कार्यसम्पादन मापनमा डडेल्धुरा पहिलो स्थानमा

महेन्द्रनगर, १३ साउन । पुँजीगततर्फको अनुदान रकम कटौती हुने स्थानीय निकायको न्यूनतम शर्त तथा कार्यसम्पादन मापनको नतिजामा सुदूरपश्चिमका नौ वटा जिल्ला विकास समिति मध्ये डडेल्धुरा पहिलो स्थानमा रहेको छ ।

आव २०७०/७१ को नतिजाअनुसार जिविस डडेल्धुरा ७१ अङ्क ल्याएर प्रथम भएको हो । न्यूनतम शर्त र कार्यसम्पादन मापनमा उत्तीर्ण हुँदै ६८ अङ्क ल्याएर जिविस कञ्चनपुर दोस्रो भएको छ ।

जिविस डडेल्धुराले १५ प्रतिशत थप पुँजीगत अनुदान र जिविस कञ्चनपुरले १० प्रतिशत थप पुँजीगत अनुदान पाउने भएका छन् । सुदूरपश्चिमका अन्य जिविसको पुँजीगत अनुदान कटौती भएको छ ।

जिविसको कार्यालय कैलालीको १५ प्रतिशत अनुदान कटौती भएको छ । बीस प्रतिशत अनुदान कटौती हुने जिविसमा बझाङ, बैतडी, डोटी र बाजुरा जिविस रहेका छन् ।

अछाम र दार्चुलाको थप अनुदान पूरै कटौती भएको स्थानीय निकाय वित्तीय आयोगले जनाएको छ । स्थानीय निकायले गर्ने परिषद्, वित्तीय परिचालन, विकास निर्माण, सामाजिक सुरक्षा भत्तासम्बन्धी कार्यसम्पादनलाई परीक्षण गरी अङ्कभार दिने गरिएको छ ।

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाले सरकारबाट पाउने पुँजीगत अनुदानमा १५ प्रतिशत कटौती हुने भएको छ । आव २०७०/७१ को न्यूनतम शर्त तथा कार्यसम्पादन मापनको नतिजामा भीमदत्त नगरपालिकाले कम अङ्क ल्याएपछि पुँजीगत अनुदान कटौती हुने भएको हो ।

नतिजाअनुसार कैलालीको टीकापुर नगरपालिकाले १५ प्रतिशत थप पुँजीगत अनुदान पाउने भएको छ । सुदूरपश्चिममा थप अनुदान पाउने टीकापुर मात्रै एउटा नगरपालिका हो ।

सुदूरपश्चिमका अरु नगरपालिकाले उत्कृष्ठ कार्यसम्पादन नगरेपछि पुँजीगत अनुदान गुमाउनुपरेको छ । धनगढी नगरपालिकाको १० प्रतिशत पुँजीगत अनुदान कटौती र डडेल्धुराको अमरगढी नगरपालिकाको १५ प्रतिशत अनुदान कटौती हुने जनाइएको छ ।

डोटीको दीपायल–सिलगढी नगरपालिका र बैतडीको दशरथचन्द नगरपालिकाको २० प्रतिशत पुँजीगत अनुदान कटौती हुने स्थानीय निकाय वित्तीय आयोगले जनाएको छ ।

सार्वजनिक गरिएको नतिजा आव २०७०/७१ को भएकाले नयाँ घोषणा गरिएका नगरपालिकालाई तत्कालीन गाविसको आधारमा मूल्याङ्कन गरिएको छ ।

प्रतिक्रिया