दाउराको अभाव हुन नदिन मन्त्रालयको निर्देशन

anchoringकाठमाडौ, ८ मंसिर । वन मन्त्रालयले काठमाडौंमा बिक्री भइरहेको दाउराको अभाव हुन नदिन निर्देशन दिएको छ । द टिम्बर कर्पोरेसन नेपाल लिमिटेडका महाप्रबन्धक बीरेन्द्र कुमार यादवका अनुसार कम्पनीले उपत्यकामा बिक्रीकोे लागि भनी तराईको जिल्लाबाट ४ लाख किलो दाउरा ल्याएको छ । ४ लाख किलो मध्ये १ सातामा २ लाख ५० हजार दाउरा विक्री गरिसकेको र अब १ लाख ५० हजार किलो स्टकमा रहेको यादबले जानकारी दिए । बिक्रीका लागि कुनै पनि समयमा अभाव हुन नदिन बाहिरबाट ल्याउने तयारी गरिरहेको उनले बताए ।

दाउरा किन्नका लागि उपभोक्ताले अब भने नागरिकता  अनिवार्य रुपमा बोक्नु नपर्ने भएको छ । पहिलो दिन जसरी उपभोक्ताका लागि दाउरा किन्न नागरिकता अनिवार्य गरिएको थियो, अब भने उपभोक्ताले दाउरा किन्न आउँदा नेपाली नागरिकता अनिवार्य रुपमा ल्याउन पर्ने छैन ।  नागरिकता ल्याउन नपरे पनि उपभोक्ताले टोकन भने अनिवार्य रुपमा लिई कम्पनीको नियम अनुसार फारम भर्नुपर्ने उनले जानकारी दिए ।

भारतको नाकाबन्दीका कारण उपत्यकामा एलपी ग्यास र मट्टितेलको अभाव भएलगत्तै वन मन्त्रालयको निर्देशनमा दाउराको बिक्री भइरहेको छ । कम्पनीले  सर्वसाधारण जनाताको चुल्लो बन्द नहोस् भने उद्देश्यले कात्तिक २९ गतेबाट दाउरा बिक्री गरिरहेको र यसको निरन्तरता रहिरहने उनले बताए ।

वनमन्त्रालयकै निर्देशनमा उपत्यकामा वनकाली पशुपति, बालकुमारी ललितपुरबाट दैनिक १ सय देखि १ सय ५० जनालाई दाउरा बिक्री भइरहेको छ । दैनिक विक्री गरिने दाउराको लागि उपभोक्ताले अघिलो दिन लाइनमा बसेर कुपन लिनपर्ने उनले बताए । यसरी लिएको मोटा दाउराका लागि कम्पनीले निःशूल्क  घरेलु हातहतियारले चिर्न सक्ने बनाइदिएको यादबले बताए ।

अहिलेसम्म दाउरा बिक्री स्थलबाट प्रायः सबैले व्यक्तिगत रुपमा नै बढी बिक्री भएको यादबले जानकारी दिए । उनका अनुसार बिक्री डिपोबाट अहिलेसम्म सरदर २४ सय ६५ व्यक्तिले प्रतिकिलो १५ रुपियाँका दरले २ लाख ४६ हजार ५ सय किलो दाउरा लिएको यादवले जानकारी दिए ।

साथै संस्थागत रुपमा भने अति नै थोरै सरदर ७ संस्थाले मात्र प्रतिकिलो १७ रुपियाँको दरले ३५ सय किलो दाउरा लिएको यादवले बताए । कम्पनीले अहिलेसम्म व्यक्तिगत रुपबाट दाउरा किन्ने उपभोक्ताबाट ३६ लाख ९७ हजार ५ सय रुपियाँ र संस्थागत रुपमा दाउरा किनेहरुबाट ५९ हजार ५ सय रुपियाँ संकल्न भएको जानकारी यादबले दिए ।

यादवका अनुसार अबको दिनमा पनि सर्वसाधरणले सहज रुपमा दाउरा पाउन् भन्ने उद्देश्यका साथ प्रत्येक वडा कार्यलयसँग छलफल गरेर वडाबाटै बिक्रीको प्रबन्ध मिलाउने तयारी रहेको यादवले जानकारी दिए । पहिलो दिनको तुलनामा माग भने न्यून हुँदै गएको र फेरी केही समयपछि यसको माग बढ्ने उनले बताए । अहिले उपभोक्ताले किनेको दाउरा प्रयोग गरी रहेकाले मागमा कमी आएको उनले जानकारी दिए ।

पछिल्लो समय घरयासी प्रयोजनका लागि बिक्री गरिएको दाउरा अन्य प्रयोजनमा प्रयोग भएको नभएको पनि सम्बन्धित निकायले अनुगमन गरिरहेको पनि यादव बताउछन् । ‘यदी कोही कसैले यसरी बिक्री भएको दाउरा घरायसी प्रयोजनबाहेक अन्य प्रयोजनमा बिक्रि  गरेको पाइएका कडा कारवाही गरिने छ  ’ उनले भने ।

यादवले घरयासी प्रयोजनका लागि बिक्री गरिएको दाउरा अन्य प्रयोजनमा समेत प्रयोग नगर्न सबैमा आग्रह गरेका छन । दाउरा वितरणको नियमित अनुगमनको कार्यमा सम्बन्धित निकायहरुको सहयोग पनि कम्पनीले मागेको छ ।

प्रतिक्रिया