उखुको मूल्य समायोजन माग

काठमाडौं, १४ साउन । सरकारले एकतर्फी रूपमा उखुको मूल्य निर्धारण गरेको भन्दै उखु किसानले मूल्य समायोजन गर्न माग गरेका छन । नयाँ मूल्यले गर्दा चिनी उद्योग गम्भीर आर्थिक संकटमा परेको भन्दै निर्णय सच्याउन उद्योगीले आग्रह गरेका हुन् ।

नेपाल चिनी उद्योग संघले बुधबार पत्रकार सम्मेलन गरी सरकारले तोकेको मूल्यमा उद्योगीले उखु किन्नै नसक्ने बताएका छन् ।
सरकारले प्रतिक्विन्टल चार सय ६१ रुपैयाँमा किसानसँग उद्योगीले उखु खरिद गर्नुपर्ने निर्णय गरेको थियो । हाल उद्योगीले प्रतिक्विन्टल तीन सय ५० रुपैयाँ दिँदै आएको थियो ।
सरकारले तोकेको र उद्योगीले उपलब्ध गराउँदै आएको मूल्यको अन्तर धान्न नसक्ने अवस्था रहेको संघको भनाइ छ । चिनी उद्योग संघका अध्यक्ष शशिकान्त अग्रवालले चिनीको बजार मूल्यको आधारमा नै उखुको मूल्य तोकिनुपर्ने माग गरे । उनले उद्योगीको पीर मर्कालाई बेवास्ता गरी सरकारले एकतर्फी रूपमा राजनीतिक किसिमबाट मूल्य कायम गर्न खोजेको आरोप लगाए । अध्यक्ष अग्रवाले आन्तरिक उत्पादनबाटै बजार धान्न सक्ने अवस्थामा रहेका उद्योगीको माग सम्बोधन हुनुपर्नेमा जोड दिँदै अधिकतम मूल्य प्रतिक्विन्टल तीन सय ८० रुपैयाँभन्दा बढी दिन नसक्ने धारणा राखे ।
हाल चिनी उद्योगीले प्रतिवर्ष एक लाख ८० हजार मेट्रिक टन चिनी उत्पादन गर्दै आएका छन् । सो अवसरमा संघका उपाध्यक्ष राजकुमार अग्रवालले चिनीको तिब्बत निकासी खुला गर्नुपर्ने र आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताए । उद्योगी दिवाकर गोल्छाले सरकारले निर्धारण गरेको मूल्यमा उखु किन्न नसक्ने भएकाले निर्णय सच्याउनुको विकल्प नभएको बताए ।

प्रतिक्रिया