तीन अस्पताललाई औषधि दिइयो

काठमाडौं, ९ मंसिर । स्वास्थ्य मन्त्रालयले उपत्यकाका तीन अस्पताललार्ई आवश्यक औषधि वितरण गरेको छ । केन्द्रीय अस्पतालले बुझाएका आवश्यक औषधिको सूचीअनुसार ती अस्पताललाई औषधि वितरण गरिएको औषधि व्यवस्था विभागका महानिर्देशक तथा औषधि सहज बनाउन गठित कार्यदलका संयोजक बालकृष्ण खकुरेलले जानकारी दिए ।

उनले भने,‘दातृ निकाय, नाकाबाट आएका औषधि तथा विभिन्न संस्थाबाट प्राप्त औषधि डा. भगवान कोइराला संयोजक रहनु भएको समितिमार्फत वितरण गरिएको हो ।’ संयोजक खकुरेलले बुधवार पनि सुनौली नाकाबाट औषधि भित्रिएको जानकारी दिए । औषधि वितरण गर्न बनाइएको समितिका संयोजक डा. भगवान कोइरालाले बुधवार पुलिस अस्पताल, मनमोहन मेमोरियल अस्पताललगायत तीन अस्पताललाई औषधि वितरण गरिएको जानकारी दिए ।

संयोजक डा. कोइरालाले भने, ‘प्रथम चरणको औषधि वितरण गर्ने कार्य सुरु गरिसकेका छौँ, अब दुईचार दिनमा बाँकी औषधि आउने क्रम जारी छ अब औषधिको समस्या समाधान हुन्छ ।’ अन्य अस्पतालको सूची आउने क्रम जारी रहेको र सूची आएपछि अन्य अस्पताललाई पनि औषधि वितरण गरिने उनको भनाइ छ ।

तर, औषधिको आवश्यक भएको वीर अस्पतालले सूची बुझाइसकेको भए पनि औषधि नपाएको जनाएको छ । वीर अस्पतालका निर्देशक डा. स्वयम्प्रकाश पण्डितले आफूहरूले आवश्यक औषधिको सूची बुझाइसकेको भए पनि औषधि प्राप्त नगरेको बताए । ‘औषधिको लिस्ट बुझाएका छौँ, प्रक्रिया मिलाउँदै छौँ भन्ने जवाफ आएको छ’ उनले भने ।

सिभिल अस्पतलालका निर्देशक डा. विनयकुमार थापाले भने मन्त्रालयले दिने पहिलो चरणको औषधि आफूहरूसँग मौज्दात रहेकाले अरू नभएका अस्पताललाई दिन जवाफ दिएको बताए ।

प्रतिक्रिया