हाम्रो नयाँ नेतृत्व कतिबिघ्न विदेशी परस्त वा डलर परस्त छ भन्ने कुराको ज्वलन्त उदाहरण हो स्वामी प्रपन्नाचार्य (काले राई) प्रति सरकार र जातीय पार्टीहरूले देखाएको निरपेक्षता !! स्वामी प्रपन्नाचार्यले देशको माटो, संस्कृति, धर्म र पहिचानसँग प्रेम गरे । उनले जे लेखे बोले, त्यो प्रमाणमा आधारित छ, उनले कुनै जातिको कुरा गरेनन्, नेपाललाई सांस्कृतिक रूपमा विखण्डन गर्ने कुरालाई स्वीकार गरेनन् । उनले त्यही कुरा लेखे र बोले जुन कुरा सत्य हो । एउटा सन्यासीले असत्य तथ्यांक दिने वा लेख्ने कुनै कारण छैन ।
राजनीतिक नेताहरूको भोटको लोभ होला र दाउपेच गर्लान् तर यी स्वामीको दाउपेज पहेँलो लुगा लगाएपछि नै सकिएको थियो एउटा दुर्गम गाउँको राई परिवारमा जन्मेको व्यक्तिले आफ्नो परिश्रमले विद्या प्राप्त ग¥र्यो । आफ्नो मौलिक संस्कृतिको बाहक बन्न सन्यास ग्रहण ग¥यो । भारतमा बसेको भए, महन्त बन्थ्यो, आश्रमको मालिक बन्थ्यो तर देशको मायाले तानेर नेपालमै रमायो, नेपालका कुनाकाप्चामा घुमेर तथ्यहरू संकलन ग¥यो । ती तथ्यहरूका आधारमा दुई दर्जन किताब लेख्यो । उसले भन्यो, ‘यो देश वैदिकहरूको पेवा हो ।’
विदेशी डलरेहरूको आँखाले नेपाललाई पढ्ने ‘चम्चा’हरूलाई स्वामीको यो कुरा मन परेन । यस्तो कुरा मन पराउनेहरूले डलर गुमाउनुपर्छ । आफूलाई जातिहरूको प्रभु भनेर चिनाउनेहरू ‘स्वामी’ विरुद्ध उभिए र उभिइरहेका छन् । यी हुतिहाराहरूमा स्वामीले जस्तो ‘अनुसन्धान’ गर्ने न त क्षमता छ, न इच्छाशक्ति नै । संस्कृतको ‘स’ नबुझ्ने तर संस्कृतको विरोध गर्ने हरू’ अयातुल्लाह खोमेनी’ का दोस्रो अवतार हुन् भन्नैपर्छ ।
हिजो राजाको शासनमा राजाको गुण गाउनेहरूको सर्वसत्तावादी चरित्रलाई आत्मसात गर्नेहरू आज राज्यव्यवस्थाको हर्ताकर्ता बनेका छन् । साम्यवादका नाममा जर्मन नागरिक कार्लमाक्स, रूसका लेनिन, चीनका माओको फोटो पुज्ने र नेपालीहरूमा तिनको विचार लाद्ने समूह हुन्पु वा रुसोको फोटोमा फूल चढाएर प्रजातन्त्रको गुण गाउने समूहहरू ( दुवैका लागि काले राई चट्टानसरह उभिएर सधैँ चुनौती बनिरहेका छन् । विदेशी प्रभुहरूको चिन्तनको दासत्वको वकालत गर्नेहरूका लागि स्वामी सधैँ चुनौती हुन् । नेपालीपनको खोक्रो नारा दिएर जनतालाई झुक्याउनेहरूले स्वामीजीको ‘स्वदेश, स्वसंस्कृति र स्वधर्म प्रेम’ बुझ्न सक्दैनन् । स्वामीजी अहिलेका राजनीतिक पात्रहरूको हेलामा परेका छन् किनभने यिनले छेपाराले रंग फेरेझैँ आफ्नो रंग फेर्न सक्दैनन् । उनको पहेलो लुगाले उनको मन, वचन र कर्मको एकता बखान गरिरहेको छ । उनी सत्यबाहेक अरू कुनै विषयसँग झुक्न सकेनन् ।
देश र संस्कृतिको माया गर्नेहरूले राज्यबाट सधैँ अपहेलित भएको इतिहास छ । योगी नरहरिनाथले नेपालको असली इतिहास खोजे तर राज्यले विदेशीहरूले लेखिदिएको इतिहासलाई महत्व दिएको छ । बाबुराम आचार्यले नेपालीको इतिहास लेखे तर ‘विदेशी भरौटे’हरूले विश्वविद्यालयमा विदेशीहरूले कल्पना गरेको इतिहास पढ्न विद्यार्थीहरूलाई बाध्य बनाइरहेका छन् । नेपालको माटो, संस्कृति र पहिचानसँग जोडिएको र नेपालीमनले लेखेको इतिहास नेपाली राजनीतिले कहिले रुचाएन । भ्रष्टाचारको पर्याय बनेको नेपाली शासकले नाथ र स्वामीजस्ता उदात्त आत्मालाई कहिले महत्व दिएन । यिनको त्याग, समर्पण र संस्कृतिका लागि खर्चिएको जीवनको इतिहास नेपालीहरूको आत्मामा जीवित रहने छ । यिनको उदात्त त्याग र समर्पणको तुलना ‘आत्मघाती’हरूसँग हुनै सक्दैन ।
यी राजाहरू शिक्षित समाजको कुरा गर्छन् तर शिक्षा, संस्कार र शिक्षित समाजको कदर गर्न सक्दैनन्, समाज संरचनाको कुरा गर्छन् तर तोडेर समाजको संरचना गर्ने दाबी गर्छन् । एकताको कुरा गर्छन् तर व्यक्ति–व्यक्ति र सामाजिक संस्थाहरूलाई ‘सिन्डिकेट’ बनाएर एकतामा भाँजो हाल्छन् । यिनको दक्षता, कला र विद्या जोड्ने भन्दा तोड्ने, भिडाउने कुरामा फलिफाप हुन्छ ्र आपूmले गरेको गल्तीको पगरी अरूलाई भिराउने कलामा यी नेताहरूले मानौँ वरदान नै पाएका छन् ! यी निन्दा होइन, यो नेपालीहरूको बोली हो, बुझाइ हो ।
विश्वविद्यालयले जतिसुकै रटाए पनि कार्लमाक्सको चिन्तन होस् अथवा रूसोको, नेपालको आफ्नो विचार हुन सक्दैन । नेपाली चिन्तन खोज्नका लागि पृथ्वीनारायण शाह, नरहरी नाथ, स्वामी प्रपन्नाचार्यजस्ता देश भक्तलाई नसम्झी सुखै छैन । आपूmलाई प्रगतिवादी वा प्रजातन्त्रवादी भन्नेहरूले आज पनि नेपाल र नेपालीलाई चिनाउन ललितपुरको कृष्ण मन्दिर, चैत्य, काठमाडौंको बूढानीलकण्ठ वा स्वयम्भू, भक्तपुरको दरबार स्क्वायर वा यात्राहरू नदेखाई धर छैन । सक्छौ भने रूसो र कार्लमाक्सका सालिकको भ्रमण गराएर हेर विदेशीहरूलाई !! होइन भने स्वामी प्रपन्नाचार्यहरूको सम्मान गर्न सिक ।
स्वामीजी, तिमीले जेजति लेख्यौ, बोल्यौ ती सबै तथ्यमा आधारित छ । संस्कृत र संस्कृतिको अध्ययनबाट निस्किएको छ । त्यही भएर उनीहरूले तिमीलाई पचाउन सकिरहेका छैनन् । तिमीले आपूmले बुझेर सत्य बोल्छौँ, लेखेका छौँ तर नयाँ राजाहरूले अरूले लेखिदिएको कुरा चोरेर रक्सीले मातेको मान्छेले फलाके झैँ अर्धसत्य फलाकिरहेका छन् र आत्महत्या गरिरहेका छन् ।
फलानो राजनीतिक दलले देखाएको जातीय राजनीतिमा आफ्नो भविष्य खोज्ने सपना बोकेका र जातीय राजनीति गर्नेहरूका लागि स्वामी प्रपन्नाचार्य एउटा जीवित चुनौती हुन् । आधुनिक जातिवादीहरू आफ्नो पहिचानको राजनीति विदेशीले लेखिदिएको इतिहासमा खोज्दछन् भने स्वामीले आफ्नो पहिचान आफ्नो माटोमा, आफ्ना पुर्खाहरूले लेखेका कृतिहरूमा खोजे । यही खोज्दै जाँदा ७० बटा जति किताब बन्न गए जसमा ६० जति छापिएका छन् । विदेशीले निम्त्याएको जातिवादी राजनीतिमा अमल गर्नेहरूले स्वदेशी र सहोदर ‘राई’को जीवित स्वधर्म र संस्कृति प्रेमको सम्मान गर्न सकेनन् । प्रपन्नाचार्यका किताबहरू पढ्नेले मात्र बुझ्न सक्छन् कि उनले नाकका आधारमा जातिको विभाजन नगरेर कर्मका आधारमा गरेका छन् ।
९२ वर्षको वृद्धावस्थाका यी सन्यासीले आजै मात्र पशुपति क्षेत्रस्थित मृगस्थलीमा इहलीला त्यागेका छन् । यिनले आफ्नो जवानी र पौरख देशको सांस्कृतिक सेवामा बिताए । निरंकुश नै भए पनि राजाले बरू यिनको सम्मान गरे तर यी ‘आधुनिक राजाहरू’को स्वार्थी आखाँमा यी स्वामी पर्न सकेनन् । एउटा निरपेक्ष सन्यासीलाई राजावादी भन्नु अपराधी मानसिकताबाहेक के हुन सक्छ र ? राजावादी नै भएर राजालाई रिझाएको भए अहिले मृगस्थलीको धर्मशालामा जीवनलीला समाप्त पार्ने होइन ‘मेदान्त’ वा थाइल्यान्डको सुविधा सम्पन्न अस्पतालमा उपचार गराइरहेका बेलामा देहान्त हुन्थ्यो होला । यी अबुझ स्वाँठहरू सुतेझैँ गर्छन्, थाहा नपाए झैँ गर्छन् । यी सन्यासीको सेवा गरेर यिनको स्सवर्थ पूरा नहुने भएकाले बेवास्ता गरेका हुन् । सुतेकाहरू त जाग्छन् तर यिनीहरुले सुतेको अभिनय मात्र गरेका हुन् ।
स्वामी ! तिमीले देश, संस्कृति र समाजलाई गरेको उपकार यी ‘पाजी’हरूले पचाउन सक्दैनन् । गिद्धेदृष्टि सिनोमा हुन्छ, अमृतको जस्तै मनले अमृत पाउँछ । हामीले तिमीलाई माया गर्छौं, तिमी नै हाम्रो प्रेरणाका स्रोत रहनेछौँ, हामी राई लिम्बु, बाहुन, क्षेत्री, काले र गोरेको सतहबाट माथि उठेको तिम्रो कल्याणकारी जीवनको सम्मान गर्छौं । तिमीले दिएको दर्शन, तिमीले अपनाएको त्यागपूर्ण जीवनशैली, तिमीले देखाएको बसुधैव कुटुम्बकम्को बाटो हाम्रो आत्मामा रहनेछ ।
अन्त्यमा, भारतीय सेनाका पूर्वउच्चाधिकारी श्री जिएल राईले स्वामी प्रपन्नाचार्यसँग सोधेको प्रश्न ‘के तपाईंको कुनै आफन्तहरू काठमाडौंमा हुनुहुन्छ ? को उत्तर दिँदै’ उनले भनेका थिए, ‘काठमाडौंमा मात्र किन विश्वको हरेक मानिस मेरो आफन्त हो, मेरो आफ्नो हो ।’ यो उदारवादी भनाइ सम्झँदै उहाँलाई सादर नमन गर्छु ।
प्रतिक्रिया