शेरबहादुर प्रतिष्ठान भलिबल शुरु

काठमाडौं, १५ मंसिर । शेरबहादुर खड्का स्मृति प्रतिष्ठान, बालकोटको आयोजनामा मंसिर १६ देखि १८ सम्म प्रथम राष्ट्रिय महिला भलिबल क्लब च्याम्पियनसिप हुने भएको छ ।

राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा नेपाल भलिबल संघको तत्वावधानमा सञ्चालन हुने प्रतियोगितामा नेपालका चर्चित टिम एपिएफ क्लब, न्यू डायमन्ड एकेडेमी, पश्मिाञ्चल भलिबल संघ, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र रहेका छन् । लिग कम नकाउटका आधारमा सञ्चालन हुने प्रतियोगितामा सहभागी टिमलाई २ समूहमा विभाजन गरिएको छ । न्युडायमन्ड, पश्मिाञ्चल र आर्मी ‘समूह क’ मा रहेको छ भने ‘समूह ख’ मा एपिएफ, पुलिस र जावलाखेल छन् ।

सेमिफाइनलमा ‘समूह क’ को विजेताले ‘ख’ को उपविजेताँसग खेल्नेछ भने ‘ख’ को विजेताले ‘क’ को उपविजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतियोगिताको विजयी टिमहरूका लागि नेपालको प्रतिष्ठित रेमिट कम्पनी आइएमइले सिल्ड, मेडल सौजन्य गरेको छ । प्रतियोगिताको विजेताले ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुनेले १५ हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद ३ हजारसहित उत्कृष्ट ट्रफ्री प्राप्त गर्नेछन् । त्यस्तै बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट ब्लकर, बेस्ट क्विइकर र बेस्ट सर्भरले पनि जनही १५ सय नगदसहित ट्रफ्री प्राप्त गर्नेछन् । प्रतियोगितामा नगद ८ लाख खर्च हुने अनुमान गरिएको छ । पश्चिमाञ्चलको टिमलाई खान–बस्न सुविधावापत ५० हजार उपलब्ध गराइनेछ ।

प्रतियोगिताले आउँदै गरेको दक्षिण एसियाली खेलकुद सागमा खेलाडी छनोटमा पनि सहयोग गर्ने आयोजक शेरबहादुर प्रतिष्ठानका अध्यक्ष रञ्जन खडकाले बताए । प्रतियोगितालाई हरेक वर्ष गर्ने लक्ष्य भएको अध्यक्ष खड्काले मंगलबार पत्रकारलाई जानकारी गराए ।

यसैगरी नेपाल भलिबल संघका उपाध्यक्ष एवं महासचिव जितेन्द्रबहादुर चन्दले प्रतियोगिताले साग भलिबलाई सहयोग गर्ने बताए । नेपालको भलिबल विकासमा निजी क्षेत्रले उत्कृष्ठ योगदान गरेकोले प्रतिष्ठानले उत्कृष्ट प्रतियोगिताको सुरुआत भएकोे बताए । पत्रकार सम्मेलनमा नेपाल भलिबल संघकी कोषाध्यक्ष निरोज मास्के, सदस्य सुनकेशरी माली, जावलाखेल भलिबल क्लबका अध्यक्ष माधव खडका तथा भलिबलका प्रमुख प्रशिक्षक सुदेश रिमाललगायतको उपस्थिति रहेको थियो । उद्घाटन खेल न्यू डायमन्ड र पश्चिमाञ्चलले प्रतिस्पर्धा गर्नेछन् ।

शनिबारबाट ढोरपाटन भलिबल

ढोरपाटन ब्लु स्काई कप टिभिएस वोमन भलिवल डबल लिग च्याम्पियन्सको ११औँ संस्करण आगामी शनिबारबाट सुरु हुँदै छ । काठमाडौंको नयाँ बसपार्कमा २ सातासम्म चल्ने प्रतियोगितामा १३ टिमको सहभागिता रहनेछ । सर्वाधिक पुरुस्कार राशिको महिला भलिबल प्रतियोगिताको विजेताले २ लाख ६० हजार रुपैयाँ, उपविजेताले १ लाख ३० हजार रुपैयाँ र तेस्रो हुने टिमले ७० हजार रुपैयाँ प्राप्त गर्नेछ ।

प्रतियोगिताका ४ विधाका उत्कृष्ट खेलाडीले टिभिएस स्कुटर प्राप्त गर्नेछन् । प्रतियोगितामा साविक विजेता एपिएफ, उपविजेता न्यू डायमन्ड, नेपाल आर्मी, नेपाल पुलिस, एभरेस्ट उच्च मावि, श्री जानकी उच्च मावि, विन्ध्यवासिनी उच्च मावि, चण्डेश्वरी युवा क्लब, एन्जल हर्ट स्कुल सहभागी हुनेछन् । यस्तै, विजयश्वरी ज्ञान मन्दिर, धादिङ कलाकार संघ, अरनिको सांस्कृतिक परिवार र पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ पनि सहभागी हुनेछन् । प्रतियोगिताका लागि ३५ लाख रुपैयाँ खर्च हुने आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले बताए । कार्यक्रममा आयोजकका उपाध्यक्ष किरण घायलले स्वगत मन्तव्य राखेका थिए ।

यस्तै, आज एक कार्यक्रमको आयोजना गरी जगदम्बा मोटर्सका एसिस्टेन्ट जेनेरल म्यानेजर करण शाक्यले आयोजक क्लबलाई ४ वटा टिभिएस स्कुटीको चाबी प्रदान गरेका थिए ।

प्रतिक्रिया