एक मन्दिर परिसरमा दुई धर्म

काठमाडौं, १३ मंसिर । काठमाडौंको गोंगबु आवास क्षेत्रमा रहेको कार्यविनायक मन्दिर परिसरमा २ फरक धर्मावलम्बीले एकसाथ पूजा पाठ गर्दै आएका छन् । नयाँ संविधानमा समावेशी सहभागितामूलक प्रतिनिधित्वको कुरा भर्खर आए पनि यहाँ भने धेरै पहिलेदेखि नै हिन्दू र बौद्ध धर्मावलम्बीले सहभागितामूलक तरिकाले पूजाआजा गर्दै आएका हुन् । गोंगबु आवास क्षेत्रको १ रोपनी ८ आना क्षेत्रफलमा रहेको उक्त मन्दिर परिसरमा हिन्दूधर्मावलम्बीका लागि गणेश मन्दिर र बुद्ध धर्मावलम्बीका लागि गुम्बा स्थापना गरिएको छ । स्थानीय समाजसेवी महेश्वरकुमार श्रेष्ठको अगुवाइमा स्थापना भएको मन्दिरमा हिन्दू धर्मका गणेश, शिव, पार्वती, सरस्वती, लक्ष्मी, हरिमाता, महाँकाल, राम, सीता, लक्ष्मण, हनुमानलगायतको प्रतिमा स्थापना गरिएको छ । यस्तै नारायणस्थानमा रहेको बूढानीलकण्ठ भगवान्को प्रतिमासमेत यहाँ राखिएका छन् ।

यस्तै सोही मन्दिर परिसरमै ‘पल्थेक छोक उइक्यान छोइकी घचल’ नामक गुम्बा रहेको छ । सो गुम्बामा गौतम बुद्धको प्रतिमा, उनका विभिन्न रूप (मञ्जुश्री, महाकाल, गुरु पद्य, लोकेश्वर) र माने राखिएका छन् । सो मन्दिर व्यवस्थापन समितिले छुट्टाछुट्टै धर्मको पूजाका लागि छुट्टाछुट्टै पुजारी तोकेको छ । हिन्दू धर्मावलम्बीको पूजाआजाका लागि आचार्य तुलसीराम पोखरेल र बौद्ध गुम्बाको पुजारीका लागि बुद्ध लोप्साङ रहेका छन् ।

धार्मिक गुरुहरूले आफ्नो धर्मअनुसार पूजापाठ गराउँदै आएको उक्त मन्दिरका पुजारी पोखरेलले निरन्तर १४ वर्षदेखि र लोप्साङले १० वर्षदेखि निरन्तर सो मन्दिरमा पूजा गर्दै आएको बताए । मन्दिरमा दैनिक २ सयभन्दा बढी भक्तजनले दर्शन गर्ने गरेको मन्दिरका मूल पुजारी पोखरेलले जानकारी दिएका छन् । उक्त मन्दिरमा उठेको चन्दाबाट त्यहाँको सरसफाइ, मर्मतसम्भार गर्दै आएको उनले बताए । यस्तै गुम्बामा उठेको रकम गुम्बाको मर्मतसम्भार र नित्य पूजामा खर्च गरिएको लोप्साङको भनाइ रहेको छ ।

कार्यविनायक मन्दिरमा हरेक वर्षको माघ महिनामा हिन्दू देवता गणेशको रथयात्रा गर्ने गरिएको छ । गणेशको रथयात्राका दिनमा गोंगबु आवास क्षेत्रभर गणेशको मूर्ति लिएर परिक्रमा गर्ने र मन्दिरमा ल्याउने प्रचलन छ । सो दिनमा गोंगबु आवास क्षेत्रका सबै घरपरिवारले गणेशको पूजा गर्ने गर्छन् ।

प्रतिक्रिया