बोधिचित्तमालाको बिरुवा अभाव

tree2बनेपा, १० साउन । काभ्रेपलाञ्चोकबाट उत्पादन हुने बयर प्रजातिको बोधिचित्तमालाको बिरुवाको अभाव हुन थालेको छ ।

माग अत्यधिक बढेको र एउटै व्यक्तिले धेरै बिरुवा खरिद गरेर लगेका कारण बिरुवाको अभाव देखिएकोे स्थानीयको भनाइ छ । बिरुवाको अभाव हुन थालेपछि दुई सयदेखि चार सय ५० रुपैयाँ सम्ममा पाइने बोधिचित्तको बिरुवा अहिले सात सयदेखि एक हजार पाँच सय रुपैयाँसम्म पर्न थालेको छ ।
मागअनुसार आपूर्ति हुन नसकेकाले बिरुवाको अभाव हुन थालेको थोकर बुद्धचित्तमाला एन्ड रुद्राक्ष सप्लायर्स भकुन्डेका विकु थोकरको भनाइ छ ।
थोकरले तीन महिनामा बिरुवा तयार हुने गरी ४० हजार बिरुवाको उत्पादन गर्ने लक्ष्यका साथ तयारी सुरु गरेको जानकारी दिए । करिब ६ आना जग्गा भाडामा लिएर भकुन्डेमा नै बिरुवाको उत्पादन गर्न लागेको उनको भनाइ छ । झन्डै १० वर्ष यसको बजारमा कमी नआउने जिकिर गर्दै अन्तर्राष्ट्रिय बजारमा यसको माग निकै बढ्ने थोकरको दाबी छ ।
बुद्ध फलपूल नर्सरी, नासिकास्थानका सञ्चालक शम्भु घिसिङले आफ्नो नर्सरीमा उत्पादन गरेको करिब तीन हजार बोधिचित्तमालाको बिरुवा बिक्री वितरण भइसकेकाले माग धान्न नसक्ने अवस्थामा पुगेको बताए । ‘फाटफुट्ट रूपमा एउटा वा दुई वटा बिरुवा दिन सकिएला तर धेरै बिरुवा खोज्नेलाई दिन सकिँदैन’ उनले भने ।
अन्तर्राष्ट्रिय बजारमा व्यापक माग बढेपछि यसको खेतीका लागि भोजपुर, संखुवासभा, नुवाकोट, ओखलढुंगा, सिन्धुपाल्चोक, बाग्लुङ, ललितपुर, काठमाडौं, भक्तपुर, मकवानपुरलगायतका जिल्लामा बोधिचित्तमालाको बिरुवा काभ्रेपलाञ्चोकका विभिन्न नर्सरीबाट निर्यात भएको छ ।
जिल्लाको करिब २० वटा नर्सरीबाट झन्डै ३५ हजार बोधिचित्तमालाको बिरुवा उत्पादन भएको अनुमान छ । एकपटक बिरुवा रोपेपछि यसले उत्पादन दिन चार वर्ष समय लाग्छ । काभ्रेपलाञ्चोकको तिमाल क्षेत्रमा पाइने बोधिचित्तमालाको बीउ त्यहीबाट ल्याएर विभिन्न नर्सरीमा बोधिचित्तमालाको बिरुवा उत्पादन हँदै आएको छ ।
यसको बढ्दो व्यापारका कारण तिमाल क्षेत्रका किसानको आयआर्जनले उनीहरूको जीवनस्तर बढेको छ । तिमाल क्षेत्रमा वार्षिक ५० करोड रुपैयाँभन्दा बढीको बोधिचित्तमालाको कारोबार हुने गरेको व्यापारीले बताएका छन् । तिमाल क्षेत्रमा बोधिचित्तमालाको एउटै रुखबाट किसानले एक लाखदेखि ४५ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् । (सौस)

प्रतिक्रिया