इन्धन अभावले सडक निर्माण अधुरै

काठमाडौं, १० मंसिर । भारतीय नाकाबन्दीका कारण इन्धन अभाव हुँदा चालु आव २०७२÷७३ भित्र सम्पन्न गर्नुपर्ने ठूला तथा साना सडकको निर्माण कार्य अधुरै रहेको छ ।

डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गत रहेका ठूला तथा साना गरी करिब २ सय सडकको निर्माण तथा स्तर वृद्धिको काम ठप्प भएको छ । डिभिजन सडक कार्यालयका प्रमुख वरिष्ठ इन्जिनियर देवेन्द्र शाहले इन्धन नहुँदा सडक विस्तार गर्नेदेखि कालोपत्रे गर्ने कामसमेत ठप्प भएको बताए ।

काठमाडाँै सहरी सडक विस्तार कार्यक्रमअन्तर्गत जिल्लाका ठूला सडकको निर्माणकार्य रोकिएको उनले बताए । सूर्यविनायकस्थित पाण्डुबजार हँुदै गुण्डुसम्मको सडकको नाली, ड्रेन निर्माण भए पनि कालोपत्रे गर्ने कार्य भने रोकिएको छ । इन्धन नहुँदा लोकन्थलीबाट एसओएस जाने सडक र अरनिको राजमार्गबाट बप्पा हँुदै थिमि नगरपालिका जाने सडक कालोपत्रे गर्ने कार्य रोकिएको छ ।

त्यस्तै लोकन्थलीबाट हेल्थपोष्ट हुँदै सानोठिमी जाने सडक, चारदोबाटोबाट बालकोट जाने सडक र भक्तपुर नगरपालिका ब्यासीबाट झौखेल जाने सडक पक्की गर्ने काम अलपत्र परेको छ । एक निर्वाचन क्षेत्र एक सडक योजनाअन्तर्गत भक्तपुर निर्वाचन क्षेत्र नं १ अन्तर्गतको रु पाँच करोडको लगानीमा निर्माण सुरु भएको थिमिको बोडे गाकुहँुदै नगरकोट जाने सडक निर्माणकार्य अलपत्र छ ।

कार्यालयका प्रमुख शाह भन्छन्, ‘यो सडकको रु ४० लाखको काम सम्पन्न भएको छ, अरू सबै काम ठप्प छ, इन्धन अभाव नभएको भए काम छिटो सकिन्थ्यो अब गाह्रो हुन्छ ।’

त्यसैगरी निर्वाचन क्षेत्र नं २ अन्तर्गत मध्यपुरथिमीबाट दधिकोट जाने सडक निर्माणकार्य इन्धन अभावकै कारण काम सुरु गर्न सकेको छैन । रु पाँच करोडको लागतको उक्त सडक निर्माणकार्य इन्धन अभावकै कारण सुरु हुन सकेको छैन । त्यसैगरी जिल्लाको धार्मिकस्थल जाने सडक निर्माणअन्तर्गत रहेको सिपाडोलको डोलेश्वर जाने सडक र छालिङस्थित पञ्चमहालक्ष्मी मन्दिर जाने सडक कालोपत्रे गर्ने काम, सिपाडोलकै पाइलट बाबा आश्रम जाने सडकखण्ड ढलान गर्ने काम अलपत्र परेको छ ।

डोलेश्वर जाने सडक र पाइलट बाबा आश्रम जाने सडक रु दुई÷दुई करोड र पञ्चमहालक्ष्मी मन्दिर जाने सडक रु चार करोडको लागतमा कालोपत्रे गर्ने काम अलपत्र परेको छ । ‘इन्धन नहुँदा अधिकांश सडकको कालोपत्रे गर्ने काम ठप्प भएको छ, चिसोमा अब कालोपत्रे गर्ने काम गर्न मिल्दैन, इन्धन सहज भयो भने माघ, फागुनबाट मात्रै कालोपत्रे गर्ने काम गर्न सकिन्छ’ वरिष्ठ इन्जिनियर शाहले भने ।

डिभिजन सडक कार्यालय भक्तपुरअन्तर्गतकै लाँकुरीभञ्जाङबाट पनौती हुँदै नमोबुद्ध जाने रु १० करोड लागतको आठ किलो मिटर सडकको नाली निर्माण, पर्खाल लगाउने र कालोपत्रे गर्ने काम सुरु हुन सकेको छैन । बनेपा–पनौती छ किलोमिटर दुई लेनको सडक कालोपत्रे गर्ने कार्य र रु चार करोडको लागतमा निर्माण हुन लागेको दोलालघाट– गुराँसे तीन किलोमिटर सडकसमेत अलपत्र
रहेको छ ।

गत वैशाखको भूकम्पले सडक निर्माणमा दुई महिना तथा अहिले इन्धन अभावले सडक निर्माणमा समस्या पारेको छ । निर्माण सुरु गर्न लागेका सडकको आवश्यक सबै प्रक्रिया पूरा गरिसकेकाले इन्धन सहज भएमा तत्कालै काम सुरु गरेर चालु आवभित्रै निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालयका प्रमुख शाहले बताए ।

प्रतिक्रिया