रवीन्द्र मिश्रलाई नयाँ शक्तिबारे खुलापत्र

अग्निपुन्जनेपाललाई विश्व महाशक्ति र क्षेत्रीय शक्तिहरूले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप ‘प्ले ग्राउन्ड’ बनाउने कोसिस गरिरहेको बेला त्यसलाई ‘इन्काउन्टर’ गर्न कुन तहको शक्तिको जरुरी पर्छ भन्ने ख्याल गर्नुभएको देखिँदैन यहाँहरूले ? सँगसँगै ती सम्पूर्ण शक्तिहरू र नेपालमा जारी आन्तरिक रूपमा विभाजित शक्तिहरूको हिसाबकिताबमा पनि चुकेको देखिन्छ । अर्का चर्चित भारतीय अर्थविद तथा युद्दकलाविज्ञ चाणक्यका अनुसार ४ र ६ को रणनीति र नीति भएन भने युद्द होस् वा राजनीति, त्यसको प्रभावकारिता र उपादेयिता त्यही नष्ट हुन्छ । अर्कातिर यहाँले उठाउनुभएका ४ खम्बा पूर्णरूपमा यी ४ रणनीति र ६ नीतिको विरुद्धमा छन् । यस्तो अवस्थामा शक्ति निर्माणपछिको आन्तरिक र बाह्य अन्तरसंघर्षमा हावी हुने स्पष्ट दृष्टिकोण यहाँहरूसंग रहेको पाइएन ।

 

वरिष्ठ पत्रकार रवीन्द्र मिश्रजी,
एकजना पाठकको अभिवादन,

केही दिन अगाडि एउटा राष्ट्रिय दैनिकमा ‘नयाँ शक्तिका ४ खम्बा’ शीर्षकमा छापिएको यहाँको लेख पढ्ने अवसर मिल्यो जुन विषयवस्तुहरू यहाँहरूले भन्ने गरेको नयाँ शक्तिमा समेटिनुपथ्र्याे । ती कुराहरु पूर्णरूपमा छुटेको र यहाँका विगतका लेखहरूमा पनि चुरो कुरो नसमेटिएको देखिएकोले यहाँको नाममा यो पत्र लेख्दैछु । यहाँले जुन ४ कुरालाई ४ खम्बा भन्नुभएको छ । ती खम्बा नभइकन खम्बा (Pillar) निर्माणमा लाग्ने गिट्टी, बालुवा र सिमेन्टको सानो परिमाण मात्रै भएको मेरो ठम्याइँ छ । किन र कसरी ती खम्बा भएनन् भन्ने कुरा यहाँ शब्द सीमितताको बाध्यतालाई ख्याल गर्दै संक्षिप्त रूपमा विश्लेषण गर्ने कोसिस गरिनेछ ।

शब्दप्रति नोट अफ डिसेन्ट,
यहाँलाई अवगत नै छ, विज्ञानमा शक्तिको निर्माण र नष्ट दुवै सम्भव हुँदैन बरु एउटा रूपबाट अर्कोमा हुने रूपान्तरणले मात्र त्यहाँ ठाउँ पाउने गर्दछ । भनिन्छ, एउटा बस्तु सुतिरहेको ऊर्जा हो र ऊर्जा उठिरहेको बस्तु हो । जब बस्तु ऊर्जामा परिणत हुन्छ, तब उक्त बस्तु तीव्र गतिमा परिणत हुनु अनिवार्य हुन्छ । त्यो पनि चानचुने गति होइन कि सूर्यको प्रकाशको गति बराबर वा त्योभन्दा बढी । आइन्सटाइनको ‘थेउरी अफ रिलेटिभिटी’ ले त्यही भन्छ । E=MC2  सूत्रअनुसार एउटा स्थिर पिन्डलाई प्रकाशको गतिमा प्रक्षेपण गर्ने हो भने त्यो ऊर्जा बन्न पुग्छ र उक्त प्रक्रियामा ‘इनर्जी’को नष्ट र निर्माण होइन कि रूपान्तरण मात्रै सम्भव हुने गर्दछ ।

आइन्सटाइनले कहिल्यै पनि आफ्नो ‘थेउरी’लाई नयाँ भनेनन् बरु छुट्टै नामाकरण गरे । किनकि, उनलाई थाहा थियो कि आजको नयाँ भनेकै भोलिको पुरानो हो । अर्थात् दुनियामा कुनै पनि चिज स्थिर छैन । स्थिर नहुनुको सिधा अर्थ हो कि यसमा रूपान्तरण हुने गर्दछ, पुरानो कुरा मक्किएर जान्छ र त्यसको ठाउँ उदीयमान चिजले लिन्छ । आइन्सटाइनको कतिपय कुरा स्टेफिन हकिंगले पुरानो साबित गरिसकेका छन् । उनको समयको संक्षिप्त इतिहास (A Brief History of Time) ले उक्त कुराको झझल्को दिन्छ । कार्लमाक्र्सको निषेधको नियमले पनि यही कुराको वकालत गर्दछ ।

मार्क्सले पनि जीवनभर आफ्नो सिद्दान्तलाई नयाँ भन्नुको सट्टा द्वन्द्वात्मक भौतिकवाद भने । नयाँ नभन्नुको पछाडि पहिलो कारण देखिन्छ, उनले बिल्कुल नयाँ नभई हेगेलको टाउकोले टेकिरहेको दर्शनलाई खुट्टाले टेकाइदिने काम मात्र गरे भनेर कतिपय विज्ञहरू बताउँछन् । अर्को कारण देखिन्छ, उनी सचेत थिए कि बस्तुमा मात्र होइन, निषेधको नियम दर्शनमा पनि लागू हुन्छ र उनको दर्शनलाई पनि समयक्रममा उदीयमान् दर्शनले पुरानो साबित गरिदिनेछ भन्ने कुरा । इम्मानुयल वालरस्टाइन, राउल प्रेबिश, पौल बरान, समिर अमिन र आन्द्रे गुन्दर फ्रेंक जस्ता नव–माक्र्सवादीहरूले बर्ग संघर्ष र बर्ग सत्तामा सीमित माक्र्सवादले विश्व–संरचनाबारे व्याख्या गर्न असफल रहेको भन्ने निचोड निकालिदिए । फलस्वरूप, उनीहरूको प्रयासबाट विश्व पद्दतिको सिद्दान्त (World System Theory) र निर्भरताको सिद्धान्त (Theory of Dependency) अगाडि आयो ।

यो कुराबाट पुष्टि हुन्छ कि कुनै पनि दार्शनिक, वैज्ञानिक वा अध्येताले आफ्नो प्रयासलाई नयाँ भनेनन्, मात्र उनीहरूले प्रयास गरे र बाँकी विश्वले त्यसलाई स्वीकार ग¥यो । तर यहाँहरूले त्यो कुरालाई ख्याल नगरेकै देखिन्छ । तपाईंहरू काम गर्दै जानुहोस्, शक्ति नयाँ हो वा पुरानो, त्यो अरूले भनिदिनेछन्, अरूले नै मुल्यांकन गर्नेछन् । यदि, त्यसले नयाँ भन्ने औकात राख्यो भने चाहेर पनि कसैले त्यसलाई रोक्न नसक्ला । त्यसैले पंक्तिकार यहाँहरूले भन्ने गरेको नयाँ शक्तिको शब्द प्रति नोट अफ डिसेन्ट भन्दछ ।

आफूलाई थाहा पाउनुहोस् र दुस्मनको हिसाब गर्नुहोस्
इसापूर्व ५ सय वर्ष अगाडिका चर्चित दार्शनिक तथा युद्द वैज्ञानिकको रूपमा चिनिएका चिनियाँ व्यक्ति सुन जु ले आफ्नो ‘आर्ट अफ वार’ पुस्तकमा भनेका छन्, ‘दुस्मनलाई चिन्नुहोस्, आफैँलाई चिन्नुहोस् र सयौँ युद्दहरूमा पनि तपाईंको जित नै हुनेछ । जमिनलाई चिन्नुहोस् र मौसमलाई चिन्नुहोस्, तपार्इंको ‘ब्याटल’ बल्ल पूरा हुनेछ ।’

यो कुरा जति पुरानो भए पनि र विशुद्ध युद्दसँग मात्र जोडिएको भएता पनि राजनीतिमा यसको झनै महत्व हुने गर्दछ । राजनीति पनि एउटा रगटाई–घोटाई प्रकृतिको युद्द नै भएकोले राजनीतिमा झनै बढी यसको महत्व हुनु बिल्कुल स्वाभाविक हो ।

नेपाललाई विश्व महाशक्ति र क्षेत्रीय शक्तिहरूले आफ्नो राष्ट्रिय स्वार्थ अनुरूप ‘प्ले ग्राउन्ड’ बनाउने कोसिस गरिरहेको बेला त्यसलाई ‘इन्काउन्टर’ गर्न कुन तहको शक्तिको जरुरि पर्छ भन्ने ख्याल गर्नुभएको देखिँदैन यहाँहरूले ? सँगसँगै ती सम्पूर्ण शक्तिहरू र नेपालमा जारी आन्तरिक रूपमा विभाजित शक्तिहरूको हिसाबकिताबमा पनि चुकेको देखिन्छ । अर्का चर्चित भारतीय अर्थविद तथा युद्दकलाविज्ञ चाणक्यका अनुसार ४ र ६ को रणनीति र नीति भएन भने युद्द होस् वा राजनीति, त्यसको प्रभावकारिता र उपादेयिता त्यही नष्ट हुन्छ । अर्कातिर यहाँले उठाउनुभएका ४ खम्बा पूर्णरूपमा यी ४ रणनीति र ६ नीतिको विरुद्दमा छन् । यस्तो अवस्थामा शक्ति निर्माणपछिको आन्तरिक र बाह्य अन्तरसंघर्षमा हावी हुने स्पष्ट दृष्टिकोण यहाँहरूसंग रहेको पाइएन ।

नेपालमा जारी आन्तरिक द्वन्द्वको अवस्था र यो समयमा सारा नेपाली एक भएर संविधान निर्माण र स्थायी शान्ति निर्माणको दिशामा अघि बढ्नुपर्नेमा यहाँहरूको ‘मूभ’ले घाइते नेपाली जनताको हृदयलाई थप छिन्नभिन्न पार्ने र जनताको बीचमा विभाजन ल्याउनेबाहेक कुनै चमत्कार गरिहाल्ने यो पंक्तिकारले देख्दै देख्दैन । सुन जु को भनाई जमिन, समय र मौसमलाई चिन्नुपर्ने भन्ने उक्तिसँग यहाँहरूको कदम पूर्णरूपमा विरुद्दमा छ । सबै जनता एकाकार भएर अघि बढ्नुपर्ने अवस्थामा नयाँ शक्तिको कुरा गरी जनतालाई थप चिरा पार्ने सम्भावना देखिएकोले समेत यो कुरामा पनि पंक्तिकार असहमत जाहेर गर्दछ ।

अवकासपूर्ण जीवन बिताउने हतियार होइन नयाँशक्ति
दुनियाँका जति पनि राजनीतिज्ञ, सैन्यविद र वैज्ञानिकहरू छन् ती सबै एकैपटक आफ्नो ‘रिटायर्ड लाइफ’मा मात्र उक्त स्थानमा आएका होइनन् । बचपनदेखिकै एउटा असाधारण संघर्ष, त्याग, तपस्या र धेरै कुराको बलिदानीपश्चात् उक्त स्थानमा पुगेको वास्तविकता हो । तर, यहाँहरूको नयाँ शक्तिको कुरा गर्ने हो भने धेरै जस्तो मानिस नयाँ शक्तिको निर्माण गर्न जुन एउटा निकै पीडादायी र असाधारण संघर्ष पार गरेको हुनुपथ्र्याे, त्यो बिल्कुल छैन । यहाँ आफैँले पनि अब अवकासपूर्ण जीवनलाई कतातिर लगाउने होला भन्ने सोच्दासोच्दै यो कुराको उठान गरेको देखिन्छ । अरू कतिपय मानिस तर्क र भरपुर अध्ययन विश्लेषणविना नै यहाँको लोकप्रिय व्यक्तित्वलाई प्रयोग गरेर आपूm राष्ट्रिय तहमा देखा पर्ने लोभले गर्दा यो शक्तिको कुरा गरिरहेको देखिन्छ । त्यसो हो भने सचेत रहनुहोला कि नयाँ शक्तिलाई साउन महिनाको गतिलो भेलका रूपमा विकास गर्ने र कात्तिक लागेपछि सुख्खा बगरमा परिणत हुने स्थिति नआओस् भन्ने कामना गर्न सकिन्छ ।

अन्तमा, यहाँहरूले नयाँ शक्तिको कुरा गरिरहँदा विश्व स्तरमा डिल गर्ने नीति र रणनीति, क्षेत्र (एसिया, दक्षिण एसिया) स्तरमा खेल्नलाई चाहिने ‘ट्याक्टिक्स’, राष्ट्रिय रूपमा अघि बढ्न चाहिने कौशल र स्थानीय तहमा भिज्नलाई अनिवार्य रूपमा हुनुपर्ने भरपुर अनुभवको शून्यता देखिने यहाँहरूको नयाँ शक्ति जारी नेपालको संकट समाधानमा अर्को एउटा गलगाँड हुने कुरा नै बढी सम्भावना देखिन्छ । देशको माया छ यहाँहरूलाई, त्यो म बुझ्दछु । यदि, त्यस्तो हो भने वर्तमान शक्तिहरूमा चलायमान नेताहरूको मनोग्रन्थी बदल्ने अचुक हतियार के होला भन्ने सूत्र पहिल्याएर दिनुभएमा त्यो नै ठूलो योगदान हुनेछ न कि अवकासपूर्ण जीवन बिसाउने एउटा सुविधाजनक चौतारी ।

धन्यवाद,
यहाँको शुभेच्छुक मित्र,
अग्निपुञ्ज (विद्यार्थी)
अन्तर्राष्ट्रियसम्बन्ध तथा कूटनीतिक विभाग, टियू, कीर्तिपुर

प्रतिक्रिया