नाकाबन्दी चाँडै हट्ने संकेत: थापा

maxresdefaultकाठमाडौं, २० मंसिर । व्यवस्थापिका–संसद् सामाजिक न्याय तथा मानवअधिकार समितिको बैठकमा उप प्रधान तथा परराष्ट्रमन्त्री कमल थापाले अघोषित नाकाबन्दी चाँडे हट्ने संकेत आफुले पाएको बताएका छन् । उप प्रधानमन्त्री थापाले सीमा नाकामा देखिएको अवरोध र अघोषित नाकाबन्दी यथाशीघ्र अन्त्य भएर पारवाहन र आपूर्ति व्यवस्थापनमा सहज हुने बताएका हुन् ।

भारतीय नेतासँग भएको पछिल्लो कुराकानीबाट उनले अब यो समस्या सामाधानतर्फ उन्मुख भएको आशा पलाएको बताएका छन् । उनले यद्यपि परिणाममा त्यो कुरा रुपान्तरण भएसम्म हामीले ढुक्क भएर बस्ने अवस्था छैन, निरन्तर सचेत रहनुपर्छ र यसको लागि कूटनीतिक प्रयासलाई निरन्तर रुपमा जारी राख्न सरकार सचेत रहनु पर्ने पनि उनको भनाइ छ । उनले मधेस केन्द्रित दलबाट भएको आन्दोलन र भारतबाट पारवहन तथा आपूर्तिमा भएको अघोषित नाकाबन्दीबाट नेपाली जनताले धेरै कष्टका साथै देशले आर्थिक र मानवीय संकट ब्यहोर्नु परिरहेको बताएका छन् । उनले वर्तमानमा देखएको समस्या समाधानका लागि राजनीतिक, आपूर्ति व्यवस्थापन र कूटनीतिक पक्षबाट मुख्य रुपमा पहलकदमी भइरहेको जानकारी दिएका छन् ।

उनले धेसकेन्द्रित राजनीतिक दलले सञ्चालन गरेको आन्दोलन मार्फत उठाएको मागलाई सम्बोधन गर्ने क्रममा सरकार, प्रमुख प्रतिपक्ष अन्य राजनीतिक दलबाट सघन प्रयास भइरहेको जनाउँदै उपप्रधानमन्त्री थापाले समस्या समाधानका लागि विभिन्न चरणमा औपचारिक र अनौपचारिक वार्ताका प्रयास प्रभावकारी रुपमा सम्पन्न भइसकेको बताए । वार्ताकै माध्यमबाट विवादित विषयमा साझा धरातल खोज्ने प्रयास भइरहेको बताएका छन् ।

सत्तारुढ दल र प्रतिपक्षले मधेसकेन्द्रित दलले उठाएका मागलाई सम्बोधन गर्न साझा प्रस्ताव तयार गर्नु आफैँमा ठूलो उपलब्धि हो भन्दै उपप्रधानमन्त्री थापाले साझा प्रस्तावले आन्दोलनरत दलको महत्वपूर्ण मागलाई सम्बोधन गरेको जिकिर गरे । उनले भने, ‘यद्यपि आन्दोलनरत दलले त्यस सम्बन्धमा सकारात्मक धारणा बनाइसकेका छैनन्, प्रस्तावले आगामी दिनमा एउटा राष्ट्रिय सहमति कायम गर्नका निमित्त योगदान पुर्याएको छ ।’ भारतीय पक्षबाट आवश्वासन दिइए अनुरुप सीमा नाकामा देखिएको अवरोध हटाउन आवश्यक पहल नभएकामा आफूहरुले भारतीय नेतासँग खुला र गहन रुपमा पछिल्लो पटक छलफल गरेको बताउँदै मन्त्री थापाले भने, ‘भारतीय पक्षबाट दिइएको आवश्वासन कार्यान्वयन नभएकामा तथ्यगत र प्रमाणगत आधारमा कुरा भएको छ, चाँडै समस्याको समाधान हुनेमा म निकै आशावादी भएको छु, मलाई विश्वास छ, अवरोध र नाकाबन्दी चाँडै अन्त्य हुने छ ।’

आपूर्तिमा देखिएको समस्या समाधानको विकल्प खोज्ने र व्यापारको विविधीकरण गर्ने नीतिअनुसार छिमेकी चीन लगायत मुलुकसँग कुराकानी भइरहेको बताउँदै उनले भारतीय आयल निगमसँग शतप्रतिशत निर्भरता रहनु राष्ट्रिय हित अनुकूलताको नीति होइन भन्ने सबैले महसुस गरेको बताए ।

अघोषित नाकाबन्दीको कष्टमा विश्व समुदायको साथ र सहयोग रहेको कूटनीतिक प्रयासको सफल परिणाम परिणाम हो भन्दै परराष्ट्रमन्त्री थापाले नेपालको संविधान समावेशी र समानुपातिक रहेको भनी विश्वले मुक्त कण्ठले प्रशंसा गर्दै हर्ष प्रकट गरेको बताए ।

प्रतिक्रिया