एमसिपिएममा ओखलढुंगाका सात गाविस असफल

ओखलढुंगा । स्थानीय निकाय वित्तीय आयोगको न्यूनतम सर्त तथा कार्यसम्पादन मापन मूल्यांकन (एमसिपिएम) मा ओखलढुंगाका सात गाविस असफल भएका छन् । जिल्लाका श्रीचौर, रागाँदीप, पात्ले, मूलखर्क, कुन्तादेवी, पूmलबारी र च्यानम गाविस यसवर्ष एमसिपिएममा असफल अर्थात् फेल भएका हुन् । ५० गाविस मध्ये बाँकी ४३ गाविस भने सफल भएका छन् ।
एमसिपिएममा जिल्लाका आधा दर्जनभन्दा बढी गाविस असफल हुँदा जिल्ला विकास समिति ओखलढुंगाको समग्र नतिजासमेत कमजोर देखिएको छ । एमसिपिएममा असफल भएका गाविसले न्यूनतम रकम मात्रै पाउने छन् । भने असफल सबै गाविसको अनुदान रकम कटौती हुनेछ । यसैबीच जिल्ला विकास समिति ओखलढुंगा पनि न्यूनतम सर्त तथा कार्यसम्पादन मापनमा अनुत्तीर्ण भएको छ ।
न्यूनतम सर्तको अवस्था राम्रो रहेको भए पनि मूल्यांकनले कार्यसम्पादनको अवस्था कमजोर देखाएकाले जिल्ला विकास समितिले पाउने अनुदान २० प्रतिशतले कटौती भएर आउने स्थानीय विकास अधिकारी शत्रुघ्नप्रसाद पुडासैनीले बताए । अघिल्लो आर्थिक वर्षमा पनि जिल्ला विकास समिति ओखलढुंगा एमसिपिएममा असफल भएको थियो ।
सहभागितात्मक गाउँ विकास योजना तर्जुमा, निकासा तथा खर्च, लक्षित समूह र क्षेत्र विकास कार्यक्रमको बजेट विनियोजन र खर्च, आय व्ययको विवरण सार्वजनिक, सामाजिक सुरक्षा कार्यक्रम, व्यक्तिगत घटना दर्ता अभिलेख, गाविसको वस्तुस्थिति विवरण, नागरिक बडापत्र, सार्वजनिक परीक्षण, जाँचपास फरफारक, आन्तरिक स्रोत व्यवस्थापन, सार्वजनिक सुनुवाई, पेश्की र बेरुजु फछ्र्यौट लगायतका आधारमा न्यूनतम शर्त तथा कार्यसम्पादन मापन मूल्यांकन हुने व्यवस्था रहेको छ । (सौस)

प्रतिक्रिया