रमेशलाई सूर्य नेपाल च्यालेन्ज गल्फ उपाधि

golf_rameshकाठमाडौं, ११ मंसिर । रमेश अधिकारीले सूर्य नेपाल च्यालेन्ज गल्फ २०१५ को उपाधि शुक्रबार हात पारे । सूर्य नेपाल गल्फ क्लबमा भएको पार ६७ को खेलमा व्यावसायिक खेलाडी शिवराम श्रेष्ठलाई प्लेअफको सडन डेथमा पराजित गर्दै रमेशल उपाधि हात पारे । रमेश र शिवरामबीच ७२ होलको खेलमा टाई भएको थियो । ७२ होलको समाप्तीमा दुवैले समान ३ अन्डर २ सय ६५ स्कोर जोडेका थिए । खेलबराबरी भएसँगै अतिरिक्त पहिलो होलको खेलमा शिवरामले बोगी गर्दा रमेशले बर्डी प्रहार गर्दै कारियरको तेस्रो ठूला उपाधि हात पारे । यसअघि उनले आफ्नो खेल करियरमा घनश्याम ओपन र सूर्य नेपाल म्याच प्लेको उपाधि हात पारिसकेका छन् ।

सूर्य नेपाल गल्फ टुर २०१५–१६ को अन्तिम दिनको खेलमा रमेशले इभन पार ६७ र शिवरामले दुई अन्डर ६५ स्कोर कार्ड बनाएका थिए । अन्तिम होलमा शिवरामले उपाधि जित्ने अवसर गुमाए । शिवरामले पार ५ को १३ होलमा २ सट खेर फाल्नु नै हारको कारण बनेको बताए । रमेशले दिनको खराब सुरुआत गर्दै पहिलो होलमा बोगी गरे । इभन पार ३३ मा उनले चौथो र आठौँ होलमा बर्डीज गरे । तर, पुनः रमेशले नवौँ होलमा बोगी खेपे । इभन पार ३४ को ब्याक नाइनमा रमेशले ३ बर्डिज गरे । उनले १०, १३ र १४औँ होलमा बर्डिज गरेका थिए ।

उत्कृष्ट प्र्रो शिवरामले फ्रन्ट नाइनमा ४ अन्डर २९ को स्कोर कार्ड बनाएका थिए । जसमा उनले चौथो होलमा इगल गरे भने पाँचौँ, आठौँ र नवौँ होलमा बर्डिज गरे । उनले छैठौँ होलमा बोगी गरे । शिवरामले १३औँ होलबाहेक सबै होलमा पार जोगाउँदा २ सट खेर फाले । विजेता रमेशले ७० हजार नगद पुरस्कारका साथै ट्रफी हात पारे । उपविजेतामा चित्त बुझाएका शिवरामले ४४ हजार नगद हात पारे ।

गोकर्णका भूवन नगरकोटीले तेस्रोस्थान हात पार्दा कुल एक अन्डर २ सय ६७ स्कोर जोडे । अन्तिम दिनमा नगरकोटीले २ अन्डर ६५ को कार्ड बनाए । उनले ३२ हजार नगद पुरस्कार हात पारे । भेट्रान प्रो. दीपक मगर(६७)ले इभन पार २ सय ६८ स्कोर गर्दै चौथो स्थानमा रहँदा २७ हजार हात पारे । अन्तिम दिन डिफेन्डिङ च्याम्पियन रबि खड्का(६८), रामे मगर(६६) र जयराम श्रेष्ठ(६५) गर्दै कुल २ ओभर २ सय ७० का साथ पाँचौँ स्थानमा रहे । सबैले समान २१ हजार नगद पुरस्कार जिते । अर्का ५ प्रो.धन बहादुर थापा(६९), सबिन सापकोटा(६८), रमेश नगरकोटी(६८), यलम्बर सिंह अधिकारी(६६) र दिनेश प्रजापति (६४) का साथ कूल ६ ओभर २ सय ७४ जोड्दै समान रूपमा आठौँ स्थानमा रहे ।

एमेच्योरतर्फका खेलाडी टंकबहादुर कार्कीले प्रतियोगिताकै उत्कृष्ट स्कोर कार्ड बनाउँदै ४ अन्डर ६३ गरे । एमेच्यारतर्फका विजेता समेत रहेका टकंले कूल ८ ओभर २ सय ७६ स्कोर गरे । नेपाल प्रोफेसनल गल्फर एसोसियसन (एनपिजिए)को आयोजना तथा सूर्य नेपाल प्रालिको प्रायोजनामा भएको प्रतियोगितामा २९ प्रो र ७ एमेच्योर गरी कुल ३६ खेलाडीले सहभागिता जनाएका थिए । प्रतियोगिताका विजेता खेलाडीलाई एनपिजिएका अध्यक्ष रबिन्द्रमान श्रेष्ठ, सूर्य नेपालका मार्केटिङ म्यानेजर बाल किसन गुरुङ र एनपिजिएका सल्लाहकार घनश्याम थापाले पुरस्कृत गरे ।

प्रतिक्रिया