आँसुबाट आगो बनेका कविताहरू

chandra ranohoxaईश्वरको खेती हुन्छ तर, ईश्वर श्रम गर्दैनन् । उसको खेतीमा श्रम गर्ने त मानिस हुन्छ । मानिसले आफ्ना पसिना, रगत र आँसुद्वारा सिंचेको खेतीको मालिक ईश्वर नै हो भन्ने प्रमाण, मानिसहरूले कठोर परिश्रम गरेर फलाएको बाली आफूले चाख्नुअघि ईश्वरलाई चढाउनु नै हो ।

यसरी प्रथमचोटि मानिसको श्रम चाख्ने यीनै ईश्वरले फेरि किन मानिसकै थाप्लोमाथि बोझ बनेर सृष्टिदेखि नै थिचिरहेछ ? जुन बोझका कारण मानिसहरू स्वतन्त्र रुपले आफ्नै पसिना पुछ्न र निर्धक्क स्वास फेर्नसम्म पाइरहेका छैनन् । हृदय खोलेर गाउने, बोल्ने त कुरै छाडौं खुलेर रुनसम्म सकिरहेका छैनन् । मानिसको, गीत, गति र संवेदनामाथी किला ठोक्ने अधिकार कहाँबाट मिल्यो ईश्वरलाई ? आखिर कहिलेसम्म चलिरहन्छ मानिसमाथी यो ईश्वरीय दमनको सिलसिला ? के यो विभेदीय प्यारेग्राफमा पूर्णविराम कहीँ छैन ? के ईश्वरलाई मानिसले नपुज्न सक्दैनन् ? के अब आइन्दा ईश्वरलाई श्रममा लगाएर मानिसले उसको श्रमको उपभोग गर्न सक्दैन ? के हामीलाई मान्न बाध्ये पारिएका विपत, स्वार्थ, विश्वास या सपनाको ईश्वर अब पनि नभत्किरहन सक्छ ? निःसन्देह भत्किनेछ अब ईश्वर । किनकी पीडाको रंग निख्रिएपछि आगो बन्छ आँसु । आज तीनै आँसुबाट बनेको आगोलाई कविताको अगेनामा जगाउन उभिएका छन् हाम्रा सामु कवि जीवित खड्का मगर ।

उहिले–उहिले
नित्सेहरूले संसारमा ईश्वर मरेको घोषणा गर्दा
हामीले बुझेनौँ,
निरन्तर ईश्वरमा आस्था राख्यौँ
र, पटक–पटक धोका खायौँ !
अहिले–अहिले
ईश्वर मरेको स्वदेशमा बाँचिरहँदा
हामीले बाँचेको अनुभूति अनुभूति गरेका छै नौँ ।
(ईश्वरको खेती)

chandra bookकवि जीवितले जगाइरहेको आगो विचार, प्रतिशोध, सपना, स्वाभिमान र भोकको हो । कवि जीवित खड्का मगर ईश्वरहरूबाट मानिसहरू उपरको चरम विभेदद्वारा सृजित कुसंस्कारहरू खारेज गर्न सशस्त्र उपस्थित छन् यसबेला कविताकृति ‘ईश्वरको खेती’मा । म भन्न सक्छु, आजको काव्यसमरमा यस चमकदार कविताकृतिसहित कवि जीवित यस कारण पनि सुरक्षित छन् कि उनीसित सबैभन्दा भरपर्दो वैचारिक हतियार छ । जुन हतियारमा उनले मिहिनेतसाथ पाइन लगाएका छन् मौलिकता, शैली, शिल्प, ताजा विम्ब, प्रतिक या नवसौन्दर्यको । जहाँबाट उनको साँस्कृतिक जीवन उठेको छ, त्यहीँबाट उठेको छ उनको कविता । साँस्कृतिक चेत र मिथकीय सुवास लेपन भएका उनका कविताको आशय हो– नियतबस निर्मम मेटाइएको आफ्नो अनुहार र इतिहासको पुनर्लेखन गर्नु । षड्यन्त्रपूर्वक शिरछेदन गरिएको आफ्नो पहिचान र आवाजमा पुनर्जीवन दिनु अर्थात् प्राण भर्नु । हराएका आफ्ना लय र पदचापहरूको मिहीन खोजी गर्नु उनका कविताहरूबाट रिफ्लेक्सन भएर हामीसम्म आइपुगेका ती गहिरा कथाहरूमा हाम्रा आफ्नै पनि घाउहरू यत्रतत्र छन् भने तिनलाई बिसेक पार्ने मलमहरू पनि छन् ।
ए महान् कलाकार !
यो रातो र कालो रंग मात्र
पोतिएको तिम्रो क्यानभासमा
म इतिहासका दुर्गन्ध देखिरहेको छु ।
(अमूर्तचित्र)

लामा छोटा गरी जम्मा ३८ सुन्दर कविताफूलहरू उनिएका यस काव्यमालामा उनले आस्थाको काल्पनिक ईश्वरलाई विम्ब बनाएर यस भौतिक जगतमा आफूले आफैंलाई ईश्वर घोषणा गर्दै आइरहेका र दिनानुदिन दिनहीन, आवाजविहीनहरूले पनि ईश्वरै स्वीकार्दै आइरहेका आधुनिक दैत्यहरूमाथि खुलेआम धावा बोलेका छन् । साथैसाथै तीनै व्यभिचारी ईश्वरहरूबाट कुल्चिँदा–कुल्चिँदा, रापिँदा–रापिँदा, खाँदिदा–खाँदिदा बारुद बनिसकेका अनन्त आवाजहरूमा कविले आफूलाई सामेल गराएर यसरी आखिरी उद्घोष गरेका छन् ।

बारुद बनाएर हामीलाई
भरुवा बन्दुकमा नखाद्नु
तिमी जति खाँद्दै जान्छौ
हामी उति जोडले पड्किन्छौ ।

कवि जीवित खड्का मगरका कविताहरूमा आवेग र आक्रोश मात्रै छैनन् । आह्वान तथा आशा पनि छन् । निराशाभन्दा बढी जीवनप्रतिको मोह, मूल्य, अस्तित्वबोध, प्रेम र दर्शन प्रखर र पृथक ढङ्गले प्रस्फुटित छन् । सालिन स्वभावका गम्भीर कवि जीवितका गहकिला कविताहरूमा मैले त आफूलाई धेरै ठाउँ भेटेको छु, तपाईंले चैं आफूलाई भेट्नुहुन्छ या हुन्न ? खोज्नुहोस् । हुन त हामीमा कविता होइन कविको पछिपछि दौडने लहड यसै पनि चलेको छ तर, सोचौं, अपवादबाहेका कुनै पत्रिका, गुट, विज्ञापन र साँझको चियाले दुई रातमै सेलिब्रेटी बनाएका कविको पद्चाप पहिल्याएर कति परसम्म पुगिएला ? मस्तिष्कले काम गर्ने मानिस जो हर समय नवीन ज्ञान, सौन्दर्य या रहस्योद्घाटनतर्फ उन्मुख रहन्छ । साथै, ती चित्रहरू कहाँ, कसरी प्राप्त हुन्छ ? अर्थात्, प्राप्त ती चिजहरूलाई कसरी ग्रहण गर्ने ? भन्ने उत्कट उत्सुकता या बोधले हरेक सुन्दर मानिसहरूलाई तीब्र रुपले चिमोटिरहेको हुन्छ । तीनै सुन्दर मानिसमध्येका एक स्वप्नदर्शी, गतिशील र संघर्षरत मानिस हुन् कवि जीवित खड्का मगर । आफ्नै संघर्ष र क्षमताले निर्माण भएका उनको काव्यिक धरातल अत्यन्त मजबुत छ । २०६० मा ‘अनुभूतिका चर्चाहरू’ कवितासङ्ग्रह प्रकाशन गरी नेपाली कविताको मञ्चता विमोचित भएका शक्तिशाली कवि जीवितको दोस्रो कविताकृति ‘ईश्वरको खेती’ उनीभित्रको काव्यशक्तिलाई पाठकहरूले नजिकबाट हेर्ने र छाम्न सक्ने सफा ऐना हो । जून ऐनाको आफू स्वयम् कविको भन्दा निसन्देह लामो छ ।

प्रतिक्रिया