रेल स्टेसनमै बिते टाल्सटाय

leo_tolstoy‘वार एन्ड पिस’ तथा ‘अन्ना केरिनिना’ दुई उपन्यासको कारण चर्चित लियो टाल्सटाय रुसी उपन्यास क्षेत्रका इतिहासकै रूपमा लिइन्छ । यथार्थपरक लेखकको रूपमा चिनिने टाल्सटाय २० को उमेरमा आत्मवृतान्त लेख्दै साहित्यिक क्षेत्रमा प्रवेश गरेका थिए । क्रिमिनिन युद्धको अनुभव समेट्दै उनले ‘चाइल्डहुड ब्वायहुड’ र ‘युथ’ लेखेका थिए । त्यसपछि उनले ‘सेभात्पोलो स्केच’ लेखेर चर्चा बटुले । थुप्रै कथा लेखेका टाल्सटायले ‘डेथ अफ इभान इच’, ‘फेमेली ह्यापिनेस’ र ‘हाड्जी मुराड’जस्ता लोकप्रिय उपन्यास पनि लेखे । उनका थुप्रै नाटक र दर्शनसम्बन्धी निबन्ध पनि चर्चामा रहे ।
तुलाको १२ किलोमिटर दक्षिण पश्चिममा टाल्सटायको जन्म सन् १८२८ मा भएको हो । उनले सानैमा अभिभावक गुमाएका थिए । आफन्तले हुर्काउने र बढाउने काम गरेका टाल्सटायले सन् १८४४ देखि काजान विश्वविद्यालयमा कानुन र ओरियन्टल भाषा पढ्न थालेका हुन् । सन् १८६० मा युरोप भ्रमण गर्दा उनले भिक्टर ह्युगोलाई भेटे । यहीबाट उनले राजनीतिक र साहित्यिक विकास गरे । उनीसँगै अलेक्जेन्डर हेर्जन, मिखाइल बाकुनिन र क्रिपर कोपोट्किन एउटै पथमा अघि बढी रहे । ह्युगोबाट प्रभावित उनले लेखेको उपन्यास ‘वार एन्ड पिस’ चर्चाको शिखरमा रह्यो ।
पियरे जोसे प्रोढुनसँगको संगतले उनमा राजनीतिक चेतनाको पनि अधिक विकास भयो । उनी यसैबाट प्रभावित भए । युरोपबाट फर्केपछि टाल्सटायले असहाय बालबालिकाका लागि १३ विद्यालय स्थापना गरे । उनले विद्यालयका प्रिन्सिपलहरूमा केन्द्रित रहँदै ‘निबन्ध द स्कुल अफ यासाना पोलायाना’ लेखे ।
टाल्सटायको निधन ८२ वर्षको उमेरमा सन् १९१० मा भयो । जिन्दगीको अन्त्यमा निरास हँुदै श्रीमतीलाई छाडेर जाडो महिनामा निस्केका उनको त्यही रात निधन भएको थियो । निमोनियाले ग्रस्त भएपछि अपोटोभोको रेल स्टेसनमा उनको निधन भएको हो । उनको संस्मरणमा सन् २००९ मा चलचित्र ‘द लास्ट स्टेसन’ निर्माण भयो । जे पारिनीले लेखेको उपन्यासमा माइकल होफम्यानले यो चलचित्रमा निर्देशन गरेका थिए । क्रिस्टोफर प्लमरले लियो टाल्सटाय र सोफिया टाल्सटायको अभिनय गर्ने हेलेन मिर दुवै अस्कर अवार्डको मनोनयनमा परे । यसअघि उनको निधन भएको दुई वर्षपछि नै चलचित्र ‘डिपार्चर अफ वल्ड म्यान’ तयार भएको थियो ।

प्रतिक्रिया