गल्ती स्वीकार्न तयार छैनन् चीन–भारत

काठमाडौं, ९ साउन । नेपाली भूमि लिपुलेक सम्बन्धमा गरिएको सम्झौताबारे चीन–भारतले नेपालको पनि सहमति खोजिने बताए पनि उनीहरू गल्ती स्वीकार्न तयार छैनन् । छिमेकी दुवै देशले लिपुलेक सम्झौता त्रिपक्षीय छलफलबाट समाधान गर्न तयार रहेको कूटनीतिक जवाफ मात्रै फर्काउने गरेका छन् । नेपालको सार्वभौमसत्तामाथि नै प्रश्न उठ्ने गरी गरिएको सो सम्झौताविरुद्ध जनस्तरबाट चर्को विरोध हुँदै आएको छ । सरकारले औपचारिक रूपमा सम्झौता सच्याउन आग्रह गर्न नसक्दा पनि लिपुलेक विवादबारे दुई देशले बेवास्ता गरेको विज्ञहरू बताउँछन् ।

यस्तै, चीन–भारतबीच लिपुलेकबारे द्विपक्षीय सम्झौता गरेपछि दर्जनौँपटक मन्त्रिपरिषद्को बैठक बसे पनि यो विषय एजेन्डा बनेकोे छैन ।
सरकारले औपचारिक रूपमा दुई देशसँग सम्झौता सच्याउन आग्रह नगरे पनि जनस्तरको कडा विरोध र व्यक्तिगत भेटघाटमा भने दुई देशले विवाद समाधान गर्न आफू तयार रहेको प्रतिक्रिया दिने गरेका छन् ।
नेपाल भ्रमणमा रहेका चिनियाँ वाणिज्य उपमन्त्री छाङ स्याओछेनले चीन–भारतबीच भएको लिपुलेक सम्झौतासम्बन्धी विवाद त्रिपक्षीय रूपमा हल गर्न आफूहरू तयार रहेको बताए । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार अपराह्न प्रधानमन्त्री सुशील कोइरालासँगको भेटपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उपमन्त्री छाङले विवादित लिपुलेक सम्झौता चीन, भारत र नेपालबीचको त्रिपक्षीय छलफलबाट हल गर्न चीन तयार कूटनीतिक जवाफ दिए । उपमन्त्री छाङले नेपाली भूमिबारे सम्झौता गरिएकोमा त्रुटि भएको भनेर एक शब्दसमेत बोलेनन् ।
यसअघि, भारतीय संस्थापनको निमन्त्रणमा भारत भ्रमणमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई भारतीय पक्षले पनि यस्तै जवाफ दिएर फर्काएको थियो । पाँच दिने भ्रमणपछि ४ साउनमा स्वदेश फर्किएका प्रचण्डले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री मोदीले लिपुलेकको समस्या प्याकेजमा समाधान गर्न प्रस्ताव राखेको बताएका थिए । भेटवार्तामा प्रचण्डले पटकपटक लिपुलेकका विषयमा कुरा उठाएपछि प्रधानमन्त्री मोदीले कूटनीतिक जवाफ फर्काएका थिए ।
‘लिपुलेकका विषयमा पहिले पनि भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँग कुराकानी भएको थियो, प्रचण्डले त्रिभुवन विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा भनेका थिए, ‘उहाँले चाँडो यस विषयमा समाधान खोज्ने भन्नुभएको थियो । तर, प्रधानमन्त्री मोदीले त्यसरी भन्नुभएन, सीमाको विषय तथा लिपुलेकका समस्या एकैचोटि हल गर्नुपर्छ भन्नुभएको छ ।’ चीनजस्तै भारतीय पक्षले पनि नेपालभूमिबारे सम्झौता गर्नु गल्ती तथा बेठिक भएको भनेर उल्लेख नै गर्न चाहेको छैन । उसले पनि वार्ता छलफल गरेर समस्या गर्न तयार रहेको कूटनीतिक जनाउ मात्रै दिँदै आएको छ ।
नेपालको भूमिबारे चीन र भारत सम्झौता गर्ने अनि उनीहरू नै छलफलबाट विवाद हल गर्न तयार रहेको भन्ने तवरका दुई देशको प्रतिक्रियाप्रति सीमाविद्हरू भने आश्चर्यमा परेको प्रतिक्रिया दिन्छन् । ‘दुई देशले गल्ती स्वीकार गरेर चीन र भारतले हामी तत्काल विवाद मिलाउँछौँ भन्नुपर्ने हो,’ एक सीमाविद्ले भने, ‘तर उल्टै उनीहरूकै कुरा ठूला आएका छन्, यो त आश्चर्यलाग्दो छ ।’

प्रतिक्रिया