केराखेती गर्ने किसान बढे

चितवन, ७ साउन । चितवनमा सञ्चालित एक गाउँ एक उत्पादन कर्याक्रम सफल भएको छ । उद्योग वाणिज्य संघको अगुवाइमा २०६८ सालदेखि सुरु भएको उक्त कार्यक्रम प्रभावकारी भएको जनाइएको छ । सो कार्यक्रम केराखेतीमा प्रयोग गरिएको थियो । जसअनुसार पाँच वर्षको अन्तरालमा जिल्लामा केराखेती गर्ने किसान दोब्बरले बढेका छन् भने खेती गर्ने क्षेत्रफल पनि दोब्बर बढेको पाइएको छ ।

उत्पादन भने तेब्बर बढी वृद्धि भएको संघले दिएको तथ्यांकमा उल्लेख छ । संघका कर्यकारी निर्देशक रसिक प्रधानले २०६८ सालमा जिल्लामा केराखेती गर्ने किसान ३ सय रहेकामा अहिले बढेर ६ सय २० पुगेका छन् । यस्तै, केराखेती हुने क्षेत्रफल ८ सय ५४ बिघाबाट बढेर एक हजार ९ सय ७ बिघा पुगेको छ । यो एक गाउँ एक उत्पादन कार्यक्रमको देन भएको उनको दाबी छ ।
जिल्लामा संघको नेतृत्वमा जिल्ला कृषि विकास कार्यालय, सहकारी डिभिजन कार्यालय, जिविस, केरा उत्पादक संघ मिलेर उक्त कार्यक्रम २०६८ सालदेखि सुरु भएको थियो । केरामा केन्द्रित उक्त कार्यक्रमले एक हजार ६ सय ७३ मेट्रिक टन उत्पादनबाट अहिले बढेर तीन हजार ७ सय ३७ मेट्रिक टन पुगेको प्रधानले बताए । गएको वर्षबाट भने केराखेती गर्ने किसान धेरै बढेका छन् । गएको वर्ष एक हजार ४ सय बिघामा केराखेती गरिएकामा यो वर्ष भने एक हजार ९ सय ७ पुग्नु महत्वपूर्ण उपलब्धि भएको कार्यक्रम संयोजक कल्याण जोशीले बताए ।
रत्ननगर नगरपालिकासँगै जुटपानी, पदमपुर, चैनपुर जगतपुर र ठिमुरामा व्यावसायिक केराखेती हुन्छ । वार्षिक ४५ करोड रुपैयाँ माथिको केराको कारोबार हुने गरेको केरा उत्पादक संघका निवर्तमान अध्यक्ष यज्ञ सुवेदीले बताए ।
सबैभन्दा बढी रत्ननगर नगरपालिकामा २ सय ८२ किसान व्यावसायिक केराखेतीमा संलग्न छन् । त्यसपछि पदमपुरमा २ सय १२ किसन केराखेतीमा संलग्न छन् । एक उत्पादन एक कार्यक्रमअन्तर्गत भरतपुरको ठिमुरा र चैनपुर क्षेत्रमा २ सय बिघामा विस्तार गरिएको उद्योग वाणिज्य संघले जनाएको छ । विभिन्न तालिम तथा सम्भाव्यता अध्ययन र यन्त्रीकरणमा समेत किसानलाई जागरुक पार्दै आएको संघले जनाएको छ । गएको एक वर्षमा एक गाउँ एक उत्पादन कार्यक्रममध्ये १५ वटा कार्यक्रम सञ्चालन गरिएकामा १२ वटा सफल भएको छ । ११ लाख बढीको लागतमा कार्यक्रम सञ्चालन भएको थियो । मुख्य गरी बर्सेनि आउने हावाहुरी जस्तो प्राकृतिक विपत्ति र भारतीय केराका कारण मारमा पर्दै आएको केरा किसानले बताएका छन् ।

प्रतिक्रिया