पुनःनिर्माण विधेयक पारित

काठमाडौं, २३ मंसीर । व्यवस्थापिका–संसद्, विधायन समितिको बैठकले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको पुनःनिर्माणसम्बन्धी विधेयक संशोधनसहित पारित गरेको छ । कांग्रेस र एमालेका विवादका कारण सो विधेयक लामो समयदेखि विधायन समितिका रोकिएको थियो । समितिको बुधवार बसेको बैठकमा सहभागी सदस्यले सो विधेयक संशोधन वा यथावत रूपमा बुधबारैै पारित गर्न जोड दिएपछि सदस्य नवीन्द्रराज जोशीले पेस गरेको ‘दफा ३३ को खण्ड (घ) र (ङ) थप गरी क्रम मिलाउने र (ङ) मा सो अध्यादेशबमोजिम नेपाल सरकारले गरेका नियुक्ति यसै ऐनबमोजिम मानिनेछ’ भन्ने सुझावलाई समावेश गरेर पारित गरेको हो ।

समितिका सभापति गंगा चौधरीको सभापतित्वमा बसेको सो बैठकमा सदस्यहरू रामनारायण बिंडारी, प्रेमबहादुर सिंह, राधेश्याम अधिकारी, लक्ष्मणलाल कर्ण, रेवतीरमण भण्डारी, कर्णबहादुर थापालगायतले भूकम्पबाट प्रभावित जनताले ८ महिना पीडा भोगिसक्दापनि ऐनको अभावमा तिनलाई राहत तथा पुनःस्थापनाको कार्यगर्ने प्रयत्न नभएको चर्चा गर्दै अबपनि यो विधेयक रोकेर राखे जनताको श्राप लाग्ने बताएका थिए । कानुन तथा न्याय, संसदीय मामिला मन्त्री अग्नि खरेलले बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सबै सदस्यको विधेयकलाई पारित होस् भन्ने चाहना भएकाले प्राविधिक विषय मिलाइ विधेयक पारित गर्न आग्रह गरेका थिए ।

शुसिल कोइराला नेतृत्वको सरकारले अध्यादेश मार्फत पुनःनिर्माण प्राधिकरण गठन गरेपनि विधेयक संसद्मा पेश भई ऐन नबनेकाले प्राधिकरण गठन प्रकृया अन्यौलमा परेको थियो । वर्तमान सरकारले विधायन समितिमा पेश गरेको विधेयक थप अध्ययन् र छलफल गर्नु पर्ने भन्दै कांग्रेस सांसद्ले रोकेका थिए ।

सो समितिको बैठकले आजै मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेको विधेयक ०७१ को कार्यविधि र कार्यतालिका पनि पारित गरेको छ । सो विधेयकमा देवानी कानुनको संशोधन तथा एकीकरण, देवानी मुद्दाको कार्यविधिसम्बन्धी कानुन संशोधन तथा एकीकरण, फौजदारी कसुरसम्बन्धी प्रचलित कानुन संशोधन तथा एकीकरण, फौजदारी मुद्दाको कार्यविधिसम्बन्धी कानुन संशोधन तथा एकीकरण र फौजदारी कसुरमा सजाय निर्धारण तथा कार्यान्वयनसम्बन्धी व्यवस्था छन् ।

समन्वय समितिका संयोजक रामनारायण बिंडारीले सो विधेयकका सम्बन्धमा विज्ञको राय सुझावलाई एकीकृत गरी विशेषज्ञको रायसहित छलफल गरी व्यवस्थापिका–संसद्मा पेस गर्न कार्यतालिका प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया