सहजकर्ता सम्मानित

जनकपुर । समाज विकास पथ जनकपुरले खुला दिसामुक्त घोषणा भएका गाविसहरूका सहजकर्तालाई एक समारोहबीच सम्मान गरेको छ ।
पिँडारी चोकस्थित पथको कार्यालयमा भएको समारोहमा बफैका सहजकर्ता सुरेशकुमार मण्डल, बसबिट्टीका सहजकर्ता मुन्नी दास तथा नक्टाझिजका सहजकर्ता सत्यदेव कापरलाई पथका अध्यक्ष हरेकृष्ण साह तथा युएन ह्याबिटाटका धनुषा जिल्ला संयोजक विनोदप्रसाद शर्माले दोसल्ला ओढाई तथा कदरपत्र प्रदान गरी सम्मान गरेका थिए ।
साहले खुल्ला दिसामुक्त गराउन सक्नु, संस्था र खुला दिसामुक्त अभियानकै ठूलो सफलता रहेको बताए । यस सफलतालाई कायम राख्न अझ धेरै मेहनतको आवश्यकता रहेकाले थप बल लगाउन निर्देशन दिए । उनले अरुसँग नभई आफैँसँग प्रतिस्पर्धा गर्न सुझाए ।
संयोजक शर्माले पथले जिम्मा पाएका १० वटै गाविसहरू खुला दिसामुक्त घोषणा गर्न सक्षम रहेको र त्यही लक्ष्यअनुरूप अगाडि बढ्न अभिप्रेरित गरे ।
खुला दिसामुक्त अभियानका संयोजक रोेशनकुमार झाले सहजकर्ताहरूकै भरमग्दुर प्रयासले तीन गाविस खुला दिसामुक्त भएको भन्दै अरुलाई पनि ती गाविसहरूबाट पाठ सिक्न सुझाएको छ । (सौस)

प्रतिक्रिया