‘प्रक्रिया मिच्दैनौँ’

kamal-thapa-photoकाठमाडौं, ६ असार । हिन्दूराज्यको माग गरिरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले संविधानसभाको प्रक्रियालाई नरोक्ने जनाएको छ । उसले प्रक्रिया नलत्याउने तर आफ्ना धारणालाई संविधानसभामा राखिने दाबी गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले जनमतको कदर गरी अघि बढ्ने बताए । ‘हामी प्रक्रियाबाहिर जान्नौँ, अब संविधानसभामा अवरोध पनि गर्दैनौँ ।’ उनले संसदीय प्रणालीबाट चुनिने कार्यकारी प्रमुखलाई राप्रपा नेपालको समर्थन नरहने पनि बताए । उनले थपे, ‘जनमत प्रत्यक्ष निर्वाचित कार्यकारीका पक्षमा आएको छ, यसका पक्षधर एमाले र एमाओवादी अडिग भएर उभिए हामी साथ दिन्छौँ ।’
एमालेले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीलाई कार्यकारी अधिकार दिनुपर्ने सुझाव संविधानसभामा दर्ता गराएको थियो भने एमाओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति कार्यकारी बनाउनुपर्ने सुझाव दिएको थियो । जनमत प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीका पक्षमा आएकाले त्यसमा समर्थन हुने राप्रपा नेपालले जनाएको छ ।
‘कांग्रेस यस विषयमा लचिलो हुनुपर्छ, जनताको सुझावलाई नाघेर हिँड्न मिल्दैन,’ थापाले बिहीबार रिपोर्टर्स क्लबमा भने, ‘प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको पक्षमा संविधानसभामा दुई तिहाई बहुमत पुग्छ, यसमा कांग्रेसले विचार गरोस् ।’ उनले ठूलो मत हिन्दू राष्ट्रको पक्षमा देखिएकाले सबै धर्मलाई बराबरी अवसर दिने गरी धार्मिक स्वतन्त्रतासहितको सनातन धर्मसापेक्ष हिन्दूराष्ट्र हुनुपर्ने भन्दै त्यसका लागि अन्तिम समयसम्म पनि लडिरहने घोषणा गरे ।
अध्यक्ष थापाले आफूहरू चाँडोभन्दा चाँडो संविधान बनोस् भन्ने पक्षमा रहेको स्पष्ट पार्दै विधि र प्रक्रियाबाट हुने निर्णयलाई स्विकार्ने बताए । उनले भने, ‘साउन महिनाभित्र संविधान जारी हुनुपर्छ । विधि र प्रक्रियाबाट हुने निर्णय मान्छौँ । प्रक्रियामा कुनै अवरोध गर्दैनौँ तर आफ्नो एजेन्डा स्थापित गर्न अन्तिम समयसम्म संघर्ष गरिरहन्छौँ ।’ प्रचण्डको भारत भ्रमणप्रति लक्षित गर्दै उनले भने, ‘संविधान नलेख्ने षड्यन्त्र सुरु भइसकेको छ । नयाँ दिल्लीमा केके झारफुक भएको छ । त्यसले असर गर्ला ।’ थापाले अहिले संविधान निर्माणको चटारो भएकाले राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको एकताको विषय केही ओझेलमा परेको जस्तो देखिए पनि सम्भवतः संविधान निर्माण भएपछि पार्टी एकता हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया