धर्मनिरपेक्षतामा सम्झौता हुदैन : महरा

maharकाठमाडौं, ११ साउन । एकीकृत नेकपा माओवादीका महासचिव कृष्णबहादुर महराले धर्मनिरपेक्षतामा कुनै सम्झौता गर्न नसकिने बताएका छन् ।

उनले धर्मनिरपेक्षता हटाउनका लागि राष्ट्रिय/अन्तर्राष्ट्रिय रूपमा दबाब आए तापनि संविधानमा धर्मनिरपेक्षता नहट्ने बताएका हुन् । गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपाति÷समावेशी आन्दोलनबाट प्राप्त उपलब्धि भएको बताउँदै उनले जस्तोसुकै दबाब आए पनि धर्मनिरपेक्षतासहितको संविधान बन्ने दाबी गरे ।
आइतबार राजधानीमा राष्ट्रिय ख्रिस्टियन महासंघ, नेपालद्वारा आयोजित ‘धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रता’ विषयक अन्तरक्रिया कार्यक्रममा महासचिव महराले धर्मनिरपेक्षताको मुद्दा उठाउने व्यक्ति आपू भएको दाबी गरे । ‘राज्यको कुनै पनि धर्म हुँदैन, धर्मसापेक्ष राष्ट्र हुनै सक्दैन, यो विषयमा विगतदेखि हामीले लड्दै आएका छौँ र लड्छौँ,’ उनले भने । धर्मनिरपेक्षता र धार्मिक स्वतन्त्रताको मुद्दा कमजोर भएको उल्लेख गर्दै महासचिव महराले धर्मनिरपेक्षताको विषयमा कांग्रेस–एमालेसँग बहस गर्न आपू तयार रहेको बताए । सबै विषयको कमान्ड राजनीतिले गर्ने भएकाले जनताको मुद्दा स्थापित गर्नका लागि आफ्नो पार्टी तयार रहेको बताए । धर्म निरपेक्षताको विषयमा कुनै पनि सम्झौता हुँदैन । उनले भने, ‘परिवर्तनको मुद्दा उठाउँदै हामी निकै कठिन प्रक्रियामा छौँ ।’ परिवर्तनको मुद्दा उठाउने एमाओवादीलाई बलियो नबनाउँदा अहिले हिन्दू राष्ट्रको मुद्दा उठेको उल्लेख गर्दै उनले धर्मनिरपेक्षतासहितको संविधान बन्ने बताए । ‘छिटोभन्दा छिटो संविधान जारी नगर्ने हो भने आन्दोलनबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा रहेको छ’ महराले भने, ‘संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी÷समानुपाति उपलब्धि संस्थागत गर्न हामी सचेत छौँ ।’
कार्यक्रममा राष्ट्रिय ख्रिस्टियन महासंघका महासचिव सिबी गहतराजले धर्मनिरपेक्षता घोषणा भइसकेकाले संविधानसभाले यसलाई संस्थागत गर्नुपर्नेमा जोड दिए । ख्रिस्टियन समुदाय राज्यले दिने न्यूनतम मानवअधिकार उपभोग गर्नबाट वञ्चित भएको बताउँदै उनले धर्मनिरेपेक्षताबाट पछाडि फर्कनुभनेको देशलाई पाँच सय वर्ष पछाडि धकेल्नु हो । ‘नेपालमा ख्रिस्टियन समुदाय बढ्दैमा छिमेकी देश भारत र चीनलाई घाटा हुँदैन,’ गहतराजले भने, ‘कसैलाई खुसी पार्न नागरिकलाई दोष लगाउनुहुँदैन, पैसाले कोही ख्रिस्टियन बन्दैन ।’ आपूmहरू कसैको पनि अधिकार खोस्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले सबैको हक, अधिकार संविधानसभाले सुनिश्चित गर्नुपर्ने पक्षमा रहेको बताए । महासंघका सहअध्यक्ष रेभ डा. ईशुजंग कार्कीले धर्मनिरेपक्षताविनाको संविधान अधुरो हुने बताए । उनले सरकारसँग विगतमा भएको तीन बुँदे र ६ बुँदे सहमति कार्यान्वयन गर्नका लागि पनि सरकारसँग माग गरे ।
अन्तरक्रिया कार्यक्रममा पूर्वमहान्याधिवक्ता मुक्ति प्रधान, अधिवक्ता चन्द्रकान्ता ज्ञवाली, अधिवक्ता स्वागत नेपाललगायतले संविधानले धर्मनिरपेक्षतालाई संस्थागत गरेर अगाडि बढ्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रमको सञ्चालन सदस्यसचिव पा.पदमनाथ पराजुलीले गरेका थिए भने कार्यक्रमका सभापति अध्यक्ष डा.सुन्दर थापाज्यूले उपस्थित सम्पूर्ण दाजुभाइ दिदीबहिनीलाई धन्यवाद दिँदै कार्यक्रम विर्सजन गरेका थिए ।

प्रतिक्रिया