विपीको स्मरण र आजको नेपाल

bharatlal_nyachhyoहरेक वर्षको भदौ २४ मा नेपाली लोकतान्त्रिक आन्दोलनका शीर्षस्थ व्यक्तित्व जननायक विश्वेश्वरप्रसाद कोइरालाको १०१औँ जन्मजयन्तीको हामी स्मरण गर्दैछौँ । विपी कोइरालाको जन्म पिता कृष्णप्रसाद कोइराला एवं माता दिव्या कोइराला जस्ता समाज सुधारकको घरमा भएको हो । भारतीय स्वतन्त्रता आन्दोलनका प्रमुख केन्द्र बनारस, पटना, कोलकातामा उनको लालनपालन र शिक्षा भएको थियो । तत्कालीन समयका प्रभावशाली अन्तर्राष्ट्रिय व्यक्तित्वहरू टर्कीका कमाल पाशा, चीनका डा. सन् यात सेनको उदय र अन्तर्राष्ट्रिय घटनाहरू सोभियत रुसको कम्युनिस्ट आन्दोलन, जापानको शक्ति राष्ट्रका रूपमा स्थापनाले उनको जीवनमा गहिरो प्रभाव परेको थियो । दोस्रो विश्व युद्ध, जर्मनमा हिटलरको उदय एवं पतन पनि सोही कालखण्डमा भएको हो । राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमा अस्थिर एवं दुई ध्रुवबीचको शीत युद्धको समयमा उनी राजनीतिक रूपमा सक्रिय भएका थिए । उनको स्वर्गारोहण ०३९ साल साउन ६ गते ६८ वर्षको उमेरमा क्यान्सर रोगबाट भएको थियो ।

तत्कालीन एकतन्त्रीय राणा शासनका कारण उनको परिवारले भारतको बनारस प्रवासमा चरम कष्ट पाएको थियो । बेलायती साम्राज्य भारतमा रहेसम्म नेपालबाट राणा शाही उन्मुलन गर्न सकिँदैन भन्ने मान्यताका कारण भारतीय स्वतन्त्रता आन्दोलनमा संलग्न भएका थिए । भारतीय स्वतन्त्रता आन्दोलनको दौरानमा सन् १९४२ को भारत छोडो आन्दोलनमा पक्राउ परी हजारीबाग जेलमा बस्दा भारतका प्रथम राष्ट्रपति डा. राजेन्द्रप्रसाद, जयप्रकाश नारायण, राममनोहर लोहियालगायत भारतका नेताहरूको सामिप्यता प्राप्त गर्ने मौका प्राप्त गरेका थिए । विपी बालक अवस्थादेखि नै चनाखो, तीक्ष्ण, अध्ययनशील र अति महत्वाकांक्षी थिए । विपी कोइराला बिसौँ शताब्दीको पश्चिमी स्वतन्त्रता, मानवीय स्वतन्त्रता, प्रतिष्ठा तथा मानवाधिकारबाट प्रभावित हुनाका साथै महात्मा गान्धीको अहिंसावादी सिद्धान्तबाट पनि अभिप्रेरित भएको देखिन्छ ।

देशलाई बलियो तथा समृद्धशाली बनाउन पृथ्वीनारायण शाहले नेपालको एकीकरण गरे पश्चात् भाइभारदारको आपसी मनमुटाव तथा दरवारिया षडयन्त्रको उपजले १९०३ मा जंगबहादुरले कोतपर्व गरी जहाँनिया निरंकुश राणाशाही सुरुआत गरेका थिए । १ सय ४ वर्षको राणाकालमा जनताले सबै प्रकारको उत्पीडन दमन, विभेद भोग्नुपरेको थियो । १९९३ जेठ २२ मा नेपाल प्रजा परिषद्को स्थापनाले नागरिक आन्दोलनबाट जनतालाई राज्यसत्ताको मालिक बनाउने पहिलो संगठित प्रयास भएको थियो । लोकतन्त्र, स्वतन्त्रता, न्याय र समतामुलुक राज्य व्यवस्था स्थापनाका लागि महामानव विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा नेपाली कांगे्रसको स्थापना भएको थियो । २००३ साल फागुन २१ गते विराटनगरको मजदुर आन्दोलन र २००७ साल फागुन ७ गतेको ऐतिहासिक परिवर्तनले नेपाल आधुनिक युगमा पदार्पण भएको हो ।

BP_koirala_sketchगरिब निमुखा सीमान्तकृत किसानको विकास नगरी राष्ट्र विकास संभव छैन भन्नेमा विपी विश्वास गर्थे । उनले राष्ट्रियता भनेको माटो मात्र होइन जनताको सामुहिक भावना होे र लोकतान्त्रिक समाजमा मात्र सबैको विकास हुन्छ भन्ने मान्यता राख्थे । समाज विकासका लागि मानवलाई उचित मौका प्रदान गरे मात्र सर्वांगिण विकास हुन्छ भन्ने उनको धारणा थियो । महामानव विपी कोइराला मुलुकको सार्वभौमसत्ता जनतामा मात्र निहित हुन्छ र बालिग मताधिकारका आधारमा भएको स्वतन्त्र, निष्पक्ष आवधिक निर्वाचनको माध्यमबाट चुनिएको जनप्रतिनिधिद्वारा मात्र मुलुकको शासन गरिनुपर्छ साथै स्पष्ट लक्ष्य, उद्देश्य र कार्यक्रमसहितको व्यवस्थित राजनीतिक दलबाट मात्र यो सम्भव हुन्छ भन्ने सोचाइ थियो ।

नेपाल जस्तो भौगोलिक रूपमा सानो मुलुकमा जन्मेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विशिष्ट उचाइमा पुग्न सफल दूरदर्शी र महान् विचारक विपी कोइरालाले राष्ट्रियता, प्रजातन्त्र र समाजवादको चिन्तनलाई आदर्शका रूपमा व्यावहारिक प्रयोग गरेका थिए । राजनीतिका साथै साहित्य लेखनमा विपी कोइरालाको योगदान, विलक्षण प्रतिभा र क्षमता अतुलनीय रहेको छ । उनको साहित्यिक कृतिहरू सुम्निमा, दोषी चस्मा, तीन घुम्ती, मोदी आइन आदी नेपाली साहित्य भण्डारमा ठूलो सम्पत्तिका रूपमा रहेका छन् ।

०७ सालको ऐतिहासिक परिवर्तनपश्चात् पनि सामन्ती व्यवस्थाबाट पीडित जनतामा खासै परिवर्तन आउन सकेन । नेपालको राजनीतिमा ०१७ साल पुस १ गते राजा महेन्द्रले संसदीय व्यवस्था भंग गरी निर्दलीय पञ्चायती व्यवस्था लागू गरे । विपी कोइरालालाई कठोर कारावासको सजाय दिइयो एवं भारतमा निर्वासनको जिन्दगी बिताउन पर्ने अवस्था सिर्जना भयोे । राष्ट्रियता सबल बनाउने नाममा पञ्चायती राज्यव्यवस्थाले १ धमर्, १ भाषा, एउटै भेष नीति अपनाएर देशका अन्य जाति समुदायलाई दमन गर्ने नीति अवलम्बन ग¥यो । ०४६÷४७ को जनआन्दोलनपश्चात् पुनः लागू भएको लोकतान्त्रिक संसदीयकालमा पनि पिछडिएका समुदायले सामाजिक, भाषिक, आर्थिक सम्बद्र्वन तथा उचित सहभागिता महसुस गर्न सकेन । राज्यको श्रोत र साधन सीमित वर्ग एवं जाति विशेषको समाज, धर्म, संस्कृति र भाषाको विकासका लागि मात्र उपलव्ध भएको तथा राज्य व्यवस्था तथा राज्य शक्ति पनि सीमित जातिले मात्र उपभोग गरेको गुनासो यथावत रहेको थियो ।

नेपाल र नेपालीको स्वतन्त्रताका लागि जननायक विपी कोइरालाको नेतृत्वमा निरन्तर सशस्त्र एव अहिंसात्मक आन्दोलनहरू भए । कयौँ नेपाली युवा सहिद भए । ०३३ साल पुस १६ गते राष्ट्रिय मेलमिलाप र राष्ट्रिय एकताका लागि पञ्चायती शासन व्यवस्थाबाट हुनसक्ने फाँसीलाई समेत बेवास्ता गरी विपी नेपाल फर्किएको राजनीतिक घटना स्मरणीय छ । पाकिस्तानका प्रधानमन्त्री भुट्टोलाई फाँसी दिएको विरोधमा भएको विद्यार्थी आन्दोलनलाई थेग्न नसकेपछि ०३६ साल जेठ १० गते राजा वीरेन्द्रद्वारा जनमत संग्रहको घोषणा भयोे । ०३७ साल वैशाख २० गते सम्पन्न जनमत संग्रहमा षडयन्त्रपूर्ण ढंगबाट लोकतन्त्रवादीलाई पराजित गराइयो । त्यस्तै, नेपाली कांग्रेसले पञ्चायतको विरोधमा ०४२ सालमा सत्याग्रह गरेको थियो । अन्ततः सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा ०४६ सालको जनआन्दोलनको सफलताबाट बहुदलीय लोकतन्त्र प्राप्त भइ आर्थिक क्रान्तिको प्रारम्भ गर्न लाग्दा उग्र वामपन्थिहरूले सशस्त्र विद्रोह गरी अस्थिरता सिर्जना गरेकोमा ०६२÷६३ को आन्दोलनबाट मुलुकमा गणतन्त्र स्थापना भएको छ ।

०६ सालमा सर्वप्रथम नेपाली कांग्रेसको आफ्नो घोषणा पत्रमा उल्लेख गरेको र ०७ सालको शाही सम्बोधनमा राजा त्रिभुवनको पहिलो शाही सम्बोधनमा जनताद्वारा निर्वाचित प्रतिनिधिको सभाबाट नेपालको संविधान निर्माण गर्ने घोषणा भएको ६५ वर्षपछि निर्वाचित प्रतिनिधिले संविधान बनाउने अन्तिम प्रक्रियामा छ । पहिलो संविधानसभाले संविधान निर्माण गर्न असफल भएको थियो । दोस्रोपटक निर्वाचित संविधानसभाले पनि ०७१ माघ ८ गतेसम्ममा संविधान निर्माण गर्न गरेको प्रतिबद्वता पूरा गर्न सकेन । ०७२ वैशाख १२, १३ र २९ गते गएको विनाशकारी भूकम्पले नेपाली कांग्रेस, नेकपा एमाले, एनेकपा माओवादी र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकसहित ४ दलबीच जेठ २५ गते १६ बुँदे सहमति गरी राजनीतिक अस्थिरता अन्त्य गर्न प्रमुख दलहरू प्रतिबद्व भएका छन् ।

विश्वको सर्वमान्य लोकतान्त्रिक प्रक्रिया विपरीत अल्पमतमा रहेका जातीय, धार्मिक शक्तिहरूले आगामि संविधानमा आप्mना एजेन्डाहरू स्थापित गर्न वैदेशिक शक्तिहरूको साधन र श्रोतका आडमा विखण्डनकारी आन्दोलन गरी आएको अवस्था छ । साउन २३ गतेदेखि भदौ १८ गते सम्ममा २६ नेपाली नागरिकको मृत्यु भएको छ । जस मध्ये १४ आन्दोलनकारी, ९ सुरक्षाकर्मी र ३ सर्वसाधारणको मृत्यु भएको छ । संघीय प्रदेश निर्माणको क्रममा सीमांकनसहितको ६ प्रदेश घोषणापश्चात् संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संविधान निर्माण प्रक्रियाको विरोध गर्दै तराईको विभिन्न जिल्लामा आन्दोलन गरेका छन । विशेष अधिकारसहितको कर्णाली प्रदेश र अखण्ड मध्यपश्चिमको आन्दोलनले कर्णाली अञ्चल, सुर्खेत र रुकुमलगायतका जिल्लाको स्थिति तनावग्रस्त भएका थिए । नेकपा माओवादी वैद्य, चन्द र संघीय समाजवादी फोरम नेपालको बृहत् राजनीतिक सभाद्वारा संविधान निर्माण गर्नुपर्ने मागसहित नेपाल बन्द गर्दै जनजीवनलाई अस्तव्यस्त बनाएका छन् । अखण्ड सुदूरपश्चिमको आन्दोलन र थरूहट संघर्ष समितिको तराईको २२ जिल्लालाई थरूहट प्रदेश बनाउने अभियानले कैलाली, कञ्चनपुर, बाँके, बर्दिया जिल्ला भिडन्तको स्थितिमा छ । संघीय लिम्बूवान परिषद्को कोसीवारीका ९ जिल्लालाई लिम्बूवान राज्य बनाउन पूर्वाञ्चल बन्द, राप्रपा नेपाल र सनातन हिन्दू संरक्षण समितिको धर्म निरपेक्षताको विरोध र हिन्दू राज्यको माग गर्दै विभिन्न प्रकारले आन्दोलन गर्दै देशको जनजीवन अस्तव्यस्त पारेका छन् ।

अहिले नेपालको स्वतन्त्र अस्तित्व समेत रहला नरहला भन्ने अवसथा छ । अहिले नेपालको राजनीतिक, सामाजिक र आर्थिक अवस्था गम्भीर मोडमा छ । नेपाली समाजमा अनुशासनहीनताको पराकाष्ठा छ । आर्थिक, शिक्षा, स्वास्थ्य, यातायात आदि सम्पूर्ण क्षेत्रमा व्यापक अनियमितता, भ्रष्टाचार, डन प्रवृति, माफियाकरण छ । नेपालको लोकतन्त्रलाई स्थायी बनाउन प्रमुख जिम्मेवार महामानव विपी कोइरालाले स्थापना गरेको नेपाली कांगे्रस धर्म संकटमा छ । नेपाली कांगे्रसको १३औँ महाअधिवेशन आगामी असोज ५ गते सम्ममा गर्न नसकेमा आप्mनो वैधानिकता गुम्ने अवस्था छ । अहिले आप्mनो वैधानिकता कायम गर्नका लागि अन्तरिम संविधानमा संशोधन वा आगामी नयाँ संविधानमा ६ महिनाको समय सीमा थप गर्न अन्य प्रतिस्पर्धी राजनीतिक दलहरूसँग अनुरोध गर्नुपर्ने अवस्था छ ।

जननायक विपी कोइरालाले २०१४ सालमा संविधानसभाबाट संविधान निर्माण गर्दा पर्न सक्ने दूरगामी प्रभावलाई आँकलन गर्दै संसदीय निर्वाचनका लागि राजा महेन्द्रसँग सहमति गरिएको सन्दर्भलाई सबै नेपालीले एकपटक स्मरण गर्न अत्यन्त आवश्यक देखिन्छ । संविधान निर्माण जस्ता संवेदनशील विषयमा राजनीतिक दलहरू मात्र होइन सम्पूर्ण नेपाली गम्भीर हुनु आवश्यक छ । निर्धारित समय सीमाभित्र संविधान निर्माण गरेर देशमा जारी राजनीतिक अस्थिरताको अन्त्य गर्नमा सबै पक्ष र दलहरू एकजुट भई लाग्नुपर्दछ । सबैको सहमतिमा संविधान जारी भएमा देशमा दिगो शान्ति र राजनीतिक स्थायित्व हुने थियो । तर, अहिले विवाद अन्त्य हुने अवश्था देखिएको छैन जो नेपाल र नेपालीका लागि अत्यन्त दुर्भाग्यपूर्ण छ । नेपाल रहे मात्र नेपाली रहने हो । विपीको सिद्धान्त र विचार अहिले पनि सान्दर्भिक रहेकाले त्यसलाई आत्मसात गरी अगाडि बढ्नु पर्दछ । गाउँको गरिब जनताको उत्थान र उन्नति नै विपीको विचार रहेकोले यसको कार्यान्वयनको प्रक्रियाबाट सफल बनाउन सकियो भने नेपालको लोकतान्त्रिक आन्दोलन र विपी विचारले सार्थकता पाउनेछ ।

प्रतिक्रिया