।

बाणिज्य बैंकहरूमध्ये बैंक अफ काठमाण्डू र लुम्बिनी बैंकबीच कुराकानी भइरहेको छ । सिभिल बैंकले पनि आइएलएफसी फाइनान्ससँग कुराकानी गरिरहेको छ । सिटिजन्स् बैंक संस्था किन्ने पक्षमा छ भने मेगा बैंकले साना साना संस्थाहरूलाई मर्ज गर्ने योजना बनाएको छ । प्राइम बैंकले पनि क्षेत्रीयस्तरका विकास बैंकहरूसँग मर्जरको कुराकानी गरिरहेको छ भने सिद्धार्थ, सनराइज आफ्नो नाम नमेटिने गरी मर्जरमा जाने पक्षमा छन् ।

साना संस्थाहरू आफूजत्रै संस्थाहरूसँग मिलेर पुँजी वढाउने योजनामा छन् । महालक्ष्मी फाइनान्सले केही समयभित्रै तीन विकास बैंकलाई आफूसँग गाभ्ने योजना बनाएको छ । सानिमा बैंक आवश्यक परे क्षेत्रीयस्तरका संस्था गाभ्ने पक्षमा देखिएको छ । कुमारी बैंकले पार्टनर खोजिरहेको छ भने एभरेष्टले समानान्तर रूपमा तीन बैंकसँग कुराकानी गरिरहेको छ ।

नेपाल राष्ट्र बैंक एकै प्रकृतिका लगानीकर्ता भएका फरक संस्था मर्जरमा लैजान दवाव दिने पक्षमा छ । केही बैंकमा एकाघर परिवारको लगानी भएकाले राष्ट्र बैंक त्यस्ता संस्था गाभेर एउटै बनाउने पक्षमा छ, संस्थाहरू स्वस्फुर्त रूपमा मर्जरमा नगए मात्र केन्द्रीय बैंकले जवरजस्ती गर्ने छ ।

प्रतिक्रिया