‘तराईको मात्रै प्रदेश अस्वीकार्य’

kp_oli_copy1काठमाडौं ९ मंसिर, । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई र पहाडलाई अलग गरेर प्रदेशहरु बनाउनुपर्ने माग स्वीकार गर्न नसकिने जताएका छन् । उनले भने ‘तर, जायज मागहरु पूरा गर्न सरकार तयार छ ।’ मोहन बैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीको ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले देशको सार्वभौमसत्तालाई सबैले सम्मान गर्नुपर्नेमा जोड दिएका थिए ।

तराई– मधेस र थरुटहमा आन्दोलनरत् जनताको जायग माग पूरा गर्नुपर्ने बैद्य माओवादीको माग पढ्दै प्रधानमन्त्री ओलीले बैद्यतिर हेर्दै भने, ‘एउटा कुरा भनौं, जायज मागमा छलफल गर्न तयार छौं । यहाँहरुसँग पनि छलफल गर्न कुनै आपत्ति छैन ।’

जनताका हितका निम्ति हुन्छ भने त्यस्ता मागहरुलाई सम्बोधन गर्ने उनको भनाई थियो । ओलीले भने, ‘तर, भ्रमहरुको सम्बोधन त स्पष्ट पारेर मात्र गर्न सकिन्छ । कतिपय मागहरु भ्रमपूर्ण छन, जस्तो ः तराईका जनतालाई संविधानले ठगेको छ ।’

प्रधानमन्त्री ओलीले पहाड र तराईलाई छुट्याउनुपर्ने माग गलत आशयबाट आएको बताए । ओलीले भने, ‘पहाड र तराईलाई खर्लप्प छुट्याएर विकासको सम्भावनामा तगारो नहाली नहुने कारणले के ? मैले त्यो चाँहि बुझेको छैन ।’

सीमांकनसम्वन्धी प्रश्नलाई अध्ययनका आधारमा आयोग बनाएर गरौं भन्दा हल्लाखल्ला भएको भन्दै उनले यो जे गरे पनि विवादास्पद नै हुने बताए । आफू कुनै आवेश र उत्तेजनामा नभएको भन्दै ओलीले भने, ‘अध्ययन गर्न पाइँदैन, मेरो भनाइअनुसार हुनुपर्छ भन्ने कुरा म बुझ्दिँन ।’

बैद्य माओवादीले आन्दोलनरत दलहरुको जायज माग पूरा गर्नुपर्ने, नेपाल भारतबीचको १९५० को सन्धि, गोर्खा भर्ती केन्द्र, व्यापार–पारवहन लगायतका असमान सन्धि सम्झौताहरु खारेज गर्नुपर्ने माग राखेको छ ।

यसैवीच प्रधानमन्त्री ओली सीमांकन सम्वन्धी समस्या सुल्झाउन राजनीतिक समिति बनाउन तयार भएको बताइएको छ । बुधवार दुई पटक एमाओवादी अध्यक्ष प्रचण्डसंग भेटवार्ता गरेका ओली पछिल्लो समय अध्यक्ष दाहालको प्रूतावमा सहमत भएको श्रोतले बताएको छ । मंगलवार मधेसी मोर्चाका नेतासंग तीन घंटा लामो कुराकानी गरेका एमाओवादी अध्यक्ष दाहालले बुधवार ओलीसंग पटक –पटक भेट गरेका हुन ।

ओली राजनीतिक समिति बनाउन सहमत भए पनि मधेसी मोर्चाले सो नमान्ने बताउँदै आएको छ । उसले ‘उधारो होइन नगदमा’ भन्दै सीमांकन तत्काल हुनु पर्ने बताउँदै आएको छ ।

प्रतिक्रिया